Comments Add Comment

सरकारको असावधानीले भ्रमण वर्षको उद्घाटनमा पर्यटन बोर्ड नेतृत्वविहीन

१२ पुस, काठमाडौं । नेपाल भ्रमण वर्ष शुरु हुन एक साता मात्र बाँकी रहँदा भ्रमण वर्ष मूल आयोजक समितिको सदस्य सचिव पद नै खाली भएको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले गत सोमबारबाट आफ्नो चार वर्षे कार्यकाल पूरा गरी अवकास पाएका छन् । नयाँ सीईओ छनोटका लागि कम्तिमा एक महिना समय लाग्छ ।

त्यसकारण भ्रमण वर्ष उदघाटनको मुख्य र महत्वपूर्ण समयमा बोर्ड नेतृत्वविहीन हुन पुगेको छ ।

यसमा सरकारी असावधानी प्रष्ट देखिन्छ । बोर्डको विनियम अनुसार एकजना सीईओले दुई कार्यकालभन्दा बढी जिम्मेवारी पाउँदैन । प्रमुख कार्यकारी अधिकृतको पदावधि चार वर्षको हुने र उसलाई पुनः चार वर्षका लागि नियुक्त गर्न सकिने नेपाल पर्यटन बोर्ड ऐन २०५३ मा उल्लेख छ । कार्यकारी प्रमुख नियुक्तिका लागि उपयुक्त उमेदवारको सिफारिस गर्न सञ्चालक समितिले सिफारिस समिति बनाउन सक्छ । तर, भ्रमण वर्षको मुखमै आइपुग्दा समेत सञ्चालक समिति मौन बस्यो । ढिला गरी समिति गठन गरिएको थियो ।

स्रोतका अनुसार बोर्डमा सरकारबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरुले सकभर पूर्वप्रशासकबाट सीईओ बनाउन चाहिरहेका छन् । निजी क्षेत्रका प्रतिनिधिले भने दोस्रो कार्यकालका लागि जोशीलाई नै दोहोर्‍याउने प्रस्ताव गरेका थिए ।

पुरानो सीईओको बिदाई र नयाँ सीईओको स्वागत एकै दिन गर्न सकिने सम्भावना थियो, तर सञ्चालक समितिले यसमा ध्यान दिएन

बोर्डले निवर्तमान सीईओ जोशीको पदावधी ४ महिना थपिदिने प्रस्ताव गरेको थियो । तर जोशीले त्यो स्वीकार गरेनन् । स्वीकारेको भए उक्त ४ महिने अवधि जोशीको दोस्रो कार्यकालका रुपमा गणना हुने थियो । जोशीले दोस्रो कार्यकालका लागि खुला प्रतिस्पर्धाबाटै आउने गरी आवेदन दिएका छन् । बोर्डको सीईओमा उनीसहित १७ जनाको आवेदन परेको छ ।

यसकारण अभाव खड्किनेछ सीईओको

नेपाल भ्रमण वर्ष २०२० को अवधारणा निवर्तमान सीईओ जोशीकै थियो । उनले आफ्नो अघिल्लो कार्यकालमा सीईओ दावी गर्दा पेश गरेको प्रस्तावमा सन् २०१८ मा भ्रमण वर्ष मनाउने उल्लेख थियो ।

सन् २०१८ मा तयारी पूरा नभएको भन्दै सरकारले सन् २०२० लाई यो अभियान सार्‍यो । भ्रमण वर्षको शुरुवाती तयारीकै चरणबाट सक्रिय थिए जोशी । कार्यविधिअनुसार उनी मूल आयोजक समितिको सदस्य सचिव पनि थिए । त्यसकारण भ्रमण वर्षमा उनको अभाव खट्किने देखिन्छ ।

सञ्चालक समितिले चाहेको भए सीईओ छनोट प्रक्रिया जोशीको कार्यकाल ६ महिना बाँकी रहँदैबाट थाल्न सक्थ्यो । पुरानो सीईओको बिदाई र नयाँ सीईओको स्वागत एकै दिन गर्न सकिने सम्भावना थियो, तर सञ्चालक समितिले यसमा ध्यान दिएन ।

सीईओ छनोट समितिका संयोजक तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय भने सीईओ छनोटको काम अगाडि बढेका कारण भ्रमण वर्षको उदघाटन र त्यसपछिका गतिविधिमा असर नपुग्ने बताउँछन् ।

अवकास पाए पनि निवर्तमान सीईओ जोशीलाई पर्यटन मन्त्री योगेश भट्टराइले जिम्मेवारी नै दिएर खटाएका छन् । उनले अन्तर्राष्ट्रिय पाहुनाहरुको व्यवस्थापनको जिम्मा पाएका छन् । यसबाहेक तयारीका क्रममा भएका अनुभव साटासाट गर्ने, समन्वय र सहजीकरणमा पनि उनी सक्रिय छन् । स्वयंसेवकका रुपमा उनले काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment