Comments Add Comment

इन्द्रसरोबरमा प्याराग्लाइडिङको परीक्षण

१५ पुस, हेटौंडा । प्रदेश ३ सरकारले मकवानपुरको पर्यटकीय गन्तव्य इन्द्रसरोबरमा प्याराग्लाइडिङको परीक्षण गर्दै अंग्रेजी नयाँ वर्षसँगै पर्यटन वर्ष २०२० को स्वागत गरेको छ ।

मानवनिर्मित इन्द्रसरोबर जलाशय किनारमा पर्यटन वर्षमा ब्यवसायीक उडान गर्नेगरी मंगलबार प्याराग्लाइडिङको परीक्षण गरिएको हो । प्याराग्लाइडिङ उडाउने विशाल लामा र पोखराका पवन शर्मा, नारायणप्रसाद तिवारी र दावा शेर्पालाई प्रदेश ३ का उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री अरुण नेपालले माला लगाएर स्वागत गरेका थिए ।

इन्द्रसरोबर किनारबाट करिब पाँचसय मिटर उचाइमा रहेको गुम्बा डाँडाबाट प्याराग्लाइडिङ उडान उपयुक्त रहेको प्याराग्लाइडर विशाल लामाले बताए । ‘उपयुक्त ठाउँ छ, करिब आधा घण्टा आकाशमा उडेर यस क्षेत्रका मनोरम दृष्यावलोकन गर्न सकिन्छ’, उनले भने ।

पर्यटन वर्ष लक्षित गरी आवश्यक प्रक्रिया पुरा गरेर प्याराग्लाइडिङको ब्यवसायीक उडान गर्ने गाउँपालिका अध्यक्ष जीवन लामाले बताए । ‘हामीले पर्यटन पर्वको मुख्य आकर्षणको रुपमा इन्द्रसरोबर जलाशयमा मोटरबोटसँगै प्याराग्लाइडिङ थप गर्छौंं’, उनले भने, ‘राजधानीबाट नजिक रहेको यस ठाउँमा कम्तिमा २ दिन घुम्न र रामाइलो गर्न सक्ने पूर्वाधार विकास गर्दैछौं ।’

इन्द्रसरोबर प्रदेश ३ सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को उत्कृष्ट पर्यटकीय गन्तब्य हो । इन्द्रसरोबर बीच तालमा रहेको टापुमा हिन्दु र बौद्ध धर्मावलम्बीहरुको धार्मिक गन्तब्य निर्माण गर्न प्रदेश सरकारले डीपीआर तयार गरिरहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले बताए । ‘पोखरापछिको उत्कृष्ट गन्तब्य इन्द्रसरोबर बन्नसक्छ’, उनले भने, ‘त्यसको लागि बृहत्त योजना सहित पूर्वाधार विकासमा प्रदेश सरकारले काम गरिरहेको छ ।’

डुङ्गा ब्यवसायी संघ इन्द्रसरोरको तथ्याङ्क अनुसार एक सातामा करिब २ हजार आन्तरिक र बाह्य पर्यटकले इन्द्रसरोबर तालमा डुङ्गा चढेर रमाउने गरेका छन् । पर्यटन वर्षलाई लक्षित गरी यस क्षेत्रमा एक दर्जन नयाँ होटल पनि थपिएको र केही बन्ने क्रममा रहेको इन्द्रसरोबर गाउँपालिकाकी उपाध्यक्ष उमा लामाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment