+
+
Shares

गेटेको साहित्यमा कालिदासको हावा

जसले १८ औं शताब्दीमै अभिज्ञान शाकुन्तलमलाई जर्मन भाषामा अनुवाद गरे

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७६ पुष ५ गते ११:३९

५ पुस, काठमाडौं । महाकवि कालिदासले आफ्ना कालजयी कृतिहरु मार्फत् संस्कृत साहित्यमा दिएको योगदानले केवल पूर्वीय साहित्य परम्परालाई मात्रै समृद्ध गराएन, पश्चिमलाई पनि योगदान दियो । अभिज्ञान शाकुन्तलम् उनका कृतिहरु मध्येको पनि सर्वाेत्कृष्ठ कृति हो ।

यस कृतिभित्र विश्वले स्वर्ग र मत्र्यको आभास गर्न पाए । नीति कथाको ज्ञान पाए । ध्वन्यात्मक संकेतको आभास गर्न सके । काव्यात्मक सौन्दर्यको प्रचुरता भेटे । यसैलाई आश्वादन गरेर नै विश्वमा धेरै भाषाले आफ्नो समृद्धि पाएका छन् । कलात्मकता पाएका छन् ।

जतिबेला जर्मन साहित्यमा प्रवेश गरेका एक दार्शनिकले आफ्नो साहित्यमा पूर्ण ध्वन्यात्मकताको अभाव देखे, काव्यात्मक सौन्दर्यताको प्रचुरता पाएनन्, स्वर्ग र मत्र्य लोक एकैठाउँमा समावेश गर्नसक्ने क्षमताको अभाव खडि्कँदै गयो । ज्ञानको अभाव चुलिँदै गयो । एउटा ज्ञान-पिपाषु त्यही ज्ञानको खोजीमा भौतारिँदै १८ औं शताव्दीमा यही संस्कृत साहित्यको उद्गम भूमितिर आइपुग्यो ।

वसन्तको सौरभ र शिशिरको मधुर रसको मिश्रणबाट मिठास भरेका जर्मन साहित्यका चर्चित लेखक, विचारक र दार्शनिक हुन् योहान वुल्फगांग फान गेटे । जर्मनीका चर्चित साहित्यकार एवं वैज्ञानिक समेत रहेका उनको संस्कृत साहित्यका महाकवि कालिदाससँग एउटा छुट्टै किसिमको साइनो भेट्न सकिन्छ ।

गेटे आर्थिक रुपमा समृद्ध थिए । दरबारिया पण्डित भए पनि कालिदास आर्थिक रुपमा कमजोर थिए । गेटे साहित्यिक भोकले विश्वमा भौंतारिँदै हिँडेका थिए भने कालिदास त्यही भोकमा हिँडेका बुबुक्षुकको भोक शान्त पार्ने क्षमता बोकेर बसेका थिए ।

विश्वका स्तरीय साहित्यको खोजी गर्दै हिँडेका गेटे जब कालिदासको अभिज्ञान शाकुन्तलममा पुगेर टक्क अडिए । एउटै साहित्यमा भेटिएको कलात्मक सुन्दरता र व्यापकताले उनलाई तृप्त गरायो । उनलाई ज्ञानको भोक मेट्नका लागि अरु वैदिक साहित्यसम्म उक्लनु परेन । त्यही साहित्य बोकेर उनी लागे जर्मन साहित्य तिर । कालिदासको यही कृतिबाट मन्त्रमुग्ध भएका गेटेले भनेका थिए : ‘यदि तपाईं यौवनको फूल, प्रौढ अवस्थाको फल र अन्य यस्तै सामग्रीहरु एकै स्थानमा पाउन चाहनुहुन्छ भने, त्यही विषयबाट आत्मालाई प्रभावित गराउने, तृप्त गराउने र शान्ति पाउन चाहनुहुन्छ भने अर्थात् तपाईं स्वर्ग र मर्त्य लोकलाई एकै स्थानमा देख्न चाहनुहुन्छ भने त्यसको लागि मेरो मुखबाट एउटै शब्द निस्कन्छ त्यो हो, अभिज्ञान शाकुन्तलम् ।’

अभिज्ञान शाकुन्तलमबाट सिकेर नै उनले आफ्नो ‘फाउस्ट’ नामक दुखान्त नाटकको रचना गरे । पाश्चात्य साहित्य र त्यसमा पनि जर्मन साहित्य एउटा अन्धो युगमा यात्रा गरिरहेको बेलामा गेटेले नै ‘विमर क्लासिसिजन’को आन्दोलन छेडे

कालिदासबाट गेटेले सिकेको साहित्यिक शैली

भर्खरै मुना पलाउँदै गएको जर्मन साहित्यमा अभिज्ञान शाकुन्तलमले एउटा नयाँ अध्यायको सुरुवात गर्‍यो । पहिले जर्मन साहित्य धेरै अभावकाबीच परम्परागतरुपमा चल्दै आएको थियो । सन् १७९१ मा अभिज्ञान शाकुन्तलमको अनुवादसँगै जर्मनीका धेरै साहित्यकारहरुले यसको ध्वन्यात्मक संकेत र काव्यात्मक सौन्दर्यलाई आफ्नो साहित्यिक कृतिमा समेट्न थाले । नैतिक, बौद्धिक र आद्यात्मिक चेतनाको प्रचुरतालाई गेटेले आफ्नो साहित्यमा जोड्नको लागि त्यसैबाट सिके । विज्ञानको दुनियाँदेखि अध्यात्मको साधनासम्म, दर्शनको ज्ञानदेखि साहित्यको उडानसम्म सबैतिर गेटेमा केही न केही कालिदासको छाया पाउन सकिन्छ ।

गेटेको साहित्यले मनुष्यको बहिर्मुखी स्वभावलाई उठान गर्ने गरेको छ । उनको साहित्यमा ‘मानिसको अन्तर्मुखी भाव हानिकारक हुन्छ । त्यसैले मानिसहरु बहिर्मुखी हुनुपर्छ ।’ भन्ने भावना पाइन्छ । व्यक्तिगत अनुभवसँगै उनको लय कविता व्यक्तिगत प्रेमबाट सुरु हुन्छ । तर, लामो समयदेखि मानिस र प्रकृतिबीचको प्रगाढ सम्बन्ध नै उनको मुख्य विषय हो । प्रकृति जुन ब्रह्माण्ड हो र जसको साथमा मानव आत्माको एक अटूट सम्बन्ध हुन्छ भन्ने उनको विचार छ ।

उनको आफ्नो साहित्यिक कृतिमध्ये ‘ब्रदर’ नामक उपन्यासले ‘रोमान्टिक’ भाव समेटेको छ । यसैमा युरोपको आत्माको प्रभावशाली चित्र देख्न सकिन्छ । यसमा एक जवान मान्छेको तस्वीर देखिन्छ । जो जीवनसँग डराएका छन् । ती मानिसको लागि कुनै रस वा सार बाहृय संसारमा छैन । उसको मुटु विचित्र डिप्रेसनले भरिएको छ । अन्तमा, उसको एक्लोपना यति कठोर हुँदै जान्छ कि उसको जीवन आत्महत्यासँगै अन्त्य हुन्छ ।

त्यस्तै, अभिज्ञान शाकुन्तलमबाट सिकेर नै उनले आफ्नो ‘फाउस्ट’ नामक दुखान्त नाटकको रचना गरे । पाश्चात्य साहित्य र त्यसमा पनि जर्मन साहित्य एउटा अन्धो युगमा यात्रा गरिरहेको बेलामा गेटेले नै ‘विमर क्लासिसिजन’को आन्दोलन छेडे । आफ्नो जीवनको अन्तिम समयमा उनले औद्योगिक क्रान्तिको बृहत् परिवर्तनहरूको अनुभव गरे । उनको साहित्यमा त्यसको छाया पनि पाउने गरिन्छ । उनका अधिकांश रचनाहरु आफ्नो अनुभवमा आधारित भएर मनाउने गर्छन् । उनले आफ्नो जीवनको अन्तिम कालमा नयाँ आर्थिक प्रणालीको उदय पनि देखे । जुन समाजको पुरानो संरचना भंग गरेर बिस्तारै स्पष्ट हुँदै गइरहेको थियो । पुरानो संरचनालाई हटाउन चाहने उनको आफ्नो साहित्यिक आन्दोलनले भने साहित्यमा संवेदनशीलता र रोमाञ्चकताको विजारोपण गराइदियो ।

गेटेको एउटा मूल विशेषता छ । उनी पुराना मान्यता र साहित्यिक सिद्धान्तहरुको विरोध गर्दै कलाकारको स्वतन्त्रता र राष्टि्रय साहित्यको पुरानो गौरवलाई पुनरुद्धारतर्फ जोड दिन्छन् । उनी पुरानो जर्मन मान्यताको विरोध गर्थे । तर, झण्डै एक हजार वर्ष पुरानो कालिदासको साहित्यिक मान्यताको उनले सहर्ष ग्रहण गरेको पाइन्छ ।

‘फाउस्ट’मा भेटिएको मार्क्र्सवादी चिन्तन

गेटेको विश्वचर्चित नाटक ‘फाउस्ट’ मा पोखिएको प्रतिभा उत्कृष्टताको प्रतीक हो र विश्वव्यापिताको अमूल्य रत्न हो भन्नेमा कुनै दि्वविधा नहोला । फाउस्टको निर्माणको इतिहास विकासको इतिहास हो र नाटकको नायकको जीवन कहानी मानव आत्माको विकासको कहानी हो भन्नेमा कुनै शंका छैन । । ‘फाउस्ट’ मध्ययुगीन लोक कथाको आधारमा तयार पारिएको नाटक हो । जसलाई गेटे मानवताको प्रतीक मान्छन् । फाउस्ट नाटकमा विकास र मार्क्सवादको आधारभूत सिद्धान्तहरू प्रचुर मात्रामा पाउन सकिन्छ । यसमा उल्लेखित विवरणहरु एकदमै विस्तृत छन् । यो नै उनको विशेषता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?