Comments Add Comment

कांग्रेसमा बहुमतको निर्णय : २०७७ फागुन ७ मा महाधिवेशन

११ पुस, काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडल समूहको बहिस्कारका बीच बसेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनको मिति तोकेको छ ।

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले बहुमतका आधारमा आफ्नो म्याद एक वर्ष थप गर्ने  निर्णय गरेको छ । बैठकले १४ औं महाधिवेशन २०७७ फागुन ७, ८ ९ र १० गते गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसको वर्तमान कार्यसमितिको म्याद यही फागुन १९ मा सकिँदैछ । तर कार्यसमितिको म्याद सकिनेवित्तिकै महाधिवेशन गर्न नसक्ने ठहर गर्दै बैठकले विधानको धारा ४३ बमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको पदावधि २० फागुनदेखि लागू हुने गरी एक वर्षका लागि थप गर्ने निर्णय गरेको छ ।

बैठकले १४ औं महाधिवेशनको कार्यतालिका पनि बनाएको छ । त्यसअनुसार अन्तरिम संरचनाको काम पुस मसान्तभित्र सम्पन्न गर्न निर्वाचन समितिलाई भनेको छ भने माघबाट क्रियाशील सदस्यता वितरण तथा नवीकरण हुनेछ । यो वैशाखमा सकिनेछ ।

कार्यतालिकाअनुसार नयाँ क्रियाशील सदस्यता र क्रियाशील नवीकरणको नामावलीको अन्तिम सूची तयार गरिसक्नुपर्ने अवधि ०७७ आश्विन मसान्तसम्म तोकिएको छ । त्यसपछि अधिवेशनहरु सुरु हुनेछ ।

सबैभन्दा तल्लो कमिटी वडा तहको अधिवेशन ९ मंसिर २०७७ मा हुनेछ ।

  • वडा अधिवेशन- २०७७ मंसिर ९ गते
  • गाउँ/नगरपालिका अधिवेशन- २०७७ मंसिर ११ गते
  • प्रदेशसभा क्षेत्रीय अधिवेशन – २०७७ मंसिर १५ गते
  • प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन – २०७७ मंसिर १७ गते
  • जिल्ला अधिवेशन – २०७७ मंसिर २५ गते
  • प्रदेश अधिवेशन- २०७७ पौष १५ गते
  • केन्द्रीय महाधिवेशन २०७७ फागुन ७, ८, ९ र १० गते काठमाडौं ।

तरुण दलको म्याद थपियो, ४७ विभाग बनाइने

पार्टी सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यहरु मात्र उपस्थिति बैठकले केन्द्रीय विभाग बढाएर ४७ पुर्‍याउने प्रस्ताव पास गरेको छ ।

विधानमा यस्तो विभागहरु २८ वटा मात्र रहने व्यवस्था छ । तर चार वर्ष लामो कार्यकालमा नीति तथा प्रतिष्ठानबाहेक कुनै पनि विभाग गठन भएन । बैठकले भ्रातृ संगठन तरुण दलको म्याद पनि ६ महिना थप गर्ने निर्णय भएको छ ।

द्वन्द्व बढ्ने संकेत

२६ मंसिरबाट सुरु भएको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता पौडेल र कृष्णप्रसाद सिटौला पक्ष सहभागी भएनन् । त्यसबेला १४ औं महाधिवेशनको कार्यतालिकालाई एजेण्डा बनाउनुपर्ने माग गर्दै बैठक बहिस्कार गरेका थिए ।

त्यसपछि भएका वार्ताहरुमा भ्रातृ संगठन र विभागहरुबारे पनि छलफल भयो । वार्ता समिति स्तरमा भएका छलफल सहमतिमा नपुगेको भन्दै पौडेल समूह बैठकमा सहभागी भएन ।

शुक्रबार पनि पौडेल समूहको बैठकले प्याकेजमा सहमति भए मात्र बैठकमा सहभागी हुने निर्णय गरेको थियो ।  तर चाक्सीबारीमा पौडेल समूहको बैठकले निर्णय गरेलगत्तै  सानेपामा केन्द्रीय समितिको बैठक बस्यो र निर्णय लिएको छ । ‘वरिष्ठ नेताले राख्नुभएको प्रस्तावलाई समेत समाहित गरेर गरेको निर्णय बमोजिम पार्टी एक ढिक्का भएर अगाडि बढ्ने विश्वास छ’ बैठकपछि प्रवक्ता शर्माले भनेका छन् ।

पौडेल समूहका नेताहरुले भने शुक्रबारको निर्णयसँगै पार्टीमा द्वन्द्व बढ्ने विश्लेषण गरेका छन् ।  महाधिवेशनको कार्यतालिका र तरुण दलबारे भएको निर्णयमा एकलौटी गरेको आरोप लगाएको संस्थापन इतर समूहले विभाग थप्ने निर्णय विधान विपरीत भएको बताएको छ । पौडेल समूहका एक नेता भन्छन्, ‘अब कसरी अगाडि बढ्ने भन्ने भोलि साथीहरुसँग बसेपछि थप भन्न सकिएला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment