Comments Add Comment

कठ्याग्रिँदो जाडोमा के गर्दैछन् सेलिब्रेटी

अभिनेता तथा निर्माता दीपकराज गिरी भन्छन्- ‘यो पुसको चिसोमा  जे गरे पनि जिउ तात्दै तात्दैन…,’के गरौं, के गरौं हुन्छ ।’ उनी थप्छन् -‘अनेकौं कोसिस गर्छु, त्यसपछि एकचोटी आफ्नो अधिकारका लागि यो मध्य पुसको काठमाडौंको चिसो सडकमा सुतिरहेका किसानको फोटो हेर्छु, जाडो त्यसै कम हुँदै गएको महसुस हुन्छ । भन्छन् नि, पीडामा हुँदा आफूभन्दा धेरै पीडामा भएको मान्छे देख्यो भने पीडा कम हुन्छ रे….अहिले मेरो अवस्था त्यस्तै भएको छ ।’

गायक बाबु बोगटी भने अति नै जरुरी काम नपरी अहिले बिहान र बेलुका घर बाहिर निस्कनै छाडेका छन् । ‘यो मौसममा शरीरलाई तातो बनाउने खानेकुराहरु खोजी-खोजी खाइरहेको छु, गायक बोगटी भन्छन्-‘ताता पहिरनहरु लगाएको छु । यसबाहेक दिनमा एक घण्टा जति व्यायाम पनि गरिरहेको छु ।’

गायक युवराज चौलागाईं भन्छन्-‘जाडोमा आफूलाई सुरक्षित राख्नका लागि मैले खानेकुरा, लगाउने कुरा र हिँड्ने कुरामा निकै नै ध्यान दिएको छु । तातो सुप अनि तातो पानी नै पिइरहेको छु । शरीरलाई गर्मी गर्ने खानाहरु मिलाएर खाइरहेको छु । कपडा पनि बाक्लै लगाएको छु । चिसोले असर गर्ने भएकाले घर बाहिर निस्किएको छैन ।’

मेकअप आर्टिष्ट पूजा लामिछानेका अनुसार जाडोबाट बच्नका लागि घरबाट बाहिर ननिस्कनु नै सबैभन्दा उत्तम उपाय हो । ‘घर बाहिर निस्कनै परे न्याना कपडा लगाउनुपर्छ । तातो पानी टन्नै पिउनु पर्छ, सकेसम्म घाम लागेपछि मात्र घरबाट बाहिर निस्कनु पर्छ, पूजा भन्छिन् ।

गायिका तथा मोडल स्मृति पोखरेललाई अरु वर्षको भन्दा यो वर्षको चिसो असाध्यै धेरै लागेको । ‘तातो लुगा लगाउने, चिसोमा धेरै समयसम्म बाहिर नबस्ने, खानमा सकेसम्म तातो सुपको भेराइटी लिइरहेकी छु’ गायिका पोखरेल भन्छिन्-‘यसबाहेक म मन तातो पानी दिनभरी जसो नै पिइरहन्छु ।’

मोडल तथा इभेन्ट मेनेजर विनोद सिंह (रस्किन) का अनुसार उनी यो मौसममा बिहान सबेरै घरबाट निस्कँदैनन् । ‘बिहान र बेलुका असाध्यै चिसो छ’ सिंह भन्छन्-‘कतै जानु पर्यो भने दिउँसो मात्र जान्छु ।’ जाडोबाट बच्नका लागि उनी बाक्लो लुगा लगाउँछन्, बाइकको साटो गाडीको यात्रा गर्छन् अनि आफू गएको ठाउँमा एसी छ भने त्यसको प्रयोग गर्छन् ।

काठमाडौंमा मात्र होइन, पोखरामा पनि उत्तिकै जाडो बढेको छ । पोखरामै बसोबास गर्ने गायिका ईतु जोजिजु भन्छिन् -‘यहाँ पनि जाडो एकदमै बढिरहेको  छ । जाडो बढ्न बित्तिकै हामी गायक-गायिकाहरुलाई आफ्नो गलाकै चिन्ता हुन्छ । त्यसैले चिसोबाट शरीरमात्र होइन गलालाई समेत जोगाउनु पर्ने बाध्यता छ ।’ सुगम संगीतका गीतहरु गाउने गायिका जोजिजुका अनुसार जाडोबाट जोगिनका लागि उनले पनि विशेष तयारी गरिसकेकी छिन् ।

‘मैले त यसपटक अघिल्लो वर्षकोभन्दा बढी जाडो अनुभव गरिरहेकी छु । जोजिजु भन्छिन्-‘यो वर्ष निकै जाडो बढेको छ । त्यसैले यो जाडोबाट जोगिनका लागि न्याना-न्याना कपडा लगाएर आफूलाई ढाकिरहेकी छु । गला र शरीरका सबै अंगको राम्रोसँग हेरचाह गरिरहेकी छु । तातो-तातो सुप अनि मन तातो पानी नियमित पिइरहेकी छु । तरकारीमा गरम मसलाको मात्रा बढाएकी छु । काम नपरी घरबाहिर निस्कनै छाडेकी छु । यसबाहेक घर भित्र पनि बेला-बेलामा हिटर बाल्यो, सिरक भित्र बस्यो ।’

मोडल सपना अधिकार भन्छिन्-‘जाडोबाट बच्नका लागि न्यानो लुगा लगाएकी छु, हिटर तापिरहेकी छु । घाम लागेको बेला घर बाहिर घाम तापेर बस्छु ।’ आज पानी परेको दिन भएकाले उनले तातो पानी, चिया तथा सुप केही क्षणको अन्तरमा पिइरहेकी छिन् ।

पप गायक सञ्जय श्रेष्ठ भन्छन्-‘जाडो बढेको छ । अरुले जस्तै मैले पनि दराजमा थन्क्याएका न्याना कपडाहरु झिकेर लाएर बसेको छु । कहिले कहिले त झन् पानी नै पर्छ । अब घरबाट बाहिर ननिस्कने योजना बनाइसकेँ । जाडोबाट बच्नलाई त्यही हो, न्याना लुगाले मात्र पुग्दैन, घर भित्र भए हिटर ताप्ने, घर बाहिर भए दाउरा बालेर आगो ताप्ने । जसरी हुन्छ आफूलाई चिसो र जाडोबाट जोगाउनु पर्‍यो । म पनि त्यही नै गरिरहेको छु ।’

कोरियोग्राफर तथा सञ्चारकर्मी कला सुब्बा त भन्छिन् ‘यो वर्ष यति धेरै जाडो होला भन्ने लागेकै थिएन ।’ उनी भन्छिन् ‘जाडोबाट बच्नका लागि मैले त जहाँ जाँदा पनि आफ्नो ब्यागमै तातो पानी बोकर हिँड्न थालेकी छु, सुब्बा भन्छिन्-‘यसबाहेक अहिले दिनमा दुई पटक स्टिम लिइरहेकी छु । यसबाहेक सुप पिएर पनि शरीरलाई न्यानो बनाइरहेकी छु । यसबाहेक फेसनेवल वार्म डे्रसअप पनि गरिरहेकी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment