Comments Add Comment

पातलेदेखि पिकेसम्म : एक रोमाञ्चक पदयात्रा

काठमाडौं । ‘पिके’ ! नझुक्निुहोस्, यो प्रसंग आमिर खान स्टारर फिल्म ‘पिके’को होइन । न कुनै पियक्कडकै कथा हो । कुरा पिके डाँडाको हो, जो पदयात्राका लागि उपयुक्त गन्तव्य हुनसक्छ ।

पिके डाँडामा पदयात्रा गर्न सोलुखुम्बु टेक्नुपर्छ । सोलुखुम्बु आफैंमा सगरमाथाको जिल्ला । सगरमाथालाई नाङ्गो आँखाले हेर्न चाहनेहरुले पिके डाँडाकै पदमार्ग समात्न सक्छन् । यसका लागि ढापदेखि पिकेसम्म हिँड्नुपर्छ । यो पदयात्राका लागि तपाईंले पाँच दिनको समय छुट्याउनुपर्छ ।

४ हजार ६५ मिटर उचाईमा छ, पिके डाँडा । पिके डाँडा पुगेपछि तपाईंको आँखा सामुन्ने देखापर्छ, सर्वोच्च शिखर सगरमाथा ।

यही डाँडामा उभिएर तपाईंले चारतर्फ नजर दौडाउनुभयो भने रहरलाग्दो हिमाली शृंखला देख्न सक्नुहुनेछ । पू्र्वको कन्चनजञ्घादेखि पश्चिमको धौलागिरिसम्म ।

आठहजार अग्ला हिमाल कञ्चनजंघा, मकालु, लोत्से, सगरमाथा, धौलागिरि लगाएत २ सय डिग्रीमा आँखा अगाडि हिमालहरु हेर्न सकिन्छ । अर्को रमाइलो दृश्य पनि यहाँबाट देख्न सकिन्छ, काठमाडौंदेखि लुक्लाका लागि उडेको हवाइजहाजको । यसका लागि तपाईंले आकाशतर्फ होइन, आफू उभिएको धरातलभन्दा तलतिर हेर्नुपर्ने हुन्छ ।

विदेशी पर्यटक पिके डाँडाबाट पातलेसम्म यात्रा गर्छन् । अहिले स्वदेशी पर्यटक पनि यो लस्करमा देखिन्छन् ।

अहिले स्थानीयवासीको अगुवाईमा भ्रमण वर्ष २०२० को प्रचार-प्रसार तथा तल्लो सोलुको पर्यटन प्रवर्द्धन गरिँदैछ । त्यही मेलोमेसोमा हामीले ढापदेखि पिकेसम्म पदयात्रा गरेका थियौं । यसलाई हामीले पिके पिक ट्रेकिङ प्रवर्द्धन अभियान भनेका छौं । पिके सोलुखुम्बु टाप्टिङ सेवा समाजले यसको साइत जुराएको थियो ।

अहिले चिसो मौसम भएकाले सामान्यतय पिके डाडाँमा हिउँ हुने गर्दछन् । त्यसैले पिकेको यात्रा थाल्नुअघि न्यानो लुगाको जोहो गर्नुहोला । सल्लेरीदेखि पिके डाँडासम्मको पदमार्ग व्यवस्थित गर्न जरुरी छ ।

पतलेदेखि पिकेसम्मको पदयात्रा व्युँतिएको छ -नाम्गेल जाङबु शेर्पा

नगरप्रमुख, सोलुदुधकुण्ड नगरपालिका

सोलुखुम्बु भन्नसाथ सगरमाथाको जिल्ला भन्ने गर्दछन् । सगरमाथा देश-विदेशका पर्यटकलाई लोभ्याउने धरोहर हो । सबैलाई लाग्छ, जीवनमा एकपटक त सगरमाथा पुग्नैपर्छ, हेर्नैपर्छ ।

तर सगरमाथा पुग्नका लागि आधारशिविर पुग्नैपर्छ भन्ने छैन । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकास्थित पातले र पिके डाँडासम्मको यात्रा गरे हुन्छ । तर, उचित प्रचारको अभावमा घुम्न चाहनेहरु यो ठाउँसम्म आइपुग्ने गरेका छैनन् ।

प्रचारसँगै यस ठाउँमा आवश्यक पूर्वाधार विकास गर्नुपर्छ । हामीले सगरमाथा हेर्न मात्र होइन पदयात्रा गर्न चाहनेहरुका लागि पतालेदेखि पिके डाँडाहुँदै जुनवेसीबाट दुधकुण्डसम्मको पदमार्ग व्यवस्थित गर्ने प्रयास गरिरहेका छौं ।

द्वन्द्वकालभन्दा अघि प्रख्यात रहेको यो पदमार्ग अहिले पुन व्युँतिएको छ । बिस्तारै चहल पहल बढ्न थालेको छ । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकाको वडा नम्बर ३, ९ र १० पर्दछ पिके डाँडा क्षेत्र । अहिले नगरपालिकाले पदमार्गको बीच बीचमा चिया पसल, तथा पर्यटकहरुलाई चाहिने सूचना बोर्डहरु केही स्थानमा राखेका छौं भने केही स्थानमा राख्ने तयारी गरिरहेका छौं । पर्यटनसँग सरोकार राख्ने निकाय तथा प्रर्वद्धन गर्ने निकायले अलिकति सहयोग गर्नुभयो भने यो पदमार्गले सोलुखुम्बु क्षेत्रको मात्र नभएर राज्यको आर्थिक उन्नतिमा समेत सहयोग गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment