Comments Add Comment

रिहा भएपछि गजुरेलले भने- पक्राउ सुनियोजित

१४ मंसिर, काठमाडौं । आइतबार सिंहदरबार अगाडिबाट पक्राउ परेका नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेलसहित १५ जना नेता-कार्यकर्ता रिहा भएका छन् ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई सीमा विवाद समाधानका लागि ज्ञापनपत्र बुझाउन जाँदै गर्दा गजुरेलसहित उनको टोलीलाई आइतबार पक्राउ गरेर पुलिस क्लबमा राखिएको थियो । सबै १५ जना सोमबार बिहानमात्र रिहा भएका छन् ।

‘सरकार फासिवादतर्फ उन्मुख’

रिहा भएपछि केही नेता-कार्यकर्ताहरुसहित पैदल निवासतर्फ फर्किँदै गरेका उनी न्यूप्लाजा-अनामनगर सडकखण्डमा भेटिए । आफू छुटेको १० मिनेटमात्र भएको बताउँदै उनले अनलाइनखबरसँग भने, ‘सीमा मिचियो, समाधान गर्नुस् भनेर ध्यानाकर्षण गराउन जाँदासमेत यो सरकारले नियन्त्रणमा लिएको छ । यो सरकार फासीवादतर्फ उन्मुख भएको संकेत हो ।’

सीमा मिचिएको नितान्त जायज विषय लिएर जाँदा गरिएको अवरोधले त्यसको छनक दिएको उनको दाबी छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग समय लिएर र गृहमन्त्री रामबहादुर थापा (बादल)लाई जानकारी गराएर सिंहदरबारभित्र जान खोज्दा पनि नियन्त्रणमा लिइनु सुनियोजित भएको गजुरेलले आरोप लगाए ।  ‘हामी ज्ञापनपत्र बुझाउन जाँदै छौं भन्ने उपप्रधान तथा रक्षामन्त्रीसँगै गृहमन्त्रीलाई पनि थाहा थियो । उपप्रधानमन्त्रीले त समय नै दिनुभएको थियो’, गजुरेलले भने, ‘बोलाएर समातिँदा यो सुनियोजित हो कि भन्ने लागिरहेको छ ।’

रिहा हुनेहरुमा गजुरेलसहित, परी थापा, पवनमान श्रेष्ठ, सुरेश श्रेष्ठ, हरिकृष्ण गजुरेल, बसन्त बोगटी, दीपक शाही, फुरनाम्गेल मोक्तान, खगेन्द्र छन्त्याल, पदम भण्डारी, मिन गिरी, अनिल योञ्जन, सुन्दर श्रेष्ठ, नरेन्द्र कार्की र ढोबप्रसाद अधिकारी छन् ।

गजुरेलका अनुसार उनीहरुलाई सुरुमा नेपाल पुलिस क्लबमा राखेको थियो । राति ‘सार्वजनिक हित र नैतिकताविरुद्ध’ कसूर गरेको पूर्जी थमाइयो । त्यसपछि १५ जनाको समूहलाई बिभाजन गरेर जनसेवा, कमलपोखरी र कालिमाटीमा राख्यो ।

त्यहाँबाट फेरि राति नै सबैलाई जम्मा गरेर सोह्रखुट्टे वृत्तमा पुर्‍याइयो । उनीहरुको रात सोह्रखुट्टेमै बित्यो । त्यसपछि सोमबार बिहान सिंहदरबार वृत्तमा ल्याएर १०:४० मा रिहा गरिएको छ ।

यो पनि पढ्नुहोस नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment