Comments Add Comment

सोमालियामा विष्फोट, ७६ जनाको मृत्यु

१३ पुस, काठमाडौं । सोमालियामा कार बम विस्फोट हुँदा कम्तीमा ७६ जनाको ज्यान गएको छ । ९० भन्दा बढी घाइते भएका छन् । बिहानको व्यस्त समयमा राजधानी मोगादिशुको चेकपोस्ट नजिकै बम विस्फोट भएको हो ।

प्रत्यक्षदर्शीहरूले बताएअनुसार, सडक निर्माण कार्यमा जुटिरहेका टर्किस इन्जिनियरहरू नजिकै विस्फोट भएको थियो । सोमालियाका विदेश मन्त्री अहमद अवाडले टि्वट गर्दै मारिनेमध्ये दुई टर्किस इन्जिनियर रहेको जनाएका छन् ।

सोमालियामा भोकमरी सुरु भएदेखि टर्की त्यहाँको मुख्य दाता हो । उसले भोकमरी सुरु भएको सन् २०११ देखि नै सहयोग बढाउँदै आइरहेको छ ।

आक्रमणकारीको निसानामा विद्यार्थीसमेत परेका छन् । बसमा यात्रा गरिरहेका बन्दिर युनिभर्सिटीका कम्तीमा १६ विद्यार्थी बम विस्फोटको शिकार बनेको एएफपीले जनाएको छ ।

बिस्फोटमा घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या ७६ बाट बढ्ने अनुमान गरिएको छ ।

प्रत्यक्षदर्शीहरूले विस्फोटपछि दारुणिक दृश्य देखेको र सम्हालिन कठिन भएको प्रतिक्रिया दिएका छन् । ‘विस्फोटपछि मृत शरीरहरू तितरवितर भएर छरिएका थिए । केही शव चिन्नै नसकिने गरी जलेका छन्’, सकारिए अबदुकादिर नामका एक प्रत्यक्षदर्शीले घटनाको विभत्स दृश्य वर्णन गर्दै भनेका छन् ।

विस्फोटको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । अल-शाबब मिलिट्यान्सले पटक-पटक आक्रमण गर्ने गरेकाले उसैमाथि शंका गरिएको छ ।

अल-शाबब इस्लामिक विद्रोहीको एउटा समूह हो । यो अलकायदासँग पनि सम्बद्ध छ । जसले १० वर्षसम्म सशस्त्र संघर्ष चलाएको थियो । सन् २०११ मा यो समूहलाई राजधानीबाट निस्तेज पारिएको थियो । तर, अझै पनि यसले देशका अधिकांश भागमा नियन्त्रण जमाइरहेको छ ।

सोमालियाका राष्ट्रपति मोहम्मद अब्दुल्लाह फर्माजोले आक्रमणको भत्र्सना गर्दै सोमालिया जनतालाई निरुत्साहित गर्न आक्रमण भएको प्रतिक्रिया दिएका छन् । जनतालाई हतोत्तसाहित गर्ने प्रयत्न भए पनि देश निर्माण प्रक्रिया नरोकिने उनले उद्घोष गरेका छन् ।

‘सोमालियाका जनतालाई निरुत्साहित गर्न आक्रमणका प्रयास भए पनि सोमालिया निर्माण कहिल्यै रोकिने छैन’, राष्ट्रपति फर्माजोले आक्रमणलगत्तै प्रतिक्रिया दिँदै भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment