Comments Add Comment

दुर्गन्ध फैलाएको भन्दै सुकुम्बासीका टहरा भत्काइयो

१३ पुस, काठमाडौं । कीर्तिपुर नगरपालिकाले बागमती नदी किनारमा बसेका सुकुम्बासीहरुको टहरा भत्काएको छ । चोभार नजिक बागमती नदी क्षेत्र अतिक्रमण गरेर बसेको र बोसो मिश्रित साबुन फ्याक्ट्री सञ्चालन गरेर दुर्गन्ध फैलाएको भन्दै टहरा भत्काइएको हो ।

कीर्तिपुर नगरपालिकाकी उपमेयर सरस्वती खड्काले वातावरण प्रदूषण भएको गुनासो आएपछि बोसो फ्याक्ट्रीसहितका टहरा भत्काउन सुरु गरिएको बताइन् ।

उनले भनिन्, ‘हामी जनप्रतिनिधि भएर आउनुभन्दा वर्षौं अघिदेखि त्यहाँ बोसो, हड्डी पगाल्ने काम हुँदो रहेछ । फ्याक्ट्रीबाट निस्कने फोहोर सीधै बाग्मती नदीमा मिसाउने गरिएकाले पनि हाम्रो पहलमा हटाउन लागिएको हो ।’ उनका अनुसार झण्डै १५ वटा टहरा भत्काइएको छ ।

बाग्मती किनारमा टहरा हालेर बसेका सुकुमबासीहरुले बोसोबाट साबुन बनाउने फ्याक्ट्री चलाइरहेका थिए । फ्याक्ट्रीबाट दुर्गन्ध फैलिएको भन्दै स्थानीयले नगरपालिकामा गुनासो गरेका थिए ।

यसअघि हाड, छाला, रौंलगायत जलाएर दुर्गन्ध फैलाएको भन्दै ललितपुरको नख्खु क्षेत्रबाट प्रहरीले केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई जनही १० हजार नगद जरिवाना गरी छाडिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment