Comments Add Comment

अकुपाई टुँडिखेल अभियानमा प्रहरीको अवरोध

१२ पुस, काठमाडौं । सार्वजनिक सम्पत्तिको रुपमा रहेको टुँडिखेललाई जोगाउन भन्दै शुरु भएको अकुपाई टुँडिखेल अभियानमा प्रहरी अवरोध गरेको छ । अभियान अन्तर्गत शनिबार खुलामञ्च सिंगार्ने कार्यक्रम थियो । प्रहरीले रंगरोगन नगर्न निर्देशन दिएको अभियन्ताहरुले बताएका छन् ।

माथिको आदेश भन्दै प्रहरीले रंगरोगन तथा कुनै पनि कार्यक्रम गर्न नदिने र गरेमा बल प्रयोग गर्ने चेतावनी दिएको अभियन्ता सुशन वैद्यले जानकारी दिए ।

अहिले कार्यक्रम गर्ने/नगर्ने भन्ने विषयमा अभियन्ता र प्रहरीबीच बिवाद भइरहेको छ । मेयर विद्यासुन्दर शाक्यको निर्देशनमा शान्तिपूर्ण कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको वैद्यको भनाइ छ ।

टुँडिखेलमा भएको अतिक्रमण रोक्न गत कात्तिकदेखि सुरु गरिएको अभियानअन्तर्गत शनिबार टुँडिखेलभित्र रंगिचंगी आकृतिहरु बनाइ रचनात्मक ढंगले विरोध गर्ने कार्यक्रम थियो ।

सोसाइटी अफ नेपलिज, आर्किटेक्ससँगको सहकार्यमा कलाकार धन यख्याले खुलापन र वातावरणीय सन्तुलन झल्कने गरी आकृतिहरु कोर्ने कार्यक्रमहरु थियो । तर प्रहरीको अवरोधका कारण अभियान्ताहरुले उक्त काम गर्न पाएका छैनन् ।

टुँडिखेल कुनै समय एसियाकै ठूलो मैदान मानिन्थ्यो । यो प्राकृतिक रुपमा भूमिगत जल भण्डार पुनर्भरणको स्रोतसमेत थियो । सांस्कृतिक, प्राकतिक, सामाजिक प्रत्याभूति गराउने टुँडिखेल हाल पार्किङ, अनाधिकृत बसपार्क, पसलहरु सञ्चालन गरेर मासिएको भन्दै सम्पदाप्रेमीहरुले टुँडिखेल बचाउ अभियान चलाएका हुन् ।

यसअघि कात्तिक २३ गते पहिलो चरणको विरोध स्वरुप मानव साङ्लो बनाइ अकुपाई टुँडिखेल अभियान सुरु गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment