Comments Add Comment

अर्को निर्वाचनमा नेकपाको एक्लै दुई तिहाइ बहुमत : प्रचण्ड

१३ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एक्लै दुई तिहाइ बहुमत ल्याउने दाबी गरेका छन् । आवधिक निर्वाचन आउन अझै ३ वर्ष रहेको भन्दै उनले सरकार र पार्टीको कामले आउने निर्वाचनमा एक्लै दुई तिहाइ बहुमतको सुनिश्चिता गर्नुपर्ने बताए ।

‘अब ३ वर्ष पार्टीको काम र सरकारको कामले आउने निर्वाचनमा एक्लैले दुई तिहाइ बहुमतको सुनिश्चितता गर्नुछ । त्यो प्रतिवद्धता हामीले व्यक्त गरेका छौं’ चितवनको इच्छाकामना गाउँपालिकामा नेकपाको सपथ ग्रहण कार्यक्रममा उनले भने ।

प्रचण्डले जनतासँग नङमासुको सम्बन्ध बनाएर जनसेवाको काममा अघि बढ्न पनि कार्यकर्तालाई निर्देशन दिए । ‘पार्टी अझै एकतावद्ध भएर विचारमा स्पष्ट र संगठित भएर जनताको सेवामा समर्पित हुन जरुरी छ’ उनले भने ।

हार्ने कल्पनै नगरेको ठाउँमा हारियो

मंसिर १४ गतेको उपनिर्वाचनबाट केही शिक्षा र केही उत्साह प्राप्त भएको प्रचण्डले बताए । ‘हार्ने कल्पना नगरेको ठाउँ पनि हारियो, जसबाट गम्भीर शिक्षा लिनुपर्ने आवश्यकता छ’ उनले भने ‘यसको मुख्य कारण पार्टी र जनताबीचको सम्बन्ध जति सजिव, जति गतिशील र जीवन्त हुनुपथ्र्यो त्यसको कमीका कारण कन्फ्यजन भयो भन्ने निश्कर्ष निकालेका छौं ।’ पार्टी संस्थागत भएपछि र अभियान सञ्चालन गर्न थालेपछि उत्साहपूर्ण वातावरण फर्काउन सकिने प्रचण्डले बताए ।

नेकपा नेतृत्वको सरकारको अघिल्लो दुई वर्ष कानून बनाउँदा र छिमेकीसँगको सम्बन्ध सुदृढ बनाउँदा बितेको भन्दै अब जनसेवाको काम गर्ने पनि उनले बताए ।

‘विकास र समृद्धिको हिसाबले पनि अभियान सुरु त भएको छ । तर जनताले जुन गतिमा खोजेको छ । अझै त्यो उत्साह आइसकेको छैन’ उनले भने ‘गएको वर्ष कानुन बनाउने कुरामा ध्यान गयो, छिमेकीसँग सम्बन्ध सुदृढ बनाउने कुरामा पनि ध्यान गयो । धेरै छिमेकीका नेताहरुको भ्रमण भयो ।’

चीनका राष्ट्रपतिको नेपाल भ्रमण र ऐतिहासिक भएको र भारतबाट पेट्रोलियम पाइपलाइन उद्घाटन हुने ठूलो कुरा भएको भन्दै उनले पूर्वपश्चिम र उत्तर दक्षिण रेल मार्ग निर्माण पनि अघि बढेको बताए ।

प्रचण्डले कालापानी, लिपुलेक लिम्पयाधुरासम्बन्धी विवाद नेपाली भूमिबाट विदेशी सेना हटाउने अवसर पनि हुन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment