Comments Add Comment

बन्चरेडाँडाका स्थानीय भन्छन् : माग पूरा नभएसम्म फोहोर फाल्न दिँदैनौं

१८ पुस, काठमाडौं । नुवाकोटको बन्चरेडाँडाका स्थानीयहरुले आफ्ना माग पुरा नभएसम्म फोहोर फाल्न नदिने चेतावनी दिएका छन् ।

शहरी विकास मन्त्रीसहित बन्चरेडाँडाको अनुगमनमा गएको टोलीसँग स्थानीयहरुले आफ्ना माग पुरा गर्न आग्रह गरेका छन् । २ वर्षका लागि सम्झौता भएपनि १४ वर्षसम्म फोहोर फालिएको र आफूहरुसँग गरिएको सम्झौताहरु पुरा नभएको स्थानीयहरुको गुनासो छ ।

स्थानीय आशिष ढुंगानाले जनताको हितमा काम नगरेसम्म फोहोर फाल्न नदिने चेतावनी दिए । उनले व्यवस्थित तरिकाले फोहोर फाल्न र जनतालाई प्रत्यक्ष असर पर्ने कुराहरुको व्यवस्थापन गर्न पनि आग्रह गरे । ‘हामीहरु बरु मर्न तयार छौँ, तर फोहोर फाल्न दिँदैनौँ । यहाँको जनताको पनि गुनासो सुनियोस् । जनताको हितमा काम गरियोस्’, उनले भने, ‘फोहोर नै फाल्न नदिने भन्ने होइन तर व्यवस्थित तरिकाले फालियोस । यहाँको जनातालाई प्रत्यक्ष असर पर्ने कुराहरु व्यवस्थित गरियोस । जथाभावी तरिकाले फोहोर फाल्न दिँदैनौ ।’

अर्का स्थानीय कुमार तामाङले सुरुमा सरकारी पक्षबाट एक घर एक रोजगार, स्वास्थ्य, शिक्षा लगायतका सुविधाहरु दिने कुरा भएपनि १४ वर्षसम्म केही नभएको गुनासो गरे ।

स्थानीय विश्वनाथ बजगाईले जग्गा अधिग्रहण भन्दा फोहोरलाई व्यवस्थित तरिकाले फाल्ने वातावरण बनाउन आग्रह गरे ।

स्थानीयले फोहोर फाल्ने ठाउँसम्म पक्की सडक हुने तर एक किलोमिटर परको बाटो नबन्नुको कारण के भन्दै प्रश्न गरेका थिए ।  ‘एउटा अस्पताल नबन्नुको कारण के ? एउटा राम्रो विद्यालय नहुनेको कारण के ? यी सबै कुराहरुको अबको १४ वर्षमा पुरा गर्नै ग्यारेण्टी गर्न सक्नुहुन्छ’, भन्दै स्थानीय विश्वास डिसीले प्रश्न गरे ।

स्थानीयहरुको गुनासो सुनेपछि शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्थानीयले राखेका मागहरु पुरा गर्न प्रतिवद्ध रहेको बताए ।

हप्तामा एकपटक भएपनि त्यस क्षेत्रको भ्रमण गरी विकासका कामको प्रगतिका बारेमा जानकारी लिने र स्थानीयहरुका समस्या समाधानको जिम्मेवारी लिने बताए ।

बन्चरेडाँडाको ल्याण्डफिल साइडलाई आधुनिक, वैज्ञानिक ल्याण्डफिल साइड निर्माणको लागि संघीय सरकारले एक अर्ब ५६ करोड रुपैयाँ बजेट छुटयाएको छ । शहरी विकास तथा भवन निर्माण विभागले स्थानीयको अवरोध भएपनि आगामी फागुन पहिलो साताभित्र पूर्वाधारका सबैकाम सकेर फोहोर व्यवस्थापन सुरु गर्ने दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment