Comments Add Comment

मध्यरातमा डीआईजीलाई चक्कु ताकेपछि …

१२ पुस, काठमाडौं । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलको टोली शुक्रबार राति ९ बजे सडक अनुगमनमा निस्किएको थियो । टोलीमा काठमाडौं महानगरपालिका, मानवसेवा आश्रम र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

काठमाडौँको कमलादीस्थित गणेशमन्दिर नजिक सडकछेउमा बन्दोबस्तीको ओढ्ने ओछ्याउनेसहित एक दम्पत्ति सुत्ने तरखरमा भेटिए । चिसोका कारण खोकी लागेकाले श्रीमती औषधि खाँदै त श्रीमान् मदिरामा लठ्ठ भेटिए ।

प्रहरी र अभियानकर्मीले उनीहरुलाई फकाउँदै सडकमा नबस्न अनुरोध गरे । महिला आश्रममा जान मानिनन् । उनले मोबाइल उठाउँदै कुनै एक व्यक्तिलाई फोन गरेजस्तो गरेर आफूलाई लैजान लागेको कुरा सुनाइन् ।

प्रहरीले जसरी पनि लैजाने बताए । महिलाले ‘भोलि आफ्नै घर जाने भन्दै आज छाडी दिनु भन्यो ,। उनले यसरी अनुरोध गरेको यो तेस्रो पटक थियो । सहज रुपमा उठ्न नमानेपछि प्रहरी र अभियानकर्मीले उठाउने प्रयास गर्दागर्दै उनले सिरानबाट चक्कु निकालिन् । ‘म पनि इन्सपेक्टरको छोरी हुँ, ल आइज त मेरो नजिक, सबैलाई सिध्याउँछु, पुलिसलाई नि हान्छु”, उनी चक्कु ताक्दै घुम्न थालिन् ।

डीआईजी पोखरेल पनि छक्क परे ।

गाडीमा बसिसकेका श्रीमानलई फिर्ता ल्याउने शर्त राखेमा उनले चक्कु थन्याइन् । अभियानकर्मीले चक्कु खोसेपछि बल्ल उनी आश्रम जान तयार भइन् ।

घर धादिङको नौबिसे बताउने दम्पति मन्दिरमा मागेर बस्ने गरेको निक्कै लामो समय भइसक्यो । स्थानीयकाअनुसार उनीहरूले दिउँसोमा अश्लिल शब्द प्रयोग गरेर गाली समेत गर्थे ।

टेकुस्थित एक घरको सिँढीमा सुतिरहेका एक जमातलाई पनि राति नै उद्धार गरिएको प्रहरिले जनाएको छ । त्यहाँ महिला पुरुष एउटै गुँड बनाएर सुतिरहेका भेटिए ।

सडकमा कुटपिट गर्न खोज्ने, टोली देखेपछि भाग्नेहरु धेरै छन् । काठमाडौँको सडकमा असहाय र बेसहाराहरु न्यून रहेपनि यस्ता व्यक्तिहरु अत्यधिक रहेको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी बताए । अधिकांश पेशेवर मगन्ते, मदिरा खाएर पल्टिने र दिनभर मजदूरी गरेर राति सडकमा बस्नेहरु छन् ।

शुक्रबार राति मात्र काठमाडौँका सडकबाट ३८ जनाको उद्वार भयो । सबै मदिरा खाएका र पेशेबर मगन्ते मात्रै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment