Comments Add Comment

६३ वर्षे महिला हत्या आरोपमा खिमबहादुर सिर्पाली पक्राउ

१३ पुस, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ पल्लो हुम्दी डाँडागाउँमा ६३ वर्षीया चिजाकुमारी विक बस्थिन् । सँधैजसो छरछिमेकमा भेटिने उनी पुस ६ गते साँझबाट एकाएक हराइन् । दुई दिनसम्म पनि गाउँमा नदेखिएपछि उनको खोजतलास हुन थाल्यो ।

चिजा बस्दै आएको घरमा बाहिरबाट चुकुल लगाइएको थियो । गाउँलेले विकले प्रयोग गर्दै आइरहेको मोबाइलमा फोन गरे । तर, रिङटोन घरभित्रै बज्यो । झ्याल खोले दुर्गन्ध ह्वास्स बाहिरसम्म आयो । गाउँलेलाई शंका भएपछि ढोका फोरेर भित्र हेरे । त्यहाँ एउटी महिलाको शव थियो, जसलाई सिरकले सुरक्षित साथ ओडाइएको थियो ।

त्यो शव चिजाकै थियो । बाहिरबाट ओडाइएको सिरकभित्रको शवको टाउको भने क्षतविक्षत अवस्थामा थियो । शव नजिकै थियो, एउटा रगतले लत्पिएको ढुंगा । त्यसपछिमात्रै स्थानीयले प्रहरीलाई खबर गरे । शवसँग विकले लगाउँदै आएको कुनै पनि गहना थिएनन् ।

हत्यारा सार्वजनिक

जिल्ला प्रहरी कार्यालय कास्कीले जिला हत्या आरोपमा ३९ वर्षीय खिमबहादुर सिर्पालीलाई आइतबार सार्वजनिक गरेको छ । म्याग्दी घर भई हाल पोखरा २५ हेमजा बस्दै आएका सिर्पलीलाई तनहुँबाट प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख दानबहादुर कार्कीले विकलाई डाँकाचोरी तथा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको जानकारी दिए । ‘जबर्जस्ती करणी प्रयास पनि गरेको आशंका गरेका छौं । त्यसको अनुसन्धान भइराखेको छ,’ उनले भने ।

यसरी भएको थियो घटना

प्रहरीका अनुसार चिजा र खिमबहादुरबीच पहिले नै सामान्य चिनजान थियो । घटना घटेको साँझ उनी मादक पदार्थ सेवन गरेर बास माग्न गएका थिए । ‘राति अबेरसम्म चिजाकी नाती र सिर्पालीबीच कुराकानी भएको देखिएको छ,’ एसपी कार्कीले भने । ‘त्यसपछि नाती बाहिरिएका छन् ।’

नाती नजिकैको आफ्नो घरमा गइसकेपछि सिर्पालीले करिब २ किलोको ढुंगाले चिजाको टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ  । ‘अभियुक्त सुरुमै योजना बनाएर त्यहाँ गएको देखिन्छ,’ एसपी कार्कीले भने, ‘कति सुन चोरी गरे भन्नेबारे अनुसन्धान हुँदैछ । तर, हालसम्म उनले बेचेको ढेड तोला सुन बरामद गरेका छौं ।’

प्रहरी उपरीक्षक कार्कीले घटना लगत्तै पोखराको सिर्पाली आफन्तमा गएको र त्यसपछि तनहुँ गएर एक सुन पसललाई सुन बेचेको बताएका छन् । उनले सुन खरिद गर्ने व्यापारीमाथि पनि मुद्दा चलाइएको जानकारी दिए ।

५ वटी श्रीमति

हत्या आरोपित सिर्पाली सामान्य मजदुर हुन् । प्रहरीका अनुसार उनी जहाँ जहाँ काम गर्न पुग्छन्, त्यहाँ त्यहाँ श्रीमती फेर्दै हिँड्ने गर्दा रहेछन् । पछिल्लो पटककी श्रीमती पाँचौ भएको कार्कीले जानकारी दिए । ‘काम गर्न विभिन्न ठाउँ पुग्ने र त्यतै श्रीमती बनाउने गर्दा रहेछन्, पछिल्लो श्रीमतीलाई पनि उनले छाडिसकेका रहेछन,’ एसपी कार्कीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment