Comments Add Comment

विप्लव समूहका पूर्वी कमाण्डसहित ५ जना पक्राउ

१३ पुस, विराटनगर । मोरङ र सुनसरीबाट विप्लव समूहका पूर्वी कमाण्ड इञ्चार्जसहित ५ जना कार्यकर्ता पक्राउ परेका छन् ।

सुनसरीको चक्रघट्टीबाट पूर्वी कमाण्ड इञ्चार्ज उमा भुजेल र सुमनसिंह पौडेल पक्राउ परेको प्रहरीले जनाएको छ । मोरङको बेलबारीबाट मोरङ इन्चार्ज सुन्दरहरैचा नगरपालिका –१० का ५० वर्षीय नरेश भनिने कृष्ण चौलागाई, मोरङ सञ्चार विभाग प्रमुख विराटनगर ८ का ३० वर्षीय क्षितिज पौडेल र पथरीशनिश्चरे नगरपालिका-३  सिद्धार्थ टोलका ५६ वर्षीय चिरिञ्जिव धिताल पक्राउ परेका हुन् ।

प्रहरीले भुजेलको साथबाट एकथान पेस्तोल र पाँच राउड गोली बरामद गरेको छ । चौलागाईको समूहले प्रयोग गर्ने एकथान कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको छ ।

प्रहरीका अनुसार पक्राउ परेका पाँच जना शुक्रबार मोरङको पथरी शनिश्चरे क्षेत्रमा भेला भएका थिए । चन्दा उठाउन भन्दै कार्यविभाजन गरी पूर्वी कमाण्ड इञ्चार्ज भुजेल र पौडेल स्कुटरमा मोरङको केराबारी, सुनसरीको धरान हुँदै चक्रघट्टी पुगेका थिए ।

चन्दा संकलन गर्न हिँडेका चौलागाई र पौडेललाई बेलबारी नगरपालिका – ५ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले केराबारीमा लुकाई राखेको अवस्थामा हतियार पनि बरामद भएको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई आइतबार मोरङ अदालतमा पाँच दिनको म्यात थप गरी अनुसन्धान अगाडि बढाएको उनले बताए ।

पछिल्लो समय मोरङ-सुनसरीका स्थानीय तह र व्यापारीलाई चन्दा माग्दै धम्की दिइरहेका विप्लव समूहका नेतालाई पछ्याउने क्रममा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

पाँचहजारदेखि पाँचलाख रुपैयाँसम्म चन्दा माग्दै फोन गर्ने विप्लव समूहका नेताले प्रत्येक पटक छुट्टा छुट्टै मोबाइल नम्बर प्रयोग गर्दै आएको प्रहरीको भनाइ छ ।

निरन्तर निगरानीका क्रममा उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । प्रहरीले चौलागाईको साथबाट पाँचवटा मोबाइल र सातवटा सीमकार्ड बरामद गरेको छ । भूजेलको साथबाट पनि पाँचवटा मोबाइल बरामद गरेको छ ।

‘चन्दा उठाउन एउटै व्यक्तीले ५–७ वटा सीम प्रयोग गरेको देखिन्छ,’ प्रहरीस्रोत भन्छ, ‘ केही स्थानमा पत्र पनि पठाएका छन् ।’ पाँचनेता पक्राउ परेपछि पूर्वमा नेटवर्क ध्वस्त भएको प्रहरीले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment