
१६ पुस, काठमाडौं । भ्रमण वर्ष २०२० को पहिलो दिन नै पर्साको पर्यटकीय स्थल ठोरीमा करिब ४० हजारको संख्यामा भारतीय पर्यटक भित्रिएका छन् ।
अंग्रेजी नयाँ वर्ष २०२० मनाउन भारतीय पर्यटक तराईको ‘मिनी उपत्यका’ को रुपमा चिनिने ठोरी आएका हुन् । भारतको पटना, बेतिया, समस्तीपुर, मुजफ्फरपुर, मोतीहारी, नरकटियागंज आसपासका क्षेत्रका वासिन्दा ठोरी घुम्न र वनभोजका लागि आएका ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले जानकारी दिए ।
अंग्रेजी नयाँ वर्ष मनाउन आउने भारतीय र आन्तरिक पर्यटकलाई अध्यक्ष श्रेष्ठ लगायतका जनप्रतिनिधिले खादा र अबीर लगाएर स्वागत गरेका थिए ।
ठोरी घुम्न आउने भारतीय पर्यटकको संख्या बढ्दै गएको श्रेष्ठले बताए । बुधबार बिहानैदेखि गाडी र मोटरसाइकलमा भारतीय पर्यटक ठोरी आएका थिए ।
नेपालका चितवन, बारा, पर्सा, रौतहटलगायतका जिल्लाका वासिन्दा पनि बुधबार ठोरी घुम्न र वनभोजका लागि आएका थिए ।
हरियाली पहाडले घेरिएको उपत्यका ठोरी तराईको आकर्षक पर्यटकीय गन्तव्य बनेको अध्यक्ष श्रेष्ठ बताउँछन् । यहाँको राईधारा, सेतो पहाड, रातो पहाड, सिनेही पहाड, रानीवन, अमृतधारा, चिसापानी, सीतागुफा, वनशक्ति मन्दिर लगायतका पर्यटकीय क्षेत्रमा पर्यटकको भीड लाग्ने गरेको छ ।
बुधबार ठोरी पुगेका शिक्षक युनियनका प्रदेश नं २ का अध्यक्ष बिनोद चौहानले ठोरी प्रदेश २ कै रमणीय स्थल रहेको प्रतिक्रिया दिए । ठोरीमा दैनिक पाँच सयदेखि एक हजारको संख्यामा भारतीय पर्यटक आउने स्थानीय होटल व्यवसायी दिनेश नेपालले बताए ।
भ्रमण वर्ष २०२० को अवसरमा गाउँपालिकाले पुस २५ गतेदेखि २९ गतेसम्म विशेष कार्यक्रम राखेको छ । त्यस अवसरमा हात्ती महोत्सव, हात्ती तथा जीप सफारीको माध्यमबाट पर्सा राष्ट्रिय निकुञ्ज लगायतका रमणीय स्थलको भ्रमण गराउने अध्यक्ष श्रेष्ठले बताए ।
फोटो सौजन्य : रेडियो विजयवस्ती
प्रतिक्रिया 4