Comments Add Comment

ह्याकरको आशंकामा चितवनबाट २ चिनियाँ पक्राउ

भाडामा लिएर चिनियाँले प्रयोग गरेको होटलको कोठा ।

१४ पुस, चितवन । ह्याकरको आशंकामा प्रहरीले चितवनबाट २ चिनियाँ नागरिक पक्राउ गरेको छ । काठमाडौंको बूढानीलकण्ठबाट १२२ चिनियाँ नागरिक पक्राउ परेको केही दिनपछि चितवनमा उस्तै शंकास्पद गतिविधि सञ्चालन गर्दै आइरहेका दुई चिनियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

चितवन प्रहरीले भरतपुरको सिजी ल्याण्डमार्कस्थित होटल फेनमा शंकास्पद गतिविधि गरिरहेका २ चिनियाँ केही दिनअघि पक्राउ परेको जनाएको छ ।

समातिएका चिनियाँलाई अभद्र व्यवहार र साइवरक्राइम कसुरअन्तर्गत अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

प्रहरीका अनुसार, यी दुई चिनियाँ नागरिकले होटल फेन प्रयोग गरेर चितवनमा ठूलो चिनियाँ लगानी भित्राउने भन्दै गतिविधि सञ्चालन गर्दै आइरहेका थिए ।

प्रहरीका अनुसार, होटलका अलावा भरतपुरका विभिन्न घर चल्तीको मूल्यभन्दा बढी रकम दिएर उनीहरूले भाडामा लिएको पाइएको छ । ३० हजार भाडाको घरलाई उनीहरूले २ लाखसम्म तिर्नेगरी सम्झौता गरेको प्रहरीले फेला पारेको छ । यति मात्रै होइन, भरतपुरमा रहेको एक पार्टी प्यालेससमेत उनीहरूले भाडामा लिएको पाइएको छ ।

चिनियाँहरुले रातदिन घरभित्रै बसी शंकास्पद गतिविधि गरेको स्थानीयहरूले प्रशासनमा खबर गरेका थिए । उनीहरूले गत असोज महिनादेखि भरतपुरमा यस्ता गतिविधि बढाउँदै लगेका थिए । प्रहरीले निगरानी बढाएपछि केही चिनियाँहरु आफ्ना उपकरणसहित भागेको जनाइएको छ ।

प्रहरी प्रमुख मल्लका अनुसार, केहीले काठमाडौंमा काम गर्ने गरी अनुमति लिएका छन् । केही टुरिष्ट भिसामा छन् । उनीहरु यहाँबाट भागेपछि प्रहरीले उनीहरू बसेको घर तथा पार्टी प्यालेसमा सिल गरेको र थप अनुसन्धान भइरहेको उनले बताए ।

यसअघि काठमाडौंको बूढानीलकण्ठमा पनि चिनियाँहरूले अखडा जमाएर बसेका थिए । शंकास्पद गतिविधि गरेको स्थानीयको उजुरीका आधारमा प्रहरीले त्यहाँबाट १२२ चिनियाँलाई पक्राउ गरेको छ । अहिले उनीहरूमाथि प्रहरीले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment