Comments Add Comment

सुदूरपश्चिम प्रदेशसभाले बिजनेस पाएन, फुर्सदिला सांसद् घुमघाममा व्यस्त

१३ पुस, कैलाली । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अझै सुरु हुन सकेको छैन । वर्षे अधिवेशन सकिएको चार महिना बितिसक्दा पनि प्रदेश सरकारले बिजनेस दिन नसक्दा हिउँदे अधिवेशन सुरु हुन नसकेको हो ।

गत भदौ १ गते प्रदेश सभाको बर्षे अधिवेशन सकिएको थियो । त्यसयता प्रदेश सरकारले प्रदेश सभामा कुनै पनि विधेयक दर्ता नगरेको प्रदेश सभा सचिवालयले जनाएको छ । ‘अहिलेसम्म कुनै पनि विधेयक दर्ता भएको छैन’ प्रदेश सभा सचिव रामसिंह धामीले अनलाइनखबरलाई बताए ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले प्रदेश सभा छिटै सञ्चालन गर्ने विषयमा छलफल भइरहेको बताए । ‘छ महिनाभित्रै संसद चलाउनुपर्छ’ उनले भने, ‘त्यति लामो जान दिन्नाैं । छिटै संसद चलाउने विषयमा सरकारसँग छलफल गरिरहेका छौँ ।’

सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले भने यो महिनाको अन्तिमसम्म अधिवेशन बोलाउने तयारी भइरहेको बताए । उनले भने, ‘हामीले यही २५/२६ गते सम्म अधिवेशन आह्वान गर्ने तयारी गरिरहेका छौँ ।’

प्रदेशको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने विषय भएकाले मुख्यमन्त्री आएलगत्तै यस विषयमा थप छलफल हुने सभामुख थापाको भनाइ छ । ‘अहिले मुख्यमन्त्री काठमाडौँमा हुनुहुन्छ, उहाँ आएपछि हामी बैठक बसाउने विषयमा थप छलफल गर्छाैं’ उनले भने ।

आफूले पटक–पटक बिजनेस उपलब्ध गराउन सरकारलाई दबाव दिइरहेको सभामुख थापाले बताए । सरकारले पनि तयारी गरिरहेको भन्दै यही महिना भित्र हिउँदे अधिवेशन आह्वान हुने उनले विश्वास दिलाए ।

‘मैले पटक–पटक बिजनेस दिन सरकारलाई भनिरहेको छु । तर, अहिलेसम्म एउटा पनि विधेयक दर्ता भएको छैन’ सभामुख थापाले भने, ‘सरकारले तीव्र तयारी गरिरहेको छ । सायद २/४ दिनमा विधेयक दर्ता हुनेछन् ।’

सहमति लिएर पनि विधेयक तयार भएन

विषयगत मन्त्रालयले विभिन्न विषयमा विधेयक तयार गर्ने भन्दै सैद्धान्तिक सहमति लिए पनि अझैसम्म विधेयक तयार गर्न सकेका छैनन् । जसका कारण प्रदेश सभाले बिजनेस पाउन सकेको छैन । सरकारले बिजनेस दिन नसक्दा प्रदेश सभाको बैठक कहिले बस्छ भन्ने कसैलाई जानकारी छैन ।

सैद्धान्तिक सहमति दिएको डेढ वर्षसम्म पनि विधेयकहरू तयार नभएको पाइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाटै सैद्धान्तिक सहमति लिएका ३ वटा विधेयक अहिलेसम्म तयार भएका छैनन् ।

सामाजिक विकास मन्त्रालयले गत वर्षको भदौ ४ गते सैद्धान्तिक सहमति लिएका दुई विधेयक हालसम्म तयार गरेको छैन । पहलमानसिंह स्वाँर प्रज्ञा प्रतिष्ठान गठनसम्बन्धी विधेयक र प्रदेश श्रम तथा रोजगार विधेयक हालसम्म तयार नभएका हुन् ।

विकास मन्त्रालयले नै सैद्धान्तिक सहमति पाएको श्रम तथा रोजगारसम्बन्धी विधेयकमा भने कुनै पनि काम गरेको छैन ।

त्यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत वर्षको साउन २१ गते सैद्धान्तिक सहमति पाएको जग्गा प्रशासन तथा नाप नक्सासम्बन्धी विधेयकमा समेत कुनै काम भएको छैन । यो विधेयक डेढ वर्षदेखि मन्त्रालयमै थन्किइरहेको छ ।

प्रतिपक्षीको दबावले पनि काम गरेन

मङ्सिर २५ गते प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदहरू संसदलाई बिजनेस दिन माग गर्दै मुख्यमन्त्री कार्यालयमै पुगे । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता डा. रणबहादुर रावलको नेतृत्वमा गएको टोलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेर तत्काल बिजनेस दिएर संसद सञ्चालन गर्न माग गरेका थिए ।

तर, मुख्यमन्त्रीलाई भेटेको दुई सातासम्म पनि सरकारका तर्फबाट एउटा पनि विधेयक प्रदेश सभामा दर्ता भएको छैन । सांसदहरुसँगको भेटमा मुख्यमन्त्री भट्टले ३/४ वटा विधेयक पास भएकाले मन्त्रिपरिषदमा पेस गरेर संसद् आह्वान गर्ने बताएको प्रतिपक्ष कांग्रेसका सचेतक टेकबहादुर रैकाले सुनाएका थिए ।

तर, आफूहरुले दबाव दिए पनि सरकारले चासो नदिएको भन्दै दोस्रोपल्ट नेपाली कांग्रेस संसदीय दलका नेता रावलका केही दिन अघि फेरि मुख्यमन्त्रीलाई भेट्न पुगेका थिए ।

‘त्योबेला मुख्यमन्त्रीले २०/२२ गते नै बैठक राख्ने कुरा गर्नुभएको छ’ रावललाई उद्धृत गर्दै सचेतक रैकाले भने, ‘हामीले संसद् छिटै सुचारु गर्ने विषयमा सरकारलाई दबाव दिइरहेका छौँ । तर, सरकार भने सुस्त देखिएको छ ।

संसद् सुचारु नहुँदा महत्त्वपूर्ण विषयहरूमा सरकारलाई सुझाव दिन नपाइरहेको उनले बताए ।

बैठक नहुँदा फुर्सदिला सांसद

चार महिनादेखि प्रदेश सभा बैठक नबसेपछि प्रदेश सभा सदस्यहरू फुर्सदिला भएका छन् । हिउँदे अधिवेशन सुरु नहुँदा धनगढीमै रहेका अधिकांश सांसदहरू विभिन्न गोष्ठी, तालिम तथा सेमिनारमा व्यस्त छन् । फुर्सदकै समय निकालेर केही सांसदहरू अन्तर प्रदेश भ्रमणसमेत सकेर फर्किएका छन् ।

सांसदहरू भ्रमण, गोष्ठी, तालिम र सेमिनारमा व्यस्त भइरहँदा केही सांसदहरू भने बैठक अनिश्चित बन्दा निर्वाचन क्षेत्रमा खटिएका छन् । आफ्नै निर्वाचन क्षेत्रमा साना ठूला कार्यक्रमहरूमा आफू व्यस्त रहेको उनीहरूको भनाइ छ ।

‘हामी आफ्नो कार्यक्षेत्रमा भ्रमण गरिरहेका छौँ, विद्यालयका भेला र बैठकहरूमै व्यस्त छौँ’ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद महेशदत्त जोशीले भने, ‘मन्त्रीज्यूहरू उदघाटनमा व्यस्त हुनुहुन्छ, हामी भेटघाटमा व्यस्त छौँ ।’

शुक्रबार मध्यान्हमा प्रदेश सभाको अर्थ, व्यवस्था तथा प्राकृतिक स्रोत साधन समितिमा भेटिएका सभापति हर्कबहादुर कुँवरले बैठक सञ्चालन नहुँदा आफूहरू फुर्सदिलो भएको बताए ।

‘पत्रपत्रिका बढ्ने र किताबहरू अध्ययन गरेर दिन बितिरहेको छ’ उनले भने, ‘बैठक नबस्दा छलफलमै दिन बितिरहेको छ ।’

सत्तापक्षका मात्रै होइन, प्रतिपक्षका सांसदहरू पनि अहिले फुर्सदिला भएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावल सत्तापक्षका सांसद झन बढी फुर्सदिला भएको बताउँछन् ।

केही समयअघि अमेरिकाबाट फर्किएका नेता रावलले भने, ‘माननीयहरूलाई फुर्सदिलो ठान्नु स्वाभाविकै हो । हामी निर्वाचन क्षेत्रमा जनताका समस्या बुझिरहेका छौँ । सत्तापक्षका माननीयहरू त पुरै फुर्सदिला छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment