Comments Add Comment

किसानलाई पैसा नतिर्ने चिनी उद्योगी सरकारको सम्पर्कमा

१५ पुस, काठमाडौं । चिनी उद्योगीहरुले किसानको उखु खरिदको बक्यौता रकम फिर्ता गर्न प्रतिवद्धता जनाएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सम्पर्क बाहिर रहेका उखु उद्योगी सम्पर्कमा आएका र किसानको रकम फिर्ता गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए ।

मंगलबार संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले यसअघि सम्पर्कबाहिर रहेका चिनी उद्योगी वीरेन्द्र कनोडिया र राजेश अग्रवाल मन्त्रालयको सम्पर्कमा आएको जानकारी दिए ।

कनोडियाले आफू किसानको बक्यौता तिर्ने र उद्योग पनि सञ्चालन गर्ने भन्दै केही समय मागेका मन्त्री भट्टले बताए । मन्त्रालयले लिखित प्रतिवद्धता गर्ने तयारी गरेको उनले बताए ।

त्यस्तै सम्पर्कबाहिर रहेका अर्का उद्योगी राजेश अग्रवाल पनि गृह मन्त्रालयमार्फत सम्पर्कमा आएका मन्त्री भट्टले बताए । गृह मन्त्रालयले मंगलबार नै उद्योगी अग्रवाललाई खोजी गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।

उद्योगी सम्पर्कमा आएको र किसानको रकम फिर्ता गर्ने प्रतिवद्धता जनाएको मन्त्री भट्टको भनाइ छ ।

सर्लाहीलगायतका जिल्लाका उखु किसानले उद्योगीसँग रकम उठाइदिन माग गर्दै काठमाडौंमा दिनहुँ प्रदर्शन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment