
१९ पुस, ,पोखरा । रिश्मा गुरुङ, चलचित्र कबड्डीबाट एकाएक नेपाली रजतपटमा छाएकी नायिका । फिल्ममा उनी मैयाँकी भूमिकामा देखिइन् । जुन पात्रको भूमिका यसरी हिट भयो कि सबैको मनमा मैयाँ बसिन् । उत्कृष्ट नायिका अवार्ड पनि पाइन् । देशविदेश घुमिन् । कबड्डीकै ३ सिक्वेलमा देखिइन् ।
त्यसपछि ‘झुम्की’ फिल्म खेलिन् । त्यसमा एउटी सोझी थरुनी युवतीको भूमिका निभाएकी छिन् ।
त्यसपछि …….. उनका फिल्म नेपाली बजारमा देखिँदैन । ‘कता हराइन् रिश्मा ? के उनले फिल्म पाउनै छाडेको हो ?’ रिश्मालाई लेकसाइडको एक क्याफेमा भेट्दा यस्तै प्रश्नहरु थियो ।
००००
पोखरा पृथ्वीनारायण क्याम्पसबाट भर्खरै मास्टरको पढाइ सकिन् । फुर्सदमा छिन् । अब के गर्ने भन्ने योजनामा पनि छैन ।
तर ढुक्कले भन्छिन्, ‘मबाट फिल्मको भूत उत्रिसक्यो ।’
मूलधारको नेपाली चलचित्र र एकाध गुरुङ फिल्ममा सशक्त भूमिका निभाएर वाहीवाही कमाएकी रिश्मालाई एक्कासी फिल्म क्षेत्रबाटै टाढिने सोच पलायो ? हामीले यही प्रश्न गर्छौं । ‘फिल्म क्षेत्र सोचेकोजस्तो रहेनछ । पहिले हामी स्थापित हुनलाई कम्प्रमाइज गर्छौं । तर एक लेबलमा पुगिसकेपछि उनीहरु हाम्रो कलाको दुरुपयोग गरिरहन खोज्छन्,’ सुरुमा ‘त्यस्सै’ सामान्य जवाफ दिएकी उनी भन्छिन्, ‘त्यसरी सधैं कम्प्रोमाइज गरेर बसिरहनुभन्दा बाहिरिनु उत्तम लाग्यो ।’
रिश्मालाई फिल्म क्षेत्र मन नपरेको होइन । तर त्यहाँ भएको प्रवृत्तिबाट आजित छिन् । जता मन्टो फर्कायो, त्यतै शोषण ।
‘अरुले जस्तो मैले सेक्सुअल हृयारसमेन्ट (यौन उत्पीडन) त भोग्नु परेन । तर श्रम शोषणमा परेको छु,’ दुखेसो पोख्छिन्, ‘एग्रीमेन्ट गरेको पैसा पनि पाइँदैन । आफ्नै खर्चमा हिँडिहरन त सकिँदैन नि !’
उनले जति पनि फिल्म खेलिन्, कुनै पनि फिल्मबाट पूरा पारिश्रमिक पाएकी छैनन् । कति माग्नु ? अब त उनलाई नै लाज लाग्न थालेको छ । ‘फिल्मले त्यति धेरै कमाउँछ, तर हामी कलाकारले एगि्रमेन्टअनुसारको पारिश्रमिक पनि पाउँदैनौं,’ रिश्माले आफ्नो तिता पोखिन्, ‘यो पैसाको मात्र कुरा पनि होइन । आत्मसम्मानको हो । त्यसरी आफैंलाई गिराएर काम गर्दिनँ ।’
मास्टर पुरा गरेर पोखरा घारीपाटनमा बसिरहँदा पनि उनलाई फिल्मको अफर भने नआएको होइन, तर स्वीकार गरिनन् ।
‘अब के गर्ने त ? हामीले सोध्छौं । ‘केही नगर्ने । तर सोच्दैछु कुनै सानोतिनो जागिर गरौं कि !’ अन्तिममा भने उनले योजना सुनाउँछिन्, ‘हुन त कुनै पनि काम काम सानोतिनो हुँदैन, तर योग्यताको कुरा रहन्छ नि ।’
तस्वीरः युनिश गुरुङ/अनलाइनखबर
प्रतिक्रिया 4