Comments Add Comment

‘टुर दी पोखरा’ : इन्धन बचाउन आह्वान गर्दै साइकल र्‍याली

सदभावना दूत गर्बुजा र थापा सम्मानित

१२ पुस, पोखरा । साइकल सिटी पोखराले शनिबार पाँचौं ‘टुर दी पोखरा’ साइकल र्‍याली गरेको छ । ‘थोपा थोपा इन्धन बचाऔं’ मूल नारासहित साइकल सिटीले करिब एक हजार साइकल यात्रीको सहभागितामा र्‍याली गरेको हो ।

वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उदघाटन गरेको र्‍याली पोखरा रंगशालाबाट सुरु भएको थियो । आचार्यले पछिल्लो समय वातावरण र स्वास्थ्य बिग्रदै गएकाले त्यसलाई सपार्न पनि साइकल उत्तम हुने विचार राखे । ‘यो कुरा पहिले नै थाहा भएको भए न हाम्रो स्वास्थ्य बिग्रन्थ्यो न वातावरण,’ उनले भने, ‘अहिले हाम्रो देशबाट विदेशमा जाने सबैभन्दा ठूलो अर्थतन्त्र नै स्वास्थ्य र इन्धन भएको छ ।’

अर्का कलाकार मदनकृष्ण श्रेष्ठले कुनै समय साइकल गरिबीको चिनारी भए पनि हाल त्यसप्रतिको दृष्टिकोण बदलिँदै गएको बताए । उनले साइकलले इन्धन खर्च नगर्ने भएकाले यसको महत्व बढ्दै गएको सुनाए । ‘साइकलले अहिलेको वातावरण र स्वास्थ्यमा अहम् भूमिका खेल्दै गएको छ,’ उनले भने, ‘साइकल चढ्न बढी खर्च पनि गर्नु पर्दैन । यो खोले, आटोले पनि चल्छ ।’

इन्धन बचाउनुपर्ने र त्यसका लागि साइकल नै उत्तम उपाय भएको नारा दिने उद्देश्यले र्‍याली गरिएको आयोजक साइकल सिटीका अध्यक्ष राजन गोंगजुले बताए । ‘टुर दी पोखरालाई पोखराको ब्रान्ड बनाउन लागि परेका छौं । यसबाहेक सहरलाई साइकल सिटीका रुपमा अघि लैजान पनि हाम्रो प्रयास हो,’ उनले भने ।

र्‍यालीमा बालबालिकादेखि प्रौढहरुको पनि उपस्थिति थियो । र्‍यालीमा कास्कीसहित काठमाडौं, बागलुङ, स्याङजा, पर्वतलगायत जिल्लाका साइकलयात्रीहरु पनि सहभागी छन् । साइकल सिटी पोखराले शनिबार साँझ काहुँ होमस्टेमा ‘साइकल र सहर’ विषयमा बहस कार्यक्रम राखेको छ ।

‘टुर दी पोखरा’का लागि सदभावना दूत घोषित साइकल यात्रीद्वय विशाल गर्बुजा र जमुना थापालाई साइकल सिटी पोखराले सम्मान गरेको छ । शारीरिक अपांगताका बाबजुद् साइकल यात्री भएर प्रेरणादायी भूमिका खेलेको भन्दै गर्बुजालाई सम्मान गरिएको हो ।

हालै सकिएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइकल प्रतियोगितामा रजत पदक जित्न सफल जमुना थापालाई पनि सम्मान गरिएको छ । सानै उमेरमा साइकल दौड प्रतियोगिता, ट्रायथोलन लगायतका खेलमा राम्रो प्रदर्शन गरेको भन्दै उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment