News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टीले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ र कार्यालयमा सादा पोशाकको छापा निन्दनीय भन्दै तत्काल रिहाइको माग गरेको छ।
- शुक्रबार विश्वमणी सुवेदी, शोभराज बराल र धिरज बस्नेत पक्राउ परेका छन् भने नयाँ पत्रिकाको कार्यालयमा पनि प्रहरीले पुगेर नवराज मैनालीलाई साइबर ब्यूरो लैजाने भनेको छ।
- नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षले पत्रकार पक्राउलाई संविधान र प्रेस स्वतन्त्रताको उल्लंघन भन्दै तत्काल रोक्न सरकारलाई आग्रह गरेका छन्।
१३ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले संचारगृहहरूमा प्रहरीले छापा मार्नुलाई निन्दनीय भनेको छ ।
नेकपाका संसदीय दलका प्रमुख सचेतक युवारज दुलालले समाचार लेखेकै आधारमा कार्यकक्षबाट पत्रकारलाई गरिएको पक्राउको विरोध गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पत्रिकाका कार्यालयहरुमा सादा पोशाकमा गरिएको प्रहरीको छापा निन्दनीय छ । स्वतन्त्र पत्रकारितामाथिको यो राज्य आतंक तत्काल बन्द गरियोस् ।’
पत्रकार विश्वमणी सुवेदीलाई शुक्रबार प्रहरीले समाचार कक्षबाट नियन्त्रणमा लिएको छ ।
उनी नेपाल प्रेसमा कार्यरत पत्रकार हुन् । उनलाई नयाँ बानेश्वरस्थित कार्यालयको समाचार कक्षबाट केहीबेरअघि प्रहरीले नियन्त्रणमा लिएको हो ।
शुक्रबार नै नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि प्रहरी पुगेको छ । अपराध अनुसन्धान कार्यालय, टेकुबाट आएको भन्दै पाँच जना प्रहरीहरू सादा पोशाकमा नयाँ पत्रिकाको कार्यालयमा पुगेका छन् ।
नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तका अनुसार, उनीहरूले संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरोमा लैजानुपर्ने भनेका छन् ।
शुक्रबार नै अर्का पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।
डिएनए खबरका पत्रकार धिरज बस्नेत पनि पक्राउ परेका छन् ।
पत्रकारहरू पक्राउ परेको विषय बाहिरिएसँगै नेकपा संसदीय दलका प्रमुख सचेतक दुलालले यसलाई स्वतन्त्र पत्रकारितामाथिको यो राज्य आतंक भनेका हुन् ।
‘सरकार र अन्य सराकारी निकायका उच्च पदस्थका कालाकर्तूत बाहिर ल्याएका कारण यो राज्य–आतंक सिर्जना गरिएकोमा नेपाली नागरिकमा कुनै भ्रम छैन’ उनले भनेका छन्, ‘हामी तत्काल गिरफ्तार पत्रकारको विना शर्त रिहाइको माग गर्दै सन्चारमाध्यम माथिको राज्य–आतंक बन्द गर्न खबरदारी गर्दछौं ।’
बिचलित नभइ स्वतन्त्र, निस्पक्ष र तथ्यपरक समाचार प्रशारण गर्दै अघि बढ्न पनि उनले संचारमाध्यमहरूलाई आग्रह गरेका छन् ।
उनले लेखेका छन्, ‘सरकारको यो रवैयाबाट किन्चित बिचलित नभइ उच्च मनोवलकासाथ स्वतन्त्र, निस्पक्ष र तथ्यपरक समाचार प्रशारण गर्दै अघि बढ्न आमसन्चार माध्यमलाई आग्रह गर्दछौं ।’
यसअघि नेपाल पत्रकार महासंघका पदाधिकारी, महासंघका पूर्व पदाधिकारी तथा सरोकारवालाहरूले समेत यो विषयमा सरकारको आलोचना गरेका छन् ।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल समाचार कक्षबाट पत्रकारलाई नियन्त्रणमा लिने कार्यलाई राज्य आतंकको संज्ञा दिन्छन् ।
‘यो अस्मात राज्य आतंक सुरु भएको देखिएको छ । हरेक समाचार कक्षमा बर्दीधारी प्रहरी गएर समाचार कक्षबाट पत्रकारलाई उठाउने (नियन्त्रणमा) लिने कुरा नेपालको संविधान, प्रेस स्वतन्त्रता र अन्तराष्ट्रिय कानुनहरूको उल्लंघन हो’ महाससिचव दाहाल भन्छन्, ‘यसलाई तत्काल रोक्नुपर्छ । राज्य आतंक नरोकिए यो खेदजन्य कार्यको विरुद्ध आन्दोलित हुनुको विकल्प छैन ।’
प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष डा. कुमार शर्मा आचार्यले समाचार लेखेकै आधारमा पत्रकारहरूलाई पक्राउ गर्नु गैरसंवैधानिक हुने प्रतिक्रिया दिएका छन् ।
वरिष्ठ अधिवक्ता समेत रहेका पूर्वअध्यक्ष मैनालीले संविधानले नै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेकाले समाचार लेखेकै आधारमा पत्रकारहरूलाई पक्राउ गर्न नमिल्ने प्रतिक्रिया दिएका हुन् ।
‘समाचारको विषयवस्तु गलत छ भने सच्याउने प्रक्रिया छन् । त्यतिले नपुगे कारवाही गर्ने छुट्टै संयन्त्र छ,’ आचार्यले भने, ‘तर समाचार लेखेकै आधारमा पक्राउ पक्राउ गर्न मिल्दैन । त्यसो गरियो भने गैरसंवैधानिक काम हुन जान्छ । हाम्रो संविधान र कानुनले त्यस्तो परिकल्पना गरेको छैन ।’
प्रतिक्रिया 4