Comments Add Comment

तारे होटलमा तीन घण्टीभित्र फोन उठ्नुपर्ने, एक मिनेटमा नमस्कार !

होटेल/रिसोर्टमा नयाँ मापदण्ड

१८ पुस, काठमाडौं । सरकारले तारे होटेलको वर्गीकरणसहित समग्र आतिथ्य उद्योगका लागि नयाँ मापदण्ड ल्याएको छ । यसमा तारे होटलमा तीन घन्टीभित्र फोन उठ्नुपर्नेदेखि एक मिनेटभित्र अतिथिलाई नमस्कार गनुपर्नेजस्ता रोचक नियमहरु पनि छन् ।

संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालयले होटेल, रिसोर्ट, पर्यटक इन, पर्यटक लज, मोटेल तथा बेड एण्ड ब्रेकफास्ट (बीएण्डबी)लगायतको वर्गीकरणका लागि नयाँ मापदण्ड आएको हो । सरकारले २०७० सालमा तोकेको वर्गीकरण २०७४ सालमा परिमार्जन गरेको थियो । अहिले भने आतिथ्य सेवाका लागि नयाँ मापदण्ड तोक्ने क्रममा एक तारेदेखि पाँचतारे डिलक्ससम्मको वर्गीकरण गरिएको छ ।

एक तारेदेखि पाँचतारेसम्मलाई मापदण्ड

· चार तारेदेखि माथिका होटेलको भवन तथा अन्य संरचनाले कूल क्षेत्रफलको बढीमा ४० प्रतिशत मात्र भूभाग ओगटेको हुनुपर्छ । त्यसभन्दा तल्लो स्तरका होटेललाई भने यो प्रावधान ‘अपेक्षित’ राखिएको छ । बाँकी भूभागमा भने रुख विरुवासहितको हरियाली, शान्त वातावरण, धुलो धुँवारहित बगैचालगायत हुनुपर्छ ।

· वातावरण सम्बन्धी प्रचलित कानूनबमोजिम गर्नुपर्ने वातावारणीय प्रतिवेदन सबै तहमा होटेलले अनिवार्य पूरा गरेको हुनुपर्छ । भवनसँग सम्बन्धित कानूनसमेत सबै होटेलले पालना गर्नुपर्ने भएको छ । होटेलको नाम नेपाली र अंग्रेजी दुबै भाषामा स्पष्ट देखिने र बुझ्ने गरी राख्नु पर्छ । कम्पनी दर्ता भएको प्रमाणपत्र रिसेप्सनमा देखिने गरी राख्नुपर्छ ।

· होटेलको नामसँगै कुन तारे होटेल कुन स्तरको हो, त्यसलाई पनि संँगै खुलाउनु पर्ने छ । चारतारे र सोभन्दा माथिल्लो स्तरको होटेलमा आफ्नै भवन परिसरभित्र अनिवार्य पार्किङको व्यवस्था गर्नुपर्छ । त्यसभन्दा मुनिका होटेलले भने केही पैदल दूरीमा समेत पार्किङको व्यवस्था गर्न सक्नेछन् । सडक यातायात नै नपुगेको भेगमा खुलेका होटेलले भने अनिवार्य पार्किङको व्यवस्था गर्नु पर्दैन ।

· चारतारेभन्दा माथिका होेटलमा कम्तिमा तीसवटा देशको झण्डा राख्न मिल्नेगरी पोलको व्यवस्था गर्नुपर्ने छ । त्यसभन्दा तलको स्तरका होटेललाई भने यो संख्या अनिवार्य गरिएको छैन ।

· सबै स्तरका होटेल २४ सै घण्टा सञ्चालन हुनुपर्नेछ । तीन तारेभन्दा माथिको होटेलमा २४ सै घण्टा रुम सर्भिसको व्यवस्था हुनुपर्ने छ । मौसमी रुपमा चल्ने होटेलमा भने यो अनिवार्य छैन ।

· सबै स्तरका होटेलसँग ग्राहकलाई होटेलसम्म, होटेलदेखि बसपार्क वा विमानस्थलसम्म पुर्‍याउने सुविधासम्पन्न सवारीसाधन हुनुपर्ने छ । होटेलहरुसँग कम्तिमा दुईवटा सुविधासम्पन्न आफ्नै सवारी साधन हुनुपर्ने प्रावधान ल्याइएको छ ।

· ग्राहकका वहुमूल्य वस्तु राख्न रिसेप्सन नजिकै सुरक्षित लकर र हरेक कोठामा समेत यस्तो व्यवस्था अनिवार्य गर्नुपर्ने भएको छ ।

· सबै होटेलले आकासे पानी भण्डारणको प्रविधि अनिवार्य जडान गर्नुपर्ने छ । होटेलमा प्रयोग हुने पानी प्रशोधित एवम् शुद्ध हुनपर्ने प्रावधान तोकिएको छ । सबै होटेलले स्थानीय तहको मापदण्ड अनुसार सुरक्षित ढल निकासको व्यवस्था गर्नुपर्छ ।

· होटेलको लबी नेपाली मौलिक कलाकृतिबाट सजावट गरेको हुनुपर्छ । एक तारेको लबीमा कम्तिमा १० जना र पाँचतारे डिलक्सको लबीमा कम्तिमा एकै पटक ८० जनासम्म बस्न मिल्ने हुनुपर्छ ।

· सबै तहका होटेलमा अपांगमैत्री शौचालयको व्यवस्था गर्नुपर्छ । लवी नजिकै वार लाउन्जको व्यवस्था गर्नुपर्ने छ ।

· रिसेप्सनमा बस्ने कर्मचारीले नेपाली र अंग्रेजी भाषा बोल्न र लेख्न जानेको हुनुपर्नेछ ।

· चारतारेभन्दा माथिल्लोस्तरका होटेलमा आन्तरिक तथा बाहृय उडान, यातायात साधनको टिकेटिङको अनिवार्य सुविधा हुनुपर्नेछ ।

· बढीमा तीन घण्टीभित्र टेलिफोन उठ्नुपर्ने र टेलिफोन उठाउँदा सम्बोधनमा अभिवादन तथा आफ्नो आउटलेटको नाम दिनपर्ने छ ।

· पाहुना आएको एक मिनेटभित्र नमस्कारसहित अभिवभादन गर्नुंपर्ने ।

· नगद, क्रेडिट कार्ड वा अनलाइन भुक्तानीका माध्यबाट पैसा तिर्ने व्यवस्था सबै होटेलले गर्नुपर्ने छ । विदेशी मुद्राको विनिमय दर देखिने गरी सबै होटेलले राख्नुपर्नेछ ।

· तीन तारेभन्दा माथिल्लो होटेलमा धर्म अनुसारका प्रार्थना गर्ने कक्ष वा सुत्ने कोठामा समेत प्रार्थनाका लागि व्यवस्था मिलाउनुपर्ने छ ।

· ३ तलाभन्दा अग्लो भवनमा अनिवार्य लिफ्टको व्यवस्था गर्नुपर्छ र यो २४ सै घण्टा चल्नुपर्छ । हरेक तलामा फायर सेफ्टीसम्बन्धी उपकरण अनिवार्य गरिएको छ ।

· विपद्का समयमा आपत्कालिन रुपमा बाहिर निस्कने सक्ने गरी आपत्कालिन द्धारको व्यवस्था र त्यसका लागि संकेत चिन्हहरु राखिएको हुनपर्छ । होटेलको प्रवेशद्धारमा सीसीक्यामरा अनिवार्य राख्नुपर्ने र त्यसको रेकर्ड ६ महिनासम्म राख्नु पर्ने भएको छ ।

पाँचतारेमा न्यूनतम १ सय कोठा

उपत्यकाभित्रका पाँचतारे होटलमा कम्तिमा १ सय कोठा हुनपर्ने प्रावधान दोहोर्याइएको छ । पाँचतारे डिलक्सका लागि उपत्यकामा १ सय ५० कोठाको प्रावधान राखिएको छ । काठमाडौंमा एकतारे होटेल बन्न कम्तिमा २० कोठा अनिवार्य गरिएको छ । दुई तारेलाई ४०, तीन तारेलाई ६० र चार तारेलाई ८० कोठा अनिवार्य गरिएको छ ।

काठमाडौं बाहिर भने एक तारेदेखि पाँचतारे डिलक्स सम्मलाई क्रमशः १५, ३०, ४५, ६०, ८० र १ सय कोठासम्म तोकिएको छ । सबै होटेलले कम्तिमा एउटा कोठा अपांगमैत्री बनाउनु पर्ने छ । सबै स्तरका होटेलमा धुम्रपान निषेध गरी निश्चित स्थानमा मात्र गर्न पाइने गरी तोक्नुपर्ने भएको छ । चार तारेभन्दा माथिको होटेलले कोठामा मिनिबारको व्यवस्था गर्नुपर्ने भएको छ ।

चार तारेभन्दा माथिल्लो स्तरको होटेलमा नेपाली खानाको छुट्टै रेष्टुरेन्ट अनिवार्य हुनुपर्ने छ । चारेतारेभन्दा माथिल्लो स्तरका होटेलमा रहेका रेष्टुराँहरु २४ सै घण्टा खुला राख्नु पर्ने छ । खाना तथा सेवाको मेनु नेपाली र अंग्रेजी दुबै भाषामा लेख्नुपर्ने भएको छ । होटेलको उपलब्ध मेनुमा कम्तिमा २५ प्रतिशत नेपाली रैथाने खानाका परिकार उपलब्ध हुनपर्ने भएको छ । नेपालमा उत्पादित बस्तुलाई प्राथमिकता दिनुपर्ने गरी प्रावधान तोकिएको छ ।

२५ मिनेटभित्र मेन कोर्स

होटेलहरुले एपीटाइजर, सलाद, सूप अर्डर लिएको १५ मिनेट र मेन कोर्ष बढीमा २५ मिनेट भित्र गरिसक्नु पर्ने भएको छ । खाना कम्तिमा ६० डिग्री सेल्सीयसभन्दा तातो हुनपर्ने भएको छ । खाद्य तथा पेय पदार्थको अर्डर लिँदा टच स्कृन प्रविधियुक्त मोनिटरको व्यवस्था गर्नुपर्नेछ । विदेशी खाना तयार पार्ने रेष्टुरेन्ट छुट्टै बनाउनु पर्नेछ ।

बेकरी प्रयोजनमा बाहेक सबै होटेलहरुले आल्मुनियमका भाँडा प्रयोग गर्न पाउने छैनन् । न्यूतमम स्टेनलेस स्टील र चारेतारे भन्दा माथिल्लो स्तरका होटेलले अत्याधुनिक प्रविधिका औजार मात्र प्रयोग गर्न पाउने भएका छन् । होटेलमा व्यायाम, स्वीमिङ पुल, खेलकुदजन्य गतिविधिका लागि पर्याप्त सुविधा हुनुपर्ने प्रावधान समेटिएको छ ।

विभागीय प्रमुखको योग्यता

होटेलमा विभागीय प्रमुखहरुको न्यूनतम योग्यता स्नातक तोकिएको छ । त्यसबाहेक सम्बन्धित विषयमा आधारभूत तालीम अनिवार्य गरिएको छ । विभागीय प्रमुखहरुमध्ये ८० प्रतिशतले भने हस्पिटालिटी तथा होटेल व्यवस्थापनमै स्नातक गरेको हुनुपर्छ ।

सुपरभाइजरको न्यूनतम योग्यता १२ पास तोकिएको छ । तीन तारेभन्दा माथिको होटेलले कम्तीमा ४० प्रतिशत स्टाफ सुपरभाइजर स्तरको राख्नुपर्ने भएको छ । कर्मचारीलाई न्यूनतम तीन जोर यूनिर्फम, प्राथमिक उपचार, हरेक महिना स्वास्थ्य परिक्षणको व्यवस्था अनिवार्य गरिएको छ । होटेलले सम्भव भएसम्म नेपाली जनशक्तीबाटै सेवा दिनुपर्ने भएको छ ।

पुरानाले ६ महिना भित्र मापदण्ड पूरा गर्नुपर्ने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार नयाँ प्रावधान आउनु अगाडी नै संचालनमा रहेका होटेलले आगामी ६ महिनाभित्र मापदण्ड पूरा गरिसक्नु पर्छ । नयाँ होटेलले भने सुरुमै मापदण्ड पुरा गर्नुपर्छ । मापदडण्ड पुरा भए नभएको सम्बन्धमा पर्यटन विभागबाट जाँचपास हुने र पुरा नगर्ने होटेलको नविकरण रोक्का हुनेछ । होटेलहरु हरेक ५/५ वर्षमा नविकरण गराउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment