Comments Add Comment

श्रमदान र नगद सहयोगले धुर्मुस उत्साही

१४ पुस, चितवन । चितवनको भरतपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सहयोग गर्नेहरु थपिँदै गएका छन् । कसैले नगद र कसैले श्रमदान गरेर सहयोग गर्दै आएका छन् ।

आइतबार नेपाल पर्यटन तथा होटल व्यवसायी संघ प्रदेश नं. २ को संयोजनमा संकलन गरिएको ७ लाख ८० हजार रकम संघका अध्यक्ष हिरालाल गौतमले रंगशाला निर्माणको नेतृत्व लिइरहेको धुर्मस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललाई हस्तान्तरण गरे । संघले यसअघि नै १० लाख रकम दिइसकेको थियो ।

यसैगरी तत्कालीन प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको संयोजनमा जिल्लाका विभिन्न सरकारी कार्यालयका कर्मचारीहरुबाट ७ लाख ३४ हजार ८ सय २३ रूपैयाँ संकलन गरी फाउन्डेसनको बैंक खातामा जम्मा गरिएको थियो ।

जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुले श्रमदान पनि गर्ने गरेका छन् । ५ पुसमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरीहरु र ११ पुसमा शैक्षिक परामर्श केन्द्र इक्यानको टोलीले श्रमदान गरेका थिए ।

जिल्लाका आमा समूह, सहकारी संस्था, टोल विकास संस्थाहरुले पनि नाचगान र भजन किर्तनसहित नगद सहयोग गर्दै आएका छन् । भ्युटावरमा चढेर रंगशाला निर्माणको काम अवलोकन गर्नेहरुबाट पनि अर्थ संकलन भइरहेको छ । भ्यूटावर चढेर अवलोकन गर्नेहरुसँग प्रतिव्यक्ति २० रुपैयाँ शुल्क लिने गरिएको छ । रंगशालामा शनिबार र सार्वजनिक विदाको दिन भ्रमण गर्ने र तस्वीर खिच्नेको भीड लाग्ने गरेको छ । गत शुक्रबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पनि स्थलगत अवलोकन गरेका थिए ।

रंगशालामा पछिल्ला दिनमा थपिएको सहयोग र चासोले आफूमा थप ऊर्जा थपिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मस) बताउँछन् । ‘जनताले अपनत्व लिन थालेको अनभूति गरिरहेको छु,’ फाउण्डेशनका अध्यक्ष कट्टेलले भने ‘रंगशालाभित्र ७७ वटै जिल्लाका पहिचान झल्काउने कक्षहरु बनाइनेछ, आफ्ना–आफ्ना जिल्लाका कक्ष सम्बन्धित जिल्लाले बनाइदिउन् भन्ने चाहना छ ।’

क्रिकेट रंगशालामा अहिले पिच र शेरवालको काम सँगसँगै अघि बढेको छ । पीसीसी ढलान सकेर सेरवालको भित्री भाग उठाउने काम भएको छ भने बाहिरी भागको काम हुँदैछ । मैदानमा परेको पानीको शुरुमा ६० प्रतिशत पानी जमिनमा सोस्ने र बाँकी ४० प्रतिशत ड्रेनमा जम्मा हुने गरी डिजाइन गरिएको छ ।

रंगशालामा पिचको निर्माणको काम पनि जारी छ । पिच बनाउने स्थानमा तीन फिटको खाल्डो खनेर ढुंगा बिछ्याउने काम भइरहेको छ । एकै ठाउँमा ७ वटा पिच बनाइने छ । रंगशाला बनाउन दुई अर्ब ५० करोड खर्च हुने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment