Comments Add Comment

बुटवलमा १७ करोड लागतमा गुरुङ भवन बन्दै

१४ पुस, बुटवल । गुरुङ समुदायको कला संस्कृति संरक्षण र सम्बर्द्धनका लागि बुटवलमा संग्रहालयसहितको गुरुङ भवन बन्ने भएको छ ।

गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीको पहलमा १७ करोड रुपैयाँ लागतमा बेसक्याम्पस्थित महाज्ञान बौद्ध बिहार परिसरको १० कट्ठा क्षेत्रफलमा गुरुङ भवन बन्न लागेको हो ।

गुरुङ भवनमा गुरुङ संग्रहालय, एक हजार जना अट्ने सुविधासम्पन्न सभा हल र दुई सयजना अट्ने बैठक हल, कार्यालय प्रयोजनका लागि ५ वटा र अतिथि आवासका लागि ५ वटा कोठा बन्ने निर्माण समितिकी संयोजक एवम् तमु ह्युल छोंज धीं रुपन्देहीकी अध्यक्ष विमला गुरुङले बताइन् ।

मुख्य भवनमुनि दुई सय मोटरसाइकल र सयवटा चार पांङग्रे गाडी पार्किङ गर्न मिल्ने गरी अण्डरग्राउण्ड पार्किङस्थल बनाइने छ । परिसरमा बगैंचा, पानीको फोहरा, गुम्बा, मन्दिर, किरियापुत्री घर, एक हजार जनाले खाना खान मिल्ने खुला हल, भान्सा घर, बनाइने छ ।

भवन निर्माणका लागि गुरुङ समुदायका हरेक परिवारबाट एक घरबाट एक हजारका दरले चन्दा संकलन गरिने तमु ह्युल छोंज धीं रुपन्देहीका सचिव ओमप्रकाश गुरुङले बताए । ‘पश्चिमा संस्कृतिको नक्कल गर्ने परिपाटीले गुरुङ समुदायको मौलिक कला, संस्कृति र परम्परा हराउंदै जान सक्छ भनेर संग्रहालय बनाउन थालेका हौं,’ सचिव गुरुङले भने, ‘संग्रहालयले भावी पुस्तासम्म संरक्षण गर्नेछ ।’

संग्रहालय बनाउन विदेशका ११ वटा देशमा रहेका गुरुङ समुदाय र संघसंस्थासमेतबाट आर्थिक सहयोग संकलन गरिने छ । ‘गुरुङ सुमदायका कला संस्कृति संरक्षणका लागि संग्रहालयसहित बन्ने गुरुङ भवन नेपालकै गहना र गौरवको रुपमा लिएका छौं,’ सचिव गुरुङले भने, ‘गुरुङ कला र संस्कृति गुरुङहरुको मात्र नभइ देशकै पहिचान र सम्पदा भएकाले संग्रहालय सहित गुरुङ भवन बनाउन स्थानीय, प्रदेश र संघीय सरकारबाट पनि आर्थिक सहयोग हुने अपेक्षा राखेका छौं ।’

हालसम्म करिब ६० लाख रुपैयाँ आर्थिक सहयोगको प्रतिवद्धता आइसकेको अध्यक्ष विमलाले बताइन् । गुरुङ भवनको शिलान्यास तमु ल्होसारको अवसरमा सोमबार (आज) आयोजित मूल समारोहमा प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले गर्ने कार्यक्रम तय भएको छ ।

धरोहर कन्सल्ट्यान्ट देवदह खैरेनीले डिजाइन गरेको गुरुङ भवनको निर्माण पाँच वर्षमा पूरा गर्ने लक्ष्य रहेको छ ।

गुरुङ भवनको शिलान्यासअघि रुपन्देहीका एक उपमहानगर र ४ नगरपालिका तथा २५ वटा इकाइ समितिको सहभागितामा ट्राफिकचोकबाट झाँकीसहित बृहत र्‍याली निकालेर बेसक्याम्स पुग्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment