Comments Add Comment

प्रचण्डको सर्कुलर अलपत्र, सामाजिक सञ्जालमा नेताको दोहोरी

अनुशासन आयोगका अध्यक्ष भन्छन्-चिन्तामात्रै व्यक्त गर्न सक्छौं

१६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य भीम रावल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं प्रचार बिभाग उपप्रमुख सूर्य थापाबीच सामाजिक सञ्जालमै आरोप प्रत्यारोप चलेपछि कार्यकर्ताले भदौ १३ को अन्तरपार्टी निर्देशन सम्झाएका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले १३ भदौमा जारी गरेको अन्तरपार्टी विशेष निर्देशनको बुँदा नम्बर (च) मा पार्टीका सबै तहका नेता कार्यकर्ता तथा सदस्यहरुलाई पार्टी नीति एवंम नेतृत्वका सम्बन्धमा सार्वजनिक रुपमा बिरोध वा आलोचना नगर्न निर्देशित गरिएको थियो ।

सो बुँदामा भनिएको छ, पार्टीको नीति एवं नेतृत्वका विरुद्धमा लेख्ने, बोल्ने वा गतिविधि गर्नेहरुप्रति पार्टी विधान बमोजिम स्पष्टिकरण सोध्ने, कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।’

नेकपाको सचिवालय बैठकले गरेको सो निर्णयमा पार्टीका सबै तहका नेता कार्यकर्तालाई अहसमति, आलोचना वा विरोध भएमा पार्टी विधानको व्यवस्था बमोजिम प्रस्तुत हुन, अन्तरपार्टी जनवादको परापुर उपभोग गर्न भनिएको छ ।

तर सो निर्णय र अन्तरपार्टी निर्देशन कसैबाट पालना नभएको भन्दै नेकपा कार्यकर्ताले ‘अनुशासनको कारबाही कोबाट शुरु हुने ?’ भनि प्रश्न उठाएका छन् ।

रावल र थापाको जुहारी

नेकपामा पछिल्लो समय नेता रावल र थापाबीच सामाजिक सञ्जालमा जुहारी चलिरहेको छ ।

नेकपा स्थायी कमिटी बैठक चलिरहेका बेला नेता रावलले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा प्रश्न उठाएका थिए । र, त्यसबारे भएको निर्णय सञ्चारकर्मीलाई सुनाएका थिए । नेकपा प्रचार विभागका उपप्रमुख थापाले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ हुँदाहुँदै रावलले मिडियालाई ब्रिफिङ गरेकोमा आपत्ति जनाए ।

त्यसको जवाफमा रावलले प्रधानमन्त्रीको सल्लाहकार भएपछि थापाले पार्टी अध्यक्ष भए झैं गरी आदेश निर्देशन गर्ने अधिकार र हैसियत प्राप्त गरेको भ्रम परेको टिप्पणी गरे ।

थापाले  सोमबार रावलको पुराना कविता ‘लिम्पियाधुरा’ र बालुवाटारप्रति व्यंग्य गर्दै हालै स्थायी कमिटीमा सुनाइएको ‘धुँवाले छोपिँदै दियो’ भन्ने कविता तुलना गर्दै एक्लो वृहस्पति बन्ने बाटोमा हिँडेको आरोप लगाए । थापाले लामो स्टाटसमा लेखेका छन्, ‘तपाईंको आजको बोली, धारणा र अभिव्यक्ति नेकपाको संस्थागत निर्णय, धारणा र निर्देशन कदापि होइन र मान्न सकिँदैन । कमसेकम आफूले टेकेको धर्ती र आफ्नो टाउकोले खामेको आकाशमात्रै थाम्न खोज्नु उचित होला ।’

रावलले त्यसको पनि जवाफ दिएका छन् र थापाले एक्लो वृहस्पति हुन लागेको भनेर पार्टी कार्यकर्ता तथा देशभक्त नेपाली जनतालाई धम्की दिएको भन्दै त्यसबाट पात पनि नझर्ने टिप्पणी गरेका छन् ।

उनले सूर्य थापामाथि बर्दियामा बामदेव गौतम हराउन केन्द्रीय कार्यालयमा बसेर षडयन्त्र गरेकोसमेत बताएका छन् । रावल लेख्छन्, ‘सल्लाहकारको सल्लाह भए २०३२ सालमा झ्यालखानादेखि तत्कालीन नेकपा एमालेमा देखे भोगेका कुरा र गुटबन्दीका पत्रपत्रहरु लगायतका तथ्यहरुमा बहस गरौंला । यद्यपि सरकार चलाउनुपर्नेले गुट चलाउन थालेमा, सल्लाहकारबाट धेरै अपेक्षा गर्नु शायद उचित पर्दैन होला ।’

रावलले देशलाई नयाँ रंगको निरंकुशतन्त्रतर्फ धकेल्न खोजिएको आशंकासमेत गरेका छन् ।

त्यसअघि सोमबारमात्र नेकपा सचिवालय बैठकले प्रदेश ३ को राजधानी र नामबारे गरेको निर्णयको भिडियो समाचार शेयर गर्दै रावलले ‘यसमा सहप्रवक्ताको टिप्पणी खै त ?’ भनी थापातिर व्यंग्य गरेका थिए ।

त्यो दिन बैठकको निर्णयबारे प्रवक्ता नारायणकाजीले नभई झलनाथ खनालले मिडियालाई जानकारी दिएका थिए ।

रावल र थापाको जुहारीमा पछिल्लो पटक सञ्चारमन्त्री गोकुल बास्कोटा पनि सहभागी भएका छन् । एक कार्यक्रममा सहभागी हुन धनगढी पुगेका उनले आफ्नै जिल्लामा छाउपडी हटाउन नसक्नेले ठूलो कुरा गरेको भन्दै रावलप्रति व्यंग्य गरेका थिए ।

त्यसको जवाफ भने रावल निकट अछामकै राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवरले दिएका छन् । कुँवरले फेसबुकमा लेखेका छन्, ‘बिचरालाई के थाहा कुरिता कुप्रथा अन्त्य गर्न धेरै प्रयासपछि अहिलेको अवस्था आएको हो । फटाइ गर्न कता पुगेछन्, आफ्नो जिल्लामा चेलिबेटी र किड्नी बिक्री गर्न बन्दको प्रयास गर्दा हुन्थ्यो नि मन्त्री महोदय ।’

अनुशासन आयोग नै अलपत्र

नेकपाका नेता कार्यकर्ताबीच आरोप प्रत्यारोप नयाँ भने होइन । पार्टी सचिवालयको निर्णय र सर्कुलरपछि अनुशासन पालन सम्बन्धी सो विशेष निर्देशन कुनै पनि तहबाट पालना नभएको अनुशासन आयोगका अध्यक्ष अमृत बोहोराले बताए । आयोगले अझै पूर्णतासमेत नपाएकाले चिन्ता व्यक्त गर्नुबाहेक अरु केही गर्न नसकिने उनले प्रतिक्रिया दिए ।

बोहोराले भने, ‘हामीले पनि चिन्ता व्यक्त गर्नेमात्र हो । सर्कुलर जारी गर्ने कमिटीमा बसेका नेताले आफैं कति पालना गर्नुभयो त्यो पनि प्रश्न छ । बैठकहरु सुचारु र नियमित गरिदिए धेरै आलोचना तथा वादविवादहरु आआफ्ना कमिटीमै हुन्थे, यसरी छरपस्ट हुने थिएनन् । अर्को कुरा त आलोचनालाई निषेध गर्नु पनि हुँदैन ।’

अनुशासन आयोगको अध्यक्ष र सचिव चयन भए पनि सदस्य चयन बाँकी छन् । आयोगले पूर्णता पाएमा अनुशासन पालना गराउने र कारबाही गर्ने सन्दर्भमा वैधानिक व्यवस्था लागु गर्न सकिने बोहोराले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment