Comments Add Comment

स्वस्थ कसरी रहने ? सिकाउन घरघरमा आउँदैछ सरकार

नेपालमा जटिल किसिमका नसर्ने रोगीहरुको संख्या बढ्दै गएपछि जनतालाई स्वास्थ्य बारे जानकारी दिने तयारी गरेको सरकारले अब नागरिक आरोग्य कार्यक्रमलाई तीब्रता दिने बताएको छ । स्वास्थ्य मन्त्रालयले यस विषयमा सबै पूर्वकार्यहरु सम्पन्न भइसकेकोले काम पनि सुरु भइसकेको जनाएको छ ।

दीर्घकालीन स्वरुपका रोग लागेकाहरुलाई अनुदान शीर्षकमा नै अर्ब रुपैयाँ बढिसकेपछि सरकार नागरिकहरुलाई घरदैलोमा नै गएर स्वास्थ्यबारे जानकारी दिने निष्कर्षमा पुगेको थियो । दीर्घकालीन रोगीहरुको संख्या कम गर्ने र लामो उमेर बाँच्न सिकाउनको लागि सरकारले यस कार्यक्रम मार्फत् देशबासीहरुलाई स्वस्थ हुन सिकाउने अभियानलाई तीब्रता दिन लागिएको स्वास्थ्य मन्त्रालयका वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा. बाबुराजा अमात्यले जानकारी दिए ।

पछिल्लो समय मिर्गौलाको समस्या, मस्तिष्कघात, हृदयघात, उच्च रक्तचाप र कलेजो सम्बन्धी रोगीहरु तीब्र रुपमा बढ्न थालेपछि स्वास्थ्य मन्त्रालय, आयुर्वेद विभागले सात वटै प्रदेशमा ‘नागरिक आरोग्य कार्यक्रम’लाई तीब्रताका साथ अघि बढाउन लागेको हो । स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार अहिले नेपालमा सर्ने रोगभन्दा नसर्ने गम्भीर प्रकृतिका रोगीहरुको संख्या बढी छ । कूल बिरामीको आधारमा हेर्दा ४० प्रतिशत जति सर्ने रोगबाट ग्रसितहरु हुँदा ६० प्रतिशत हाराहारी बिरामीहरु गम्भीर किसिमका नसर्ने रोगबाट पीडित छन् ।

विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/७३ मा नेपालभरी दीर्घकालीन अब्स्ट्रक्टिभ पलमोनरी रोग (सिओपीडी) रोगबाट २ लाख एक हजार २२९ जना प्रभावित भएका थिए । त्यो संख्या त्यसको दुई वर्षमा नै ३० हजारले बढेको थियो । यो एक किसिको फोक्सो सम्बन्धी रोग हो । जुन धुमपान र वायु प्रदूषणका कारण बढ्ने गर्छ । त्यस्तै, उच्च रक्तचापका बिरामीहरु आर्थिक वर्ष २०७२/७३ मा २ लाख ७५ हजार रहेकोमा त्यसको दुई वर्षपछि ४ लाख नाघेका छन् । त्यस्तै मधुमेहका रोगीहरु दुई वर्षमा नै झण्डै ८५ हजारले बढेको विभागको तथ्यांकले जनाएको छ ।

सरकारले अघिल्लो आर्थिक वर्षमा नै यस कार्यक्रमको लागि बजेट विनियोजन गरेको भएपनि यो वर्षदेखि सो कार्यक्रमले गतिलिने अमात्यले बताए । उनका अनुसार अब स्थानीय तहका प्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु र अरु पनि स्वयंसेवकहरु हरेक नागरिकको घरघरमा पुगेर स्वस्थ कसरी बन्ने ? उमेर अनुसार के खाने ? समय र ऋतु अनुसार कस्ता खानेकुरा खाने ? जस्ता व्यवहारोपयोगी कुराहरु सिकाइन्छ । हरेक घरमा गएर सोही विषयमा विस्तृत जानकारी समेत संकलन गरेर उनीहरुलाई उमेर र समय अनुसारको व्यवहार गर्न सिकाउने भएकोले यो कार्यक्रम प्रभावकारी हुने अमात्यको विश्वास छ ।

नयाँ किसिमको कार्यक्रम भएकोले यसको तयारीमा नै धेरै समय खर्च भएको उनले बताए । कम जनशक्ति र व्यवस्थापनको योजना समेत तय नभएकोले अघिल्लो आर्थिक वर्षमा यो सुरु हुन नसकेको उनले बताए ।  यस कार्यक्रमअन्तर्गत स्थानीय तहमा प्राप्त हुने जडिबुटीहरुलाई आफैंले कसरी प्रयोग गर्न सकिन्छ ? भन्ने बारेमा जानकारी दिने पनि गरिन्छ ।

‘जडिबुटी चिन्न सक्ने बनाउनुका साथै उनीहरुलाई त्यो प्रयोगको विधि समेत सिकाइन्छ’ अमात्यले अनलाइनखबरसँग भने ‘अब सरकार घरघरै आएर औषधिको बारेमा सिकाउने र स्वस्थ रहन सिकाउन थालेपछि सबै दंग पर्नेछन् अब ।’

८ प्रकारका रोगीको लागि २ अर्ब बढी खर्च

सरकारले आर्थिक स्थिति कम भएकाहरुको लागि गम्भीर प्रकृतिको ८ किसिमका रोग लागेमा उपचारको लागि सीमित खर्च दिने गरेको छ । त्यस्तो सहायता शीर्षकमा २ अर्ब नाघिसकेको छ । एकातर्फ सरकार खर्च धान्नै नसक्ने अवस्थामा पुगिसकेको जनाउने गरेको छ भने सरकारले दिएको उपचारको अनुदान विरामीको लागि भने पर्याप्त हुने गरेको छैन । अर्काे तर्फ नेपालको ग्रामीण भेगमा अनगिन्ती जडिबुटीहरु खेर गइरहेको छ । त्यसैले पनि सरकारले नागरिक सचेतनाको बाटो अपनाएको हो ।

सरकारले अहिले क्यान्सर, मुटु रोग, मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, पार्किन्सन, अल्जाइमर, सिकलसेल एनिमिया गरी आठ किसिमका रोग लागेकाहरुको उपचारको लागि सीमित सहयोग गर्ने गरेको छ ।

यही सहयोग पाउने रोगहरुको संख्या पछिल्लो समय भारी मात्रामा बढ्दै गएको छ । यो ८ प्रकारको रोगहरुमा सरकारले झिनो आर्थिक सहायता पनि दिने गरेको छ । यसमध्ये पनि जटील किसिमका ४ रोगहरुमा धेरै बिरामी बढी आउने गरेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment