Comments Add Comment

मुख्यमन्त्री नआएपछि प्रदेश २ मा संसद अवरुद्ध

संंसदबाहिर मुख्यमन्त्रीको राजीनामा माग

१५ पुस, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाको बैठक मंगलबार लगातार दोस्रो दिन पनि सांसदहरुले अवरुद्व गरेका छन् । प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका सांसदले दोस्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्व गरेका हुन् ।

गत आर्थिक बर्षमा सञ्चालन गरिएका योजनाको भुक्तानी नदिएको भन्दै सांसदहरुले पछिल्लो केही महिना यता संसद बैठक अवरुद्व गर्दै आएका छन् ।

मंगलबार सांसदहरुले भित्र प्रदेशसभा बैठक अवरुद्व गरिरहँदा बाहिर उपभोक्ता समितिका पदाधिकारीहरुले प्रदेश सरकारबिरुद्व चर्काे नाराबाजी गरेका छन् ।

यसअघि सोमबारको बैठक अवरुद्व गरेपछि मुख्यमन्त्री लालबाबु राउत आएर जवाफ दिनेगरी मंगलबारको बैठक आह्वान गरिएको थियो । तर मुख्यमन्त्री नआएपछि सांसदहरुले बैठक अवरुद्व गरेका हुन् ।

मंगलबारको बैठक शुरु हुनासाथ नेकपा सांसद शत्रुधन महतोले मुख्यमन्त्री आएर जवाफ नदिएका कारण बैठक अवरुद्व गर्ने घोषणा गरे । लगत्तै नेकपा र कांग्रेसका सांसदका साथै सत्तारुढ राजपाका सांसद उपेन्द्र महतो समेत उठेका थिए ।

सांसद महतोले गत बर्ष सम्पन्न योजनाहरुको भुक्तानी, जनता आवास योजनाको कार्यविधि र सशर्त अनुदानको बिषयमा मुख्यमन्त्री संसदमा आएर प्रष्ट नगरेसम्म बैठक अवरुद्व गरिरहने बताए ।

उनले गत बर्ष सम्पन्न भएका योजनाको भुक्तानी नगरेर प्रदेशमा भ्रष्टाचार भइरहेको प्रमाणित सरकारले गराउन खोजेको आरोप लगाए ।

चालू आर्थिक बर्षको ६ महिना बितिसक्दासमेत योजना सञ्चालनको कार्यविधि नबनेको, सरकारले नै हरेक निर्वाचन क्षेत्रमा जनता आवास कार्यक्रम सञ्चालन गर्ने जनाए पनि पूरा नगरेकाले यी बिषयहरुमा मुख्यमन्त्रीले प्रष्ट पार्नुपर्ने बताए ।

यस्तै स–शर्त अनुदानको रकम व्यक्तिगत रुपमा बाँडेर दुरुपयोग गरिएको भन्दै उनले ती अनुदानमा प्रदेश सांसदको भूमिकाबारे छलफल गर्न माग गरे ।

प्रदेशसभा बाहिर सरकारबिरुद्व नाराबाजी

प्रदेशसभाभित्र सांसदहरुले भुक्तानी नदिएको भन्दै संसद बैठक अवरुद्व गरिरहँदा बाहिर भुक्तानी नपाएका उपभोक्ता समितिका पदाधिकारीले सरकारबिरुद्व चर्काे नाराबाजी गरेका छन् ।

योजना सम्पन्न गरे पनि भुक्तानी पाउन नसकेका धनुषा र महोत्तरीका उपभोक्ता समितिका पदाधिकारीहरुले ‘असफल मुख्यमन्त्री मुर्दावाद, प्रदेश सरकार मुर्दावाद, काम गरिएका रकमको भुक्तानी देऊ’ सहितका नारा लगाएका थिए ।

उनीहरुले प्रदेशका मुख्यमन्त्री राउतसहित आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्रकुमार यादव, आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवविरुद्ध नाराबाजी गरेका थिए ।

प्लेकार्डसहित प्रदर्शनमा उत्रेका उपभोक्ता पदाधिकारीले ऋण लिएर काम गरेपनि लामो समयसम्म भुक्तानी नपाउँदा समस्यामा परेको बताएका थिए । महोत्तरी सदरमुकाम जलेश्वर ८ मा ३ सय ५० मिटर सडक ढलान गर्ने उपभोक्ता समितिका सदस्य रोशन ठाकुरले ५० लाख रुपैयाँको काम गरे पनि भुक्तानी पाउन नसकेको बताए ।

महोत्तरी र धनुषाका झण्डै दुई दर्जन पदाधिकारी प्रदेशसभा बैठक बाहिर आएर प्रदर्शन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment