Comments Add Comment

डोटीमा १३ प्रतिशत स्वास्थ्यकर्मी अभाव

१३ पुस, डोटी । डोटी जिल्लाका स्वास्थ्य संस्थाहरुमा कूल दरबन्दीको १३ प्रतिशत स्वास्थ्यकर्मीहरुको अभाव रहेको छ ।

स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारी अनुसार जिल्लाका नौ स्थानीय तहका ५९ स्वास्थ्य संस्थाहरुमा ३०८ कूल दरबन्दीमध्ये हाल २६७ मात्रै पदपूर्ति रहेको छ । सबैभन्दा बढी रिक्त दरबन्दी बोगटान फुड्सिल गाउँपालिकामा करिब ३० प्रतिशत देखिएको छ । उक्त गाउँपालिकामा रहेका कूल दरबन्दीमध्ये ३१ मात्रै कार्यरत छन् ।

यस्तै जोरायल गाउँपालिकामा दरबन्दीको ७३.६० प्रतिशत मात्रै कार्यरत छन् । यस गाउँपालिकामा ४२ दरवन्दीमध्ये ३१ मात्रै पदपूर्ति भएको छ । यस्तै पूर्बीचौकीमा २२ प्रतिशत स्वास्थ्यकर्मीको अभाव छ । यस गाउँपालिकामा ४२ दरबन्दीमध्ये ३१ कार्यरत छन् ।

बढीकेदारमा आठ प्रतिशत, आदर्शमा सात प्रतिशत, शिखरमा सात प्रतिशत र केआई सिंहमा तीन प्रतिशत स्वास्थ्यकर्मीहरुको अभाव रहेको छ ।

दिपायल सिलगढी नगरपालिका र सायल गाउँपालिकामा भने दरबन्दी अनुसारका स्वास्थ्यकर्मीहरु रहेको स्वास्थ्य कार्यालयले दिएको तथ्याङ्कमा उल्लेख छ ।

‘यो तथ्याँङ्क असारसम्मको हो, अहिले स्वास्थ्यकर्मीको समायोजनका कारण अझ धेरै ठाउँ खाली भएका छन्’ स्वास्थ्य कार्यालय डोटीले आयोजना गरेको सञ्चारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख रमेश मलासीले भने, ‘समायोजनमा डोटीबाट अन्त रोज्नेको संख्या धेरै छ तर डोटी आउनेको संख्या कमै छ ।’

उनले समायोजनमा परेका सबैले रमाना लिइनसकेको हुँदा अहिले नै कति दरबन्दी रिक्त हुने भन्न गारो भएको जानकारी दिए ।

उनले स्थानीय तहहरुले आफ्नै स्रोतबाट स्वास्थ्यकर्मीहरु राखेर सेवा प्रवाह गरिरहेको समेत जानकारी दिए । उनले भने, ‘स्वास्थ्य क्षेत्रमा स्थानीय तहहरुले राम्रो सहयोग गरिरहनु भएको छ, दुर्गम बस्तीमा स्वास्थ्य क्लिनिकहरु राख्ने, स्वास्थ्य उपकरणहरु सहयोग गर्ने र जनशक्ति सहयोग गर्ने जस्ता काम उहाँहरुले गर्दै आउनु भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment