Comments Add Comment

काठमाडौंमा विजुलीको माग अहिलेसम्मकै धेरै

अवस्था बुझ्न कुलमान फिल्डमा

१२ पुस, काठमाडौं । केही दिनयता झ्याप-झ्याप बिजुली जाने समस्याले उपभोक्ता दिक्क बनेका छन् । तीन हप्ताअघि हप्ता हल्का वर्षा भएलगत्तै उपत्यकाभित्र र बाहिर धेरै स्थानमा बेलानकुबेला बिजुली जाने क्रम बढ्दो छ ।

धेरैतिरबाट गुनासो आउन थालेपछि नेपाल विद्युत प्राधिकरणले अध्ययन थालेको छ । त्यसक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ शनिबार सबस्टेसनहरुको निरीक्षण गरेका छन् । उनी प्राविधिक टोली लिएर बानेश्वर, लगनखेल, स्युचाटार, चाबहिल, सिंहदरबार, भक्तपुर, मूलपानी, सानोठिमी, बालाजु, बनेपा, सानोठिमी लगायतका सबस्टेसनमा पुगेका थिए ।

विद्युत प्राधिकरणकाअनुसार अहिले काठमाडौंमा विजुलीको माग पनि ४० प्रतिशतले बढेको पाइएको छ । काठमाडौंमा विजुलीको माग अहिले ४ सय मेगावाट नाघेको छ । यतिको माग उपत्यकामा तिहारको लक्ष्मीपूजाका दिनमा समेत थिएन ।

तर मागअनुसार विजुली नभएर वत्ति आउने जाने भएको भने होइन भन्छन् प्राधिकरणका कार्यकारी घिसिङ । ‘यो सम्भवतः काठमाडौंको इतिहासमै सबैभन्दा बढी माग हो तर हामीसँग विजुली कुनै अभाव छैन,’ घिसिङ भन्छन्, ‘वितरणको पूर्वाधारले लोड धान्न नसक्दा लाइन ट्रिप भएको हो । यो समस्या समाधान गर्न फिडर र ट्रान्सर्फमर थप्ने तथा फेर्ने काम गरिरहेका छौं । यो काम गर्दा पनि लाइन काटिने समस्या हटाइहाल्न गाह्रो छ ।’

विद्युत प्राधिकरणकाअनुसार शुक्रबार बानेश्वरको ३० एमभीए क्षमताको ट्रान्सर्फमर जलेको थियो भने स्युचाटारमा त्यति नै क्षमताको ट्रान्सर्फमर थप्नुपर्दा केही समय लाइन काट्नु परेको थियो । कतिपय स्थानमा सडक विस्तारको काम पनि चलिहरेकाले पोल सार्न पनि लाइन काट्नु परेको घिसिङले बताए ।

यतिले मात्र वत्ति आउने जाने भएको भने होइन । प्राधिकरणका सबै स्टेशनहरुमा पनि फिडरहरु थप्नुपर्ने देखिएको छ । ‘एउटै फिडरबाट ठूलो क्षमतामा लाइन दिँदा विजुली काटिने समस्या हुन्छ, कतैकतै त्यस्तै देखियो’ कार्यकारी निर्देशक घिसिङले भने, ‘सिंहदरबारमा तत्कालै ३ वटा फिडर थप्नुपर्ने देखिन्छ । अन्य सबस्टेसनहरुमा पनि के-के सुधारका काम गर्नुपर्छ भनेर हेर्दैछौं ।’

उनकाअनुसार मातातीर्थबाट भक्तपुरसम्म जाने प्रसारणलाइन बनाउन ‘एलाइग्नमेन्ट’ नटुंगिँदा पनि काठमाडौंको वितरण प्रणालीमा समस्या देखिएको छ । त्यसैले अब नयाँ सबस्टेसन बनाउन प्रस्ताव गर्न लागिएको घिसिङले बताए ।

विद्युत प्राधिकरणले अहिलेको समस्या पूर्णरुपमा प्राविधिक कारण मा भएको भन्दै लोडसेडिङका रुपमा नबुझ्न आग्रह गर्छन् । साथै कतिपय ग्राहकको घरमा नै लाइन स्वीचिङ भइरहेकोले त्यसमा पनि ध्यान दिन आग्रह गरेेका छन् ।

‘धेरैले घर तथा कार्यालयमा विद्युतीय उपकरणको प्रयोग बढाउनुभएको छ, तर विद्युत मिटरको लोड बढाउनुभएको छैन । यसले पनि घरभित्रै एमसीबी स्वीच झर्ने समस्या बढेको छ,’ घिसिङ भन्छन्, ‘धेरै बिजुली खपत गर्ने उपकरण चलाएपछि घरभित्र लाइनको क्षमता बढाउनुपर्छ । मिटर र एमसीबी त्यसैअनुसार राख्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment