Comments Add Comment

जब समर्थकले पारस खड्काको खुट्टा छोए …

१२ पुस, पोखरा । बिराटनगर टाइटन्सलाई ३२ रनले हराएर पहिलो पटक पोखरा प्रिमियर लिग जितेको चितवन राइनोजका खेलाडीहरुले खुसी मनाउन समेत पाएका थिएनन्, एक युवा दौडिँदै क्रिकेट मैदानमा प्रवेश गरे ।

अनपेक्षित रुपमा समर्थक मैदानमा प्रवेश गरेपछि स्वयंसेवकले रोक्न सकेनन् । क्रिकेट समर्थक क्रिजमा पुग्नै लाग्दा लडे । उठेर चितवन राइनोजका क्याप्टेन पारस खड्कालाई अंगालो हाले । के गरौं कसो गरौं मनस्थितिमा देखिएका जब पारसले पनि अंगालोे हाल्न खोज्दै थिए, ती युवा झुके र खड्काको खुट्टा समाउन पुगे । कप्तान खड्काले उनलाई उठाए र फेरि अंगालोमा बेरे ।

त्यसपछि मात्रै त्यहाँ स्वयंसेवक टोली पुग्यो । स्वयंमसेवकले मैदानबाट बाहिर ल्याउँदै गर्दा उनको आँखामा आँशु छचल्किको थियो र दुई हातले पुछ्दै पुछ्दै आइरहेका थिए ।

उनले लगाएको नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीमा लेखिएको थियो, पारस…. ।

पारसलाई पारसकै माया !

मैदानमा प्रवेश गरेर त्यसरी अंगालो हाल्ने ती युवा पारस नै हुन् । तर, खड्का होइन, घिमिरे ।

लमजुङ घर भई हाल चितवन बस्ने घिमिरे पारसलाई भगवान मान्छन् । र उनी तिनै भगवानलाई भेट्न चितवनबाट सय जना साथी बटुलेर पोखरा आइपुगेका रहेछन् ।


पारसलाई मैदानमै भेट पाउँदा खुसी देखिएका उनी भन्छन्, ‘पारस दाइलाई भेट्ने सपना थियो । त्यो अवसर आज गुमाइनँ । त्यसैले होला भावुक भएँ ।’

कक्षा १२ को पढाइ सकेर बसिरहेका घिमिरे सानैदेखि क्रिकेट हेर्न रुचाउँथे । तर राष्ट्रिय टिमका सदस्यहरु चिनेका थिएनन् । कक्षा ६ मा पढ्दा सिनियरले ‘खड्का’ भनेर जिस्काउन लागेपछि भने उनले पारसबारे सोधिखोजी गरे । ‘६ कक्षामा पढ्दा एकजना दाइले खडका भाइ भनेर जिस्काउनु भयो’ भन्छन्, ‘त्यसपछि बल्ल उहाँलाई चिनें । अहिले त कसैले खड्का भन्दा पनि रमाइलो लाग्छ ।’

यसअघि पनि दुई पटक पारसलाई नजिकबाट देखेको तर, भेट्न नपाएको उनले सुनाए । शनिबार उनले पारसलाई मात्रै भेटेनन्, मैदानमा छिरेर पाउ परे । यसले आफ्नो लक्ष्य पूरा भएको उनी बताउँछन् । भन्छन्, ‘२ ओभर बाँकी हुँदा भेटम् कि नभेटम् भएको थियो । तर अन्तिममा आफ्नो लक्ष्य पूरा गरेर छाडें ।’

अंगालो हालेपछि आफू बोल्नै नसकेर रोएको तर पारस खड्काले ‘नरोउ’ भनेर सम्झाएको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment