Comments Add Comment

टोनी हागनको सम्मानमा हुलाक टिकट प्रकाशन

१४ पुस, काठमाडौं । भूगर्भविद् तथा अनुसन्धानकर्ता टोनी हागनको सम्मानमा हुलाक टिकट प्रकाशन भएको छ । फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालय र टोनी हागन फाउण्डेसनद्वारा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले टिकटमा टाँचा लगाएकी हुन ।

हागनको मुखाकृति अंकित रु. २० दरको टिकट प्रकाशन गरिएको हो । यस्तो टिकट १० लाख प्रति छापिएको हुलाक टिकट व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।

स्वीट्जरल्याण्डमा जन्मेका हागनले खोज र अनुसन्धानमार्फत नेपाललाई विश्व सामु चिनाउन पुर्‍याएको योगदानको कदर गर्दै उनको मुखाकृति अंकित टिकट प्रकाशन गरिएको हो ।

हागनले सन् १९६२ मा ‘नेपाल अ किंङ्गडम इन हिमालय’ पुस्तकमार्फत नेपाललाई विश्वमा परिचित गराएका थिए ।

को हुन टोनी हागन ?

सन् १९१७ मा स्वीट्जरल्याण्डको लुसर्नमा जन्मिएका हागनले इन्जिनियरिङ तथा जिओलोजीमा स्वीस फेडरेसन इन्स्टिच्यूटबाट डिप्लोमा गरेका थिए । उनी स्वीस सहायता कार्यक्रम अन्तर्गत १९५० मा पहिलो पटक नेपाल आएका थिए ।

हागन १९५९ मा युएन अन्तर्गत सर्भे डिपार्टमेन्ट र सन् १९६१ मा अन्तराष्ट्रिय रेडक्रसको चीफ डेलिगेट बने ।

टोनी हागन फाउन्डेसनका अनुसार हागनले नेपालको १४ हजार किलोमिटर पैदल यात्रा तय गरेका छन् । त्यसक्रममा उनले नेपाली भूगर्भको साथै सामाजिक तथा आर्थिक परिवेशको समेत अध्ययन गरेका थिए ।

हागनले हिमाली यात्रालाई समेटेर पुरानो नेपाल वृत्तचित्र निर्माण गरेका छन् । टोनी हागनले नेपालको विकासबारे आफ्नो दर्शन, अवधारणा र सिद्धान्द्धबारे लेखेका पुस्तक ‘डिसेन्ट्रलाईजेसन एण्ड डेभलपमेन्ट’ अंग्रेजी र नेपालीमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment