Comments Add Comment

कुन छाउगोठ भत्काउने ? बच्चालाई के सिकाउने ?

‘सर, म अलि हतारमा छु, छोरीलाई खाना खुवाएर विद्यालय पठाउनुपर्ने हो, पछि गफ गराैंला है ।’

सधैंजसो फुर्सदिला देखिने एक हितैसी मित्रले यस्तो कुरा गरेपछि प्रश्न सोधिहाल्न मन लाग्यो ‘किन ? म्याडम कतै बाहिर जानुभएको छ र ?’ मित्रको उत्तर थियो ‘हैन यतै छिन् छन त । तर, मिन्स भा’छिन् ।’

साथीको यो उत्तरले एक अजीवको मुस्कान आयो । मूर्खतापूर्ण मुस्कान । दिनैपिच्छे सार्वजनिक कार्यक्रममा छाउपडीको विषयमा बहस हुन्छन् र ती कार्यक्रममा ती साथी पनि नियमित सहभागी हुने गर्छन् ।

महिनावारी भएका बेला महिलाहरु शारीरिक रुपमा कमजोर हुन्छन्, त्यसैले आरामको जरुरत हुन्छ भन्ने कुरा पनि उनले बुझेका छन् । तर, उनले त्यो आधारमा मेडमलाई फुर्सद दिएका हैनन्, महिनावारी भएका बेला ‘नछुने’ अर्थात् छुन नहुने भएका कारण बाध्यताले फुर्सद दिएका हुन् ।

यस्तो समयमा श्रीमतीलाई फुर्सद दिने उनी एक्ला व्यक्ति भने होइनन् । सामाजिक चेतनाले भरिपूर्ण राजनीतिक दलका नेताहरु, जनप्रतिनिधिहरु, उच्च ओहदाका सरकारी कर्मचारीहरु पनि छन् । नेताहरु मात्रै होईनन् नेतृहरु आफै पनि जवरजस्ती गर्छन् टाढिएर बस्नलाई । दिउसभरि विद्यालयमा स्वास्थ्य तथा जनसंख्या बिषय पढाउने शिक्षक/शिक्षिकाले पनि साँझ घर आएर महिनावारीलाई या त ‘श्राप’ को रुपमा हेर्छन् या बरदानका रुपमा ।

छाउ गोठमात्रै भत्काएर पुग्दैन, यसमा बस्न बाध्य बनाउने र बस्ने दुवैलाई कारबाही पनि गर्नुपर्छ

सायद मासिक श्राव वा महिनावारी महिलाहरुको नियमित शारीरिक प्रक्रिया हो भनेर बिद्यालयमा स्वास्थ्य तथा जनसंख्या शिक्षा पढाउँदा उनीहरुलाई वाक्वाकी लाग्दो हो । महिनावारी भएको पाँच दिनमा सके गाईको गहुँत, नसके सुनपानी चाखेर मात्रै शुद्ध हुने दिदिबहिनीहरु पनि सार्वजनिक कार्यक्रममा त छाउपडी प्रथा बिरुद्ध जोरबलले कराउँछन्, लैङ्गिक बिज्ञ नै ठान्छन् ।

यसमा केही समस्या हाम्रा धर्मग्रन्थहरुले थपेका छन् भने केही समस्या हाम्रो दरिद्र मानसिकताले । पौराणिक मान्यता अनुसार देवराज इन्द्रले त्वष्टा ऋषिका पुत्र बृत्रको हत्या गरे पनि ब्रह्महत्याको पाप लाग्ने भयो । त्यो पापबाट बच्नका लागि उक्त पापलाई चार भाग लगाइयो । पहिलो भाग धुँवाको मुस्लो सहितको आगोमा, दोश्रो भाग बर्षा कालको नदीमा र तेस्त्रो भाग पर्वतमा मिसाईयो । चौथो भाग कहाँ राख्ने भन्ने खोजी गर्दा महिलाहरुको मासिक श्राव अर्थात् रजश्वलामा मिसाईयो । ईन्द्रले गरेको पापको प्रायश्चित गर्नका लागि प्रजनन् उमेरका महिलाहरुले प्रत्येक बर्ष ‘नछुने’ हुनु पर्छ रे ।

रजश्वला भएको समयमा पहिलो दिन चाण्डाल्नी, दोश्रो दिन ब्रह्मधाती र तेस्त्रो दिन पवित्र धोविनी समान हुने गर्छन् । चौथो दिन नुहाई धुवाई गरेपछि मात्र उनलाई शुद्ध मानिन्छ । व्यवहारिक रुपमा उनीहरु चौथो दिन शुद्ध मानिए पनि पितृ कार्य र देव कार्यका लागि भने सात दिनमा मात्रै शुद्ध हुन्छिन् । रजश्वला नबारे महिलामा बाँझोपन आउने, अर्को जन्ममा कुकुर्नी हुनु पर्ने, कुष्ठरोग लाग्ने जस्ता अफवाहले यो मासिक श्रावलाई समस्यामा पारेको छ ।

त्यसो त सुदूरपश्चिम र कर्णाली प्रदेश क्षेत्रमा महिनावारी भएका बेला छाउ गोठमा बस्नु र छाउ गोठमै निस्सासिएर, सर्पले टोकेर, जाडोले कठ्यांग्रिएर वा बिरामी भएर मृत्यु हुने कुरा नौलो होइन । तर, मंसिर १७ गते अछाम साँफेबगर नगरपालिका–३ सिद्धेश्वरमा छाउ गोठमै राती सुतेका बेला एक महिलाको मृत्यु भएपछि सरकारी पक्षका कान ठाडा भएका छन् । यो सक्रियता कति दिनसम्म रहने हो भन्न सकिन्न तर त्यो घटनाको दोषी मान्दै मृतकका जेठाजुलाई प्रहरीले थुन्दा यसमा नयाँ तरङ्ग भने सिर्जना गरेको छ ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १६८(३) अनुसार महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन । यदि यस्तो गर्‍याे भने तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । तर, व्यवहारमा भने फरक छ ।

हामी अहिले पनि अवोध बालबालिकालाई छाउपडी प्रथा बिरुद्धमा होइन, यो प्रथाको पक्षमा ज्ञान दिइरहेका छौं । भरखर ‘कखरा’ चिन्दै गरेका छोराछोरीहरुले महिनैपिच्छे चार दिन, पाँच दिन कसैलाई नछोएर छाउ गोठमा वा घरभित्रै पनि एक कुनामा निर्जिव बस्तुझैं बसेको देख्छन् भने उनीहरुले के सिक्छन् होला ! गम्भीर बिषय हो यो । कतिपय दिदीबहिनीहरुले आफ्नै नाबालक छोराछोरीहरुबाट गहुँत वा सुनपानी छर्किमाग्छन् अनि ती बालबालिकाहरुले भविश्यमा के सिक्छन् ।

संस्कार समाज र परिवारको उपज हो । बालक कस्तो संस्कारमा हुर्कियो, उसले के सिख्यो, त्यही कुरा अभिव्यक्त गर्ने हो । जब हामी आफूलाई अधिकारकर्मी, अभिन्ता भन्नेहरु यस्तो मानसिकतामा छौं भने निश्चित रुपमा हाम्रा बालबालिकाहरुले यही कुरा सिक्नेछन् र यो कुप्रथा सधैं पुस्तान्तरण भईरहनेछ ।

महिनावारी भएदेखि ६/७ दिनसम्म “छाउकी”, “बाइण्डी”, “छुती” भएकी भनेर सम्वोदन गरिन्छ । महिनावारी भएका महिलाका श्रीमान्लाई पनि अशुद्ध मान्ने चलन छ । यदि श्रीमती महिनावारी भएकी छिन् भने श्रीमानले पनि पितृकार्य वा देवकार्यमा सहभागि हुन पाउँदैन ।

छाउपडी कुप्रथाका कारण जब कुनै महिलाको ज्यान जान्छ, जव कुनै महिला बलात्कृत हुन्छिन्, जव कुनै महिलामाथी शारीरिक हिंसा हुन्छ, तब चर्को स्वरमा आवाजहरु उठ्ने गरेका हुन्छन् । सञ्चार माध्यममा, अधिकारकर्मी हौं भन्नेहरुका शब्दमा र नेताहरुका भाषणमा यो छाउपडी प्रथा अन्त्य हुनु पर्छ भन्ने जोरको स्वर आउँछ तर दुर्भाग्य ! तिनै अधिकारकर्मी महिलाहरु आफु र आफ्ना परिवारका सदस्यहरुलाई छाउ बार्न बाध्य गराउँछन् ।

तिनै सञ्चारकर्मीहरु, जो दिनभरि छाउपडी प्रथा विरुद्धका समाचारहरु सम्प्रेषण गर्छन्, साँझ घर जाँदा छाउ बार्छन् वा बार्न बाध्य हुन्छन् । तिनै नेताहरु छाउपडी अपराध हो, छाउपडी बिरुद्ध कानुन बनाउँछौं, छाउपडी प्रथाको अन्त्य हुनु पर्छ भनेर भाषण गर्छन्, तर घरमा गएर श्रीमती, छोरी, बुहारीलाई गोठमा सुत्न लगाउँछन् ।

कुन छाउगोठ भत्काउने ?

अहिले अछाममा फेरि छाउ गोठ भत्काउन सुरु भएका छन् । जिल्लाभरि यो अभियान जारी छ । अछामको त्यो घटनाले फेरि एक पटक करीव १५/१६ बर्ष पुरानो डोटीको अभियानलाई स्मरण गराउँछ ।

०६०/०६१ सालतिर डोटीमा करीव ६० छाउ गोठहरु भत्काइए । तर, ती गोठहरु भत्काएको तीन महिनामै फेरि पुनःनिर्माण भए । भत्काउँदा अधिकारकर्मीहरुले भत्काए, तर बनाउँदा फेरि तिनै गरीवहरुले पाठो–बाख्रो बेचेर बनाए ।

छाउगोठ भत्काउने विषय एउटा दबावमूलक अभियान हो, यसले एकखालको तरङ्ग ल्याएको छ । तर, के छाउ गोठ भत्काउँदैमा अब महिनावारी भएकी महिला घरभित्रै बस्न पाउँछन् त ? वा उनीहरु आफै पनि गोठ छोडेर घरभित्र बस्न सक्ने छन् त ? विषय यसरी सोच्न जरुरी छ । यसअघि सरकारी कार्यालयले नै लामो समयसम्म “छाउपडी निवारण परियोजना” चलायो । धेरै ठाउँमा तामझामसहित छाउपडी गोठमुक्त क्षेत्र घोषणा पनि गरियो । तर, अहिले फेरि छाउ गोठमा दिदीबहिनीहरुले ज्यान गुमाउनु परेका समाचारहरु सुन्दा सवालको नाममा आफ्नो खेती चलाउनेहरुको मन कस्तो भयो होला !

छाउपडी हुँदा जुन मनहरु रोएका छन् उनीहरुका घर भत्काउँदा रोलान् कि नरोलान् !

अर्को कुरा, कस्तो छाउ गोठ भत्काउनुपर्ने हो ? काठमाण्डौंमा बसेर योजना बनाउने र निर्देशन गर्नेहरुको बुझाइमा छाउगोठ एउटै प्रकारको छ । तर, जहाँ छाउ बारिन्छ, त्यहाँ चार प्रकारका छाउ गोठहरु छन् अर्थात महिनावारी भएका बेला महिलाहरु बस्ने ठाउँहरु फरक–फरक छन् ।

सामुहिक छाउगोठ : गाउँ भन्दा अलि टाढा वा गाउँको बीचमा भुइँतले एउटा गोठ बनाएको हुन्छ । उक्त गोठमा गाउँभरका महिनावारी भएका महिलाहरु सुत्छन् । यस्तो गोठमा कुनै बेला त कोचाकोच हुन्छ । महिनावारी भएकी महिलाले आफू सुतेको ठाउँमा चार दिन भएपछि दिन गोबर र रातोमाटोले पोत्नुपर्ने चलन छ । गाउँभरिका महिलाको महिनावारी हुने पालो परिरहने भएका कारण यो सामुहिक गोठ कहिल्यै पनि सुक्न पाउँदैन ।

घरैपिच्छे अलग छाउगोठ : प्रत्येक घरधुरीले आफ्नो घर भन्दा अलि टाढा छुट्टै सानो भुईतले कोठा बनाएको हुन्छ, जसरी शौचालय बनाइएको हुन्छ । टाढावाट हेर्दा शौचालयजस्तो लाग्ने उक्त गोठको ढोका होचो हुन्छ, झ्याल हुँदैन, यसलाई छाउ गोठ भन्ने गरिन्छ

घरमै छाउगोठ : मूलघरको भुईतलामा एउटा सानो कोठा बनाइएको हुन्छ, त्यसैलाई नै छाउगोठ भन्ने गरिन्छ । यो कोठा होचो हुन्छ, यसमा झ्याल हुँदैन । अध्याँरो र
साँगुरो हुन्छ ।

गाईबस्तुसँगै बस्ने गोठ : कुनैकुनै गाउँमा गाईबस्तु बाँध्ने गोठकै एक कुनामा महिनावारी भएकी महिलाले सुत्नुपर्ने हुन्छ । त्यसैलाई गोठ भन्ने गरिन्छ ।

अब कुन गोठ भत्काउने ?

भौतिक संरचनाहरु भत्काएमात्रै छाउपडी प्रथा हट्ने भन्ने मानसिकता हो भने त पुरै घरै भत्काउनुपर्ने अवस्था आउन सक्छ । छाउपडी हुँदा जुन मनहरु रोएका छन् उनीहरुका घर भत्काउँदा रोलान् कि नरोलान् !

युगौंदेखि हामीले अभ्यास गरेको सामाजिक संस्कारले महिलाहरुको जीवन जोखिममा पार्दै छ । ‘छाउपडी प्रथा पाप होईन, यो भगवानको देन हो’ भनेर नारा लाउने अधिकारकर्मी महिलाहरुले पनि “छाउपडी प्रथा न पाप हो, न श्राप हो, न भगवानको देन हो, यो त प्रकृतिको नियम हो” भन्ने बुझ्न सकेका छैनन् ।

त्यसैले निर्जिव छाउ गोठ भत्काउने कुराले खासै अर्थ राख्दैन, सदरमुकाममै बस्नेहरुले पनि आफ्ना व्यवहारिक क्रियाकलापबाट आफ्ना छोराछोरीहरुलाई यस विषयमा ज्ञान दिइरहेका छन् अर्थात् छाउ बार्नु पर्छ भन्ने शिक्षा दिईरहेका छन् । त्यसैले छाउ गोठ भत्काउने होइन, छाउ गोठमा बस्न बाध्य बनाउनेहरु र छाउ गोठमा बस्ने दुवैलाई कारवाही गर्नुपर्छ । धर्मग्रन्थहरुमा भएका प्रावधानहरु पनि हटाउने अभियान थालिनुपर्छ कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment