Comments Add Comment

असारसम्म सुन्दरीजलमा मेलम्चीको पानी खस्ने दाबी

१४ पुस, काठमाडौं । मेलम्चीे खानेपानी आयोजनाको पानी आगामी असार मसान्तसम्ममा सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा खस्ने दाबी गरिएको छ । संसदीय समितिमा आयोजित छलफलमा आयोजनाका प्रमुख तिरेशप्रसाद खत्रीले सो दाबी गरेका हुन् ।

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समिति बैठकमा खत्रीले सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार नै मेलम्चीको पानी काठमाडौंमा ल्याउने बताए । त्यसका लागि आयोजनाले द्रुत रुपमा काम गरिरहेको उनको भनाइ छ ।

‘आयोजनामा ९५ प्रतिशभन्दा बढी काम सकिएको छ,’ खत्रीले भने, ‘नयाँ ठेकेदारहरुले फिल्डमा राम्रोसँग काम गरिरहेका छन्, सुरुङका गेटहरु जोड्ने काम सुरु भएको छ ।’

यो आयोजनालाई सरकारले चालु आर्थिक वर्षमा ७ अर्ब ३८ करोड रुपैयाँ बजेट दिएको छ । आयोजनाले नदी नियन्त्रणका लागि ग्याबियन जाली लगाउने कंक्रिटिङ गर्ने काम सकिएको बताएको छ । हेडवक्र्स नबनुञ्जेल सुरुङमा सिधा पानी हाल्न ६० मिटरको पाइप डाइभर्सन निर्माण भइसकेको खत्रीले जानकारी दिए ।

डाइभर्सन सुरुङको इनलेट, आउटलेट तथा वासआउट गेटहरु जोडिएको छ । करिब १७ करोड लिटर प्रशोधन गर्ने दुईवटा प्लान्टको निर्माण भइसकेको र त्यसमध्ये एउटाको परीक्षण पनि भइसकेको छ । सुरुङमा फाइनल सपोर्ट दिने काम भइरहेको छ ।

आयोजनाले चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई समय आगावै काम सकेमा दिनको ०.०१५ प्रतिशत प्रोत्साहन भत्ता दिने गरी खरिद सम्झौता गरेको थियो ।

छिटो काम सकेमा बाँकी दिनको गणना गरेर प्रतिदिन ठेक्का रकमको ०.०१५ प्रतिशत प्रोत्साहन भत्ता दिइने छ । यदि काममा ढिलाइ भए सिनोले पनि ढिला भएको दिनको गणना गरेर प्रतिदिन त्यत्तिकै दरले जरिवाना तिर्नुपर्ने हुन्छ ।

इटालियन कम्पनी सीएमसी भागेपछि आयोजनाको बाँकी काम सम्पन्न गर्न चिनियाँ कम्पनी सिनो हाइड्रोले ठेक्का पाएको थियो । यो कम्पनी हाल माथिल्लो तामाकोसीको सिभिलतर्फको ठेकदार पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment