Comments Add Comment

वैद्य माओवादीद्वारा गजुरेल पक्राउको विरोध

१३ पुस, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले सीपी गजुरेलसहित आफ्ना नेता कार्यकर्ता पक्राउको विरोध गरेको छ । आइतबार उपप्रधानमन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गरेर अवरोध गरेको भन्दै विरोध जनाएको हो ।

क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले विज्ञप्ति जारी लाठीचार्जबाट पोलिट्ब्युरो सदस्य दिनेश शर्मा, सुरेस श्रेष्ठ, केन्द्रीय सदस्य शारदा महत, महिला नेतृ सुनीता बोगटीलगायत १० भन्दा धेरै घाइते भएको बताएका छन् ।

भारतले सार्वजनिक गरेको नयाँ नक्शामा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्र परेको विषयमा सरकारको ध्यानाकर्षण गराउन क्रान्तिकारी माओवादीको टोली आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापन पत्र बुझाउन सिंहदरबार जाँदै थियो ।

त्यस क्रममा सिंहदरबारको दक्षिण गेट नजिकै निषेधित क्षेत्र प्रवेश गर्न खोजेको भन्दै प्रहरीले रोकेपछि झडप भएको थियो । झडपका क्रममा क्रान्तिकारी माओवादी कार्यकर्ता र केही प्रहरी पनि घाइते भएका थिए । प्रहरीले क्रान्तिकारी माओवादीका स्थायी कमिटी सदस्य गजुरेलसहित १५ जना भन्दा बढी नेता कार्यकर्तालाई पक्राउ गरेको थियो ।

उपप्रधानमन्त्रीले अनुमति दिएको प्रतिनिधिमण्डलको भेटघाट कार्यक्रममा सरकारले निर्मम दमन गरेको भन्दै वैद्यले लाठीचार्ज र पक्राउको घटनाको विरोध जनाएका छन् । । ‘यो देशभक्त नेपालीहरुका लागि अति संवेदनशील तथा दुर्भाग्यपूर्ण परिघटना हो । हाम्रो पार्टी गिरफ्तार गरिएका नेता तथा कार्यकर्ताहरुको अविलम्ब रिहाइ र घाइते तुल्याइएका नेता तथा कार्यकर्ताहरुको उपचारका लागि सरकारसंग जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment