Comments Add Comment

मंगलबार र बुधबार सबै सरकारी निकायमा दीपावली गर्न सर्कुलर

१४ पुस, काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष २०२० को उद्घाटन र त्यसको अघिल्लो दिन सबै सरकारी निकायमा दीपावली गर्न पत्राचार गरेको छ । ८ पुसको सचिवस्तरीय निर्णयअनुसार मन्त्रालयले पुस १५ र १६ मा दीपावली गर्न निर्देशन दिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत सम्पूर्ण स्थानीय तहलाई पर्यटन मन्त्रालयको निर्णय पठाउँदै आफ्नो मातहतका निकायमा दीपावली गर्न आग्रह गरेको छ । त्यसो त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले देशभर नै दीपावली गर्न आग्रह गर्दै आएका छन् ।

भ्रमण वर्षको उद्घाटन १ जनवरी (बुधवार) मा दशरथ रंगशालामा हुँदैछ । सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको हो ।

भ्रमण वर्षका सन्दर्भमा २९ कात्तिकको मन्त्रिपरिषद् बैठकले सार्वजनिक निकायहरुका लागि ७ बुँदे निर्देशन जारी गरेको थियो । निर्देशनअनुसार पर्यटकको आवागमन बढी हुने प्रमुख पर्यटकीय गन्तब्यलगायत राष्ट्रिय राजमार्गका सडक तत्काल मर्मतको व्यवस्थापनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जिम्मेवारी तोकिएको थियो ।

नेपाल सरकारका मन्त्रालय एवम् विभाग, सांर्वजनिक संस्थानलगायत सबै सार्वजनिक निकायबाट भ्रमण वर्ष २०२० लाई राष्ट्रिय अभियानका रुपमा अपनत्व लिने निर्णय मन्त्रीपरिषद्ले गरेको थियो । यस्ता निकायका वेवसाइटलगायत अन्य आधिकारिक सामाजिक सञ्जालमा नेपाल भ्रमण वर्षको लोगो राख्ने र वेवसाइटमा नेपाल भ्रमण वर्ष २०२० सचिवालयको वेवसाइट लिंक गर्ने निर्णय भएको थियो ।

सार्वजनिक निकायले गर्ने पत्राचारमा अनिवार्य रुपमा नेपाल भ्रमण वर्षको लोगो राख्ने र बुलेटिनमा भ्रमण वर्षसम्बन्धी लेख-रचना प्रकाशित गर्ने निर्णय गरिएको छ ।

नेपाल सरकारका मन्त्रालय तथा सार्वजनिक निकायबाट विदेशमा गरिने भ्रमण र प्रतिनिधित्वमा अनिवार्य रुपमा नेपाल भ्रमण वर्ष २०२० को जानकारी गराउनु पर्ने भएको छ ।

वक्तब्य दिने क्रममा समेत नेपाल भ्रमण गर्न अनुरोध गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको थियो । नेपालमा हुने अन्तर्राष्ट्रिय कार्यक्रममा अनिवार्य रुपमा नेपाल भ्रमण वर्षको डेस्क राखी प्रचार सामग्री एवम् उपहार दिने व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ ।

सरकारी एवम् सार्वजनिक निकायका सवारी साधनमा अनिवार्य रुपमा नेपाल भ्रमण वर्ष २०२० को लोगो टाँस्ने व्यवस्था गर्ने निर्णयसमेत मन्त्रिपरिषद्बाट भएको छ ।

नेपालभित्र इन्टरनेट सेवा प्रदायक संस्थाले इन्टरनेट सेवा खुल्दा नेपाल भ्रमण वर्षको लोगो पहिले आउने व्यवस्था मिलाउन सूचना तथा संचार प्रविधि मन्त्रालयलाई निर्देशन दिइएको थियो ।

नेपालमा सञ्चालित सञ्चारमाध्यम, रेडियो, टेलिभिजन र पत्रपत्रिकाबाट नेपाल भ्रमण वर्ष २०२० को प्रचार सामग्री कल्याणकारी कोषबाट उपलब्ध हुने सुविधा अनुरुप प्रकाशन तथा प्रसारणको व्यवस्था मिलाउनसमेत सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment