+

तिहार : प्रकृति, अन्न, आरोग्य र समृद्धिको महापर्व

२०८३ कात्तिक  २४ गते ११:११ २०८३ कात्तिक २४ गते ११:११
तिहार : प्रकृति, अन्न, आरोग्य र समृद्धिको महापर्व

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तिहारलाई शारदीय नवसस्येष्टिका रूपमा हेर्दा यसले नयाँ अन्न, प्रकृतिप्रतिको कृतज्ञता, पशुपक्षीप्रतिको सम्मान र आरोग्यको सन्देश दिन्छ।

नेपाली संस्कृतिमा प्रत्येक चाडपर्वको आफ्नै मौलिक महत्त्व, दर्शन र जीवनोपयोगी सन्देश रहेको छ । हाम्रा चाडपर्वहरू केवल धार्मिक आस्था र परम्परामा मात्र सीमित छैनन्, तिनको सम्बन्ध प्रकृति, कृषि, ऋतुचक्र, स्वास्थ्य, सामाजिक सद्‍भाव र मानवीय सम्बन्धसँग पनि गहिरोसँग गाँसिएको छ ।

तिहार अर्थात् दीपावलीलाई शारदीय नवसस्येष्टिको भावबाट हेर्दा यो केवल घरआँगनमा दीप प्रज्वलन गर्ने, धनसम्पत्तिको कामना गर्ने र उत्सव मनाउने पर्व मात्र होइन । यो नयाँ अन्नको आगमन, प्रकृतिप्रतिको कृतज्ञता, पशुपक्षीप्रतिको सम्मान तथा जीवनमा आरोग्य र समृद्धिको सङ्कल्प गर्ने विशेष अवसर पनि हो ।

प्रकृति र प्राणीप्रतिको सम्मान

तिहार शरद ऋतुमा पर्ने नेपालीहरूको दोस्रो ठूलो चाड हो । यसलाई यमपञ्चकका रूपमा पाँच दिनसम्म विशेष उल्लासका साथ मनाइन्छ । काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गाई तिहार, गोवर्धन पूजा अर्थात् गोरु तिहार र अन्तिम दिन भाइटीकाका रूपमा मनाइने यस पर्वका प्रत्येक दिनले आ–आफ्नै विशिष्ट सन्देश बोकेका छन् ।

विश्वका विभिन्न संस्कृतिमा पशुपक्षीको महत्त्व स्वीकार गरिएको पाइन्छ । तर नेपाली संस्कृतिमा काग, कुकुर, गाई र गोरुजस्ता जीवजन्तुलाई छुट्टाछुट्टै दिन सम्मान र पूजा गर्ने परम्परा आफैँमा अत्यन्त सुन्दर र अनुपम छ । कागलाई शुभसूचक सन्देशवाहकका रूपमा लिइन्छ । घरआँगनमा काग आएर कराउँदा वा बसेको देख्दा शुभ समाचार आउने विश्वासका साथ ‘सुबोल’ भन्ने चलन हाम्रो समाजमा अझै जीवित छ ।

कुकुरलाई भैरवको वाहनका रूपमा मात्र होइन, मानिसको सबैभन्दा इमानदार, विश्वासिलो र सुरक्षामा सहयोग गर्ने साथीका रूपमा पनि सम्मान गरिन्छ । मानिससँगको यसको आत्मीय सम्बन्ध, घरको सुरक्षामा पुर्‍याउने योगदान र अटुट निष्ठालाई स्मरण गर्दै कुकुर तिहारका दिन यसको पूजा गरिन्छ ।

गाई र गोरुको महत्त्व त झन् हाम्रो कृषि र ग्रामीण जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको छ । गाईबाट प्राप्त हुने दूध, दही, घिउ, गोबर र गोमूत्र परम्परागत कृषि तथा आयुर्वेदिक जीवनपद्धतिमा विभिन्न प्रयोजनका लागि प्रयोग हुँदै आएका छन् । गोरु खेत जोत्न, अन्न उत्पादन गर्न र कृषि कर्ममा किसानको भरपर्दो सहयात्रीका रूपमा रहँदै आएको छ ।

त्यसैले यी पशुप्राणीप्रति कृतज्ञता व्यक्त गर्नु हाम्रो सांस्कृतिक चेतनाको सुन्दर पक्ष हो । यी परम्पराले हामीलाई एउटा गहिरो सन्देश दिन्छन्– प्रकृति र प्राणीहरू मानिसका उपयोगका साधन मात्र होइनन्, हाम्रो अस्तित्व र जीवनयात्राका अभिन्न सहयात्री पनि हुन् ।

आयुर्वेद र ऋतुचर्याको दृष्टिमा तिहार

वर्षा ऋतु समाप्त भई शरद ऋतु चलिरहेको र क्रमशः हेमन्त ऋतुको आगमन हुँदै गरेको यो समय आयुर्वेदका दृष्टिले पनि विशेष महत्त्वपूर्ण छ । कार्तिक कृष्ण त्रयोदशीका दिन आयुर्वेदका देवता मानिने भगवान् धन्वन्तरिको जन्मोत्सव मनाइन्छ ।

धन्वन्तरिलाई औषधि र आयुर्वेदीय चिकित्सा पद्धतिका प्रवर्तक मानिन्छ । त्यसैले यस दिन उहाँको पूजा गरिन्छ । नेपालमा यसलाई आरोग्यता दिवसका रूपमा पनि मनाउने चलन छ । यसको उद्देश्य केवल धार्मिक आस्था अभिव्यक्त गर्नु मात्र होइन, स्वस्थ जीवनशैली, रोगबाट बच्ने उपाय र आयुर्वेदीय स्वास्थ्य सेवाको प्रचारप्रसार गर्नु पनि हो ।

ऋतु परिवर्तनसँगै शरीरको अग्नि, दोष, पाचनशक्ति र आहारविहारमा परिवर्तन आउँछ । त्यसैले यस समयमा चाडपर्वको रमझममा रमाउनु मात्र पर्याप्त हुँदैन । आफ्नो प्रकृति, पाचनशक्ति र ऋतु अनुकूल आहार तथा विहार अपनाउनु पनि उत्तिकै आवश्यक हुन्छ । आयुर्वेदले भोजनलाई केवल पेट भर्ने माध्यमका रूपमा हेर्दैन ।

भोजन शरीरको पोषण, बल, वर्ण, ओज र स्वास्थ्यको आधार हो । हाम्रो परम्परामा अन्नलाई ब्रह्म मानिएको छ । किसानको अथक परिश्रम, माटोको उर्वराशक्ति, वर्षाको पानी, सूर्यको प्रकाश र अनुकूल ऋतुचक्रको परिणामस्वरूप प्राप्त हुने नयाँ अन्न प्रकृतिको अमूल्य उपहार हो । त्यसैले नयाँ अन्नको आगमनसँगै मनाइने यस पर्वले अन्नदाता किसान, प्रकृति र अन्नप्रतिको सम्मान तथा कृतज्ञताको भावसमेत अभिव्यक्त गर्दछ ।

म्हः पूजा : आत्मसम्मानको उत्सव

तिहारको समयमा नेवार समुदायले मनाउने अर्को अत्यन्त मौलिक, सुन्दर र दार्शनिक महत्त्व बोकेको पर्व हो— म्हः पूजा । नेपाल संवत्को नयाँ वर्ष अर्थात् कछलाथ्व प्रतिपदाका दिन मनाइने यस पर्वमा मानिसले आफ्नै शरीर तथा आत्माको पूजा गर्ने परम्परा छ । म्हः पूजाको मूल भाव आफैँभित्र रहेको चेतना, जीवन र अस्तित्वप्रतिको सम्मान हो ।

यस दिन परिवारका सदस्यहरूका लागि छुट्टाछुट्टै मण्डप बनाएर पूजा गरिन्छ । मण्डपमा विभिन्न रङका सामग्री, फूल, फलफूल, बत्ती र अन्य पूजासामग्री सजाएर आफ्नो शरीरलाई शुद्ध, पवित्र र सम्मानयोग्य मानी पूजा गर्ने गरिन्छ ।

यस परम्परालाई पूर्वीय दार्शनिक चिन्तनको प्रसिद्ध महावाक्य ‘अहं ब्रह्मास्मि’ अर्थात् ‘म ब्रह्म हुँ’ भन्ने भावसँग पनि जोडेर बुझ्न सकिन्छ । यसको दार्शनिक आशय मानिसले आफ्नै अस्तित्वभित्र रहेको दिव्य चेतना र महत्त्वलाई पहिचान गर्नु हो ।

हामी प्रायः अरूको सम्मान गर्छौँ, देवीदेवताको पूजा गर्छौँ र अरूको सुख, समृद्धि तथा दीर्घायुको कामना गर्छौँ । तर आफ्नो शरीर, स्वास्थ्य र अस्तित्वप्रति कति सचेत छौँ भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ । म्हः पूजाले हामीलाई आफ्नै शरीर र जीवनको महत्त्व बुझ्न, आत्मसम्मान गर्न र स्वस्थ जीवनप्रति प्रतिबद्ध हुन प्रेरित गर्छ ।

आयुर्वेदले पनि शरीरलाई धर्म, अर्थ, काम र मोक्ष प्राप्तिको आधार मानेको छ । त्यसैले आफ्नो शरीरको संरक्षण, स्वास्थ्यको संवर्द्धन र जीवनप्रतिको सकारात्मक दृष्टिकोण आफैँमा महत्त्वपूर्ण साधना हुन् ।

यसरी म्हः पूजा केवल एउटा धार्मिक विधि मात्र होइन, आत्मसम्मान, आत्मचेतना, शरीरप्रतिको कृतज्ञता र जीवनको उत्सव मनाउने अनुपम सांस्कृतिक परम्परा पनि हो ।

भाइटीका

तिहारको अन्तिम दिन मनाइने भाइटीका दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयताको अनुपम प्रतीक हो । यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको निधारमा सप्तरङ्गी टीका लगाई माला पहिर्‍याएर सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्छन्। दाजुभाइले पनि दिदीबहिनीप्रति प्रेम, सम्मान र संरक्षणको भावना व्यक्त गर्दै उपहार तथा दक्षिणा प्रदान गर्छन् ।

विशेष गरी दुबोझैँ सधैँ हरियो रहून्, जीवन दीर्घायु र सुखमय बनोस् भन्ने कामनाले यस पर्वलाई अझ भावनात्मक र अर्थपूर्ण बनाउँछ । यसले रगतको नातालाई मात्र होइन, पारिवारिक सम्बन्धमा प्रेम, सद्भाव र आपसी जिम्मेवारीको महत्त्वलाई पनि उजागर गर्छ ।

देउसी–भैलोकफो रौनक

तिहारको अर्को आकर्षण देउसी–भैलो हो । घरआँगनमा गीत, सङ्गीत र नाचगानसहित देउसी–भैलो खेल्दा गाउँघर र सहरका गल्लीहरू उल्लासमय बन्छन् । यसले मानिसहरूबीच भेटघाट, आत्मीयता, सहकार्य र सामाजिक सद्भाव बढाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।

यसको अझ सुन्दर पक्ष के छ भने देउसी–भैलोबाट सङ्कलित रकम धेरै समूह तथा संस्थाहरूले सामाजिक कार्यमा उपयोग गर्ने गरेका छन् । कतै विद्यालयलाई सहयोग गरिन्छ, कतै असहाय तथा विपन्न व्यक्तिहरूलाई राहत प्रदान गरिन्छ भने कतै सार्वजनिक तथा सामुदायिक विकासका काम गरिन्छन् । कतिपयले सामूहिक वनभोज तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउँछन् ।

यसरी तिहार मनोरञ्जनको माध्यम मात्र नभई सामुदायिक एकता, सहयोग र सामाजिक उत्तरदायित्व अभिव्यक्त गर्ने अवसर पनि बनेको छ ।

मनोरञ्जनको सीमा

तिहारका समयमा मनोरञ्जनका नाममा जुवातास खेल्ने चलन पनि हाम्रो समाजमा देखिन्छ । साथीभाइ तथा परिवारका सदस्यहरूबीच सामान्य मनोरञ्जनका रूपमा सुरु हुने यस्तो गतिविधि कहिलेकाहीँ आफ्नो आर्थिक क्षमताभन्दा बाहिर पुग्ने गरेको पाइन्छ ।

हारजितको मोहमा परेर ठूलो धनराशि दाउमा लगाउने, ऋण लिने र आफ्नो आर्थिक हैसियत बिर्सेर जुवातासमा संलग्न हुने प्रवृत्तिले कतिपय परिवारमा गम्भीर समस्या निम्त्याएको सुनिन्छ । कतिपय अवस्थामा घरजग्गा तथा जीवनभरको कमाइ गुमाउनुका साथै पारिवारिक सम्बन्धसमेत बिग्रिएका दुःखद घटना समाजमा देख्न र सुन्न पाइन्छ ।

चाडपर्वको वास्तविक उद्देश्य खुसी बाँड्नु, आत्मीयता बढाउनु र परिवारसँग रमाइलो समय बिताउनु हो, क्षणिक मनोरञ्जनका लागि जीवनभरको कमाइ जोखिममा राख्नु होइन । त्यसैले यस समयमा आफ्नो आर्थिक अवस्था र पारिवारिक जिम्मेवारीलाई ध्यानमा राख्दै अनावश्यक खर्च, देखासिकी र हानिकारक बानीबाट टाढा रहनु आवश्यक छ ।

उत्सव मनाऔँ, तर आफ्नो क्षमताभित्र रहेर; रमाइलो गरौँ, तर परिवारको सुख, शान्ति र भविष्यलाई दाउमा नराखौँ । किनकि चाडपर्वको वास्तविक समृद्धि महँगा उपहार, ठूलो भोज वा जुवातासमा जितेको धनमा होइन, परिवार र साथीभाइसँग बिताएका सुखद क्षण, आपसी प्रेम, सन्तोष र मनको शान्तिमा निहित हुन्छ ।

अन्त्यमा, घरमा सयौँ दीप प्रज्वलन गर्दैमा मात्र जीवन उज्यालो हुँदैन । जब हाम्रो विचारमा सद्‍भाव, व्यवहारमा विनम्रता, भोजनमा शुद्धता, जीवनशैलीमा अनुशासन र हृदयमा सेवाभाव जागृत हुन्छ, तब मात्र दीपावलीको वास्तविक अर्थ सार्थक हुन्छ ।

(डा. दिपेन देवकोटा शुद्धिग्राम नेपालमा कार्यरत छन्)

आयुर्वेद तिहार
लेखक
डा. दिपेन देवकोटा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय