Comments Add Comment

मृगौला रोगीको याचना : बालबच्चाका लागि भए पनि बचाइदिनुस्

२० पुस, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–२४ श्रीपुरका ३३ वर्षीय शिव विहारी रामको दुवै मृगौलाले काम गर्न छोडेको छ । एकवर्ष अघिदेखि दुवै मृगौलाले काम गर्न छोडेपनि उनले उपचार गराउन सकेका छैनन् । दलित विपन्न परिवारका एक्ला अभिभावक शिव विरामी परेपछि उनको परिवार चिन्तामा छन् ।

आर्थिक अभावका कारण उपचार गर्न नसकिएको उनले बताएका छन् । भएको पैसा उपचार गराउँदा गराउँदै सकियो । तर निको भएन । अब खर्च गर्ने पैसा छैन । रोग लाग्नुअघि उनी विवाह, मेला महोत्सवमा देखाइने नाचगान टोलीमा काम गर्दथे । अचानक बिरामी परेपछि कलैया अस्पतालमा उपचार लागि पुगे ।

अस्पतालमा चिकित्सकले सामान्य जाँच गरेर टाइफाइड भएको भन्दै सुई लगाएर पठायो । सुई लागाएर अस्पतालबाट निस्केर आउँदै गर्दा उनी बाटोमै ढले । मनकारी मानिसहरुले बाटोबाटै उठाएर उनलाई वीरगञ्ज हेल्थ केयर अस्पताल पु र्‍याए । ३ दिनपछी उनको होस आयो । होसमा आएपछि दुवै मृगौलाले काम गर्न छोडेको जानकारी पाएपछि उनी छाँगाबाट खसेजस्तै भए । अचेल उनलाई त्यस दिन होसमा आएकोमै पछुतो लाग्न थालेको छ ।

किनकी, उनको त्यसपछिका दिन उपचारका लागि सरकारी र निजी अस्पताल धाउँदैमा बितेको छ । अस्पताल धाउँदा धाउँदा ऋणमा डुबिसकेका छन् । आफन्त र नातेदारले दिएको ऋण सापटीबाटै उपचारका लागि हालसम्म रकमको जोहो गरिएको आमा मन्जु देवीले बताइन् । ‘लिएको रकम दिन नसकेपछि अब त आफन्त र नातेदारले पत्याउन छोडिसके । छोराको अवस्था दिनदिनै बिग्रिरहेको छ,’ मञ्जुले भनिन्, ‘ अन्यत्र कतैबाट सहयोग पाएका छैनौं, सक्नेले सहयोग गरे मेरो छोरा बाँच्ने थियो ।’

शिवको ७ र १२ वर्षका दुई छोरा, ९ वर्षीया छोरी र श्रीमती छन् । उनीहरुको लालनपालन, शिक्षाका लागि अर्थोपार्जनमामा जुट्नु पर्ने उनी आफ्नै ज्यानको भिख मागी रहेका छन् । बेचौं जायजेथा छैन । कमाउन सक्ने अवस्था छैन । बाँच्नका लागि हप्तामा दुई पटक डायलासिस गर्नुपर्छ । महिनामा ४ पटक रगत सन्तुलनमा राख्ने सुई र २ पोका रगत चाहिन्छ । मासिक २० हजार खर्च छ ।

आफ्नो उपचारमा ८ लाख भन्दा बढी खर्च भइसेको शिवको भनाइ छ । ‘ दिने जतिले दिइसके, अब कसैले पैसा दिने अवस्था छैन,’ उनले भने, ‘ मर्नु बाहेक अर्को विकल्प छैन जस्तै भइसकेको छ, स–साना बच्चाहरुका लागि भएपनि मलाई बाचाइ दिनुस ।’

उनको उपचारका आर्थिक सहयोग गर्न चाहानेले आमा मन्जु देवीको नाममा रहेको कलैया स्थित राष्ट्रिय बाणिज्य बैंकको खाता नं.१२६००२४७५६१० मा रकम जम्मा गरीदिन राम परिवारले आग्रह गरेका छन् ।

स्थानीय रसुलाजम अंसारीको अगुवाई गाउँमा शिव विहारी बचाउ अभियान समेत सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment