Comments Add Comment

प्रदेश सभा २ को बैठक आज पनि अवरुद्ध

१४ पुस, जनकपुरधाम  । डेढ महिनापछि बसेको प्रदेश सभा २ को बैठक प्रतिपक्षी दलका सांसदहरूले अवरुद्ध पारेका छन् ।

सोमबार दिउँसो २ बजे बोलाइएको प्रदेश सभाको बैठक सुरु भएको केही बेरमै प्रतिपक्षी तथा एक जना सत्तारूढ दलका सांसदले अवरुद्ध गरेका हुन् ।

संसदीय विकास कोषको योजनामा काम गरेका उपभोक्ता समितिहरुको बक्यौता रकम भुक्तानीको माग गर्दै संसद बैठक अवरुद्ध गरिएको प्रतिपक्षी सांसदहरुले बताएका छन् ।

कांग्रेस प्रमुख सचेतक उपेन्द्र कुशवाहाले भुक्तानी सम्बन्धमा सरकारले जवाफ नदिएकाले संसद अवरुद्ध गर्ने घोषणा गरेसँगै कांग्रेस र नेकपा सांसदहरु उठेर बैठक अवरुद्ध गरेका थिए ।

विपक्षी सांसदहरुले बैठक अवरुद्ध गरे लगत्तै राजपा सांसद उपेन्द्र महतोले समेत समर्थन जनाएका थिए ।

‘सरकार अल्पज्ञानी छ, या त नियतवश सांसदहरुको भुक्तानी रोकेको छ’ बैठक अवरुद्वमा सहभागी हुँदै राजपा सांसद महतोले भने, “अब भुक्तानी नपाएका पीडितहरुले मन्त्रीहरुलाई कालो झण्डा देखाउँछन् । बिरोध प्रदर्शन गर्छन् ।”

उनले आफूहरुलाई पनि बाध्यतावश त्यही बिरोध कार्यक्रममा सहभागी हुनु परेको बताए ।

यसअघि कात्तिक २९ गते बसेको प्रदेश सभाको बैठक डेढ महिनापछि बसेको थियो । तर बैठक झण्डै ४० मिनेटजति बसेपछि सांसदहरुले अवरुद्ध गरेका थिए ।

सांसदहरुले बैठक अवरुद्ध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो । स्थगित भएको बैठक पुनः बस्ने तयारी गर्दा पनि सहमति हुन नसक्दा मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मंगलबारको बैठकमा मुख्यमन्त्री लालबाबु राउत आएर रकम निकासा हुन नसकेको सन्दर्भमा जवाफ पेश गर्ने कार्यक्रम तय गरिएको छ । विपक्षी सांसदहरुले सरकारको जवाफ नआएसम्म बैठक चल्न नदिने चेतावनी दिएका छन् ।

सांसदहरुले भने : प्रदेशलाई सरकारले नै बदनाम गरायो

झण्डै ४० मिनेट बसेको प्रदेशसभा बैठकमा चार जना सांसदले बोलेका छन् । उनीहरुले सरकारकै कारण प्रदेश २ बदनाम भएको बताए । ‘सरकारले नै प्रदेशलाई हाँस्यास्पद बनाएका छन्’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद शत्रुद्यन महतोले भने, “रकम निकासा नदिएर प्रदेशमा भ्रष्टाचार भएको प्रमाणित गराउन खोजेको छ ?”

राम्रो काम गरेकालाई प्रोत्साहन दिनुको सट्टा सरकारले सांसदहरुको बेइज्जति गराइरहेको उनले बताए ।

कांग्रेस सांसद शिवचन्द्र मिश्रले पनि प्रदेश बदनाम भइसकेको बताए । तथापी सरकार गम्भीर बन्न नसकेको उनको भनाइ थियो ।

नेकपाका अर्का सांसद रामचन्द्र मण्डलले मुख्यमन्त्रीले तीन पटक प्रतिवद्वता व्यक्त गरिसक्दा समेत रकम निकासा नगरेको बताउँदै भने, “अब कुन आधारमा सरकारप्रति विश्वास गर्नु ?”

मन्त्रीहरुसँग रकम निकासाको सन्दर्भमा कुरा गर्दा सचिवले नदिएको भनेर गुनासो सुनाएको बताउँदै मण्डलले संसदले निर्णय गरेर दिएको कुरा नमान्ने सचिवको यहाँ केही काम नभएको प्रतिक्रिया दिए । ‘के सचिवहरु संसदभन्दा माथिल्लो तहका छन् ?’ उनले भने, “यदी छन् भने यस्तो सचिव हामीलाई चाहिँदैन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment