Comments Add Comment

दिल्लीस्थित जेएनयूमा नकाबधारी समूहको आक्रमण, १८ विद्यार्थी घाइते

२१ पुस, काठमाडौं । भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)मा नकाबधारी समूहले आक्रमण गरेको छ । आइतबार साँझ भएको आक्रमणबाट जेएनयू छात्र संघका अध्यक्ष आईसी घोषसहित १८ विद्यार्थीहरु घाइते भएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार मुखमा मास्क लगाएका ५० जनाभन्दा बढी आक्रमणकारीका हातमा फलामे डण्डी र लठ्ठी थियो । उनीहरुले क्याम्पस र छात्राबासमा घुसेर आक्रमण गरेका थिए । घाइतेहरुलाई अस्पताल पुर्‍याउनका लागि सात वटा एम्बुलेन्स प्रयोग गरिएको थियो ।

अहिले स्थिति प्रहरी नियन्त्रणमा छ । जेएनयूको मुख्य गेटमा उल्लेख्य संख्यामा प्रहरीहरु तैनाथ छन् । विद्यार्थीहरुले विश्वविद्यालय गेट बाहिर र दिल्ली प्रहरी मुख्यालय बाहिर विरोध प्रदर्शन गरेका छन् । विश्वविद्यालयमा भएको हिंसाको विरोधमा मध्यरातमा मुम्बईको गेटवे अफ इण्डियामा पनि अन्य कलेजका विद्यार्थीहरु भेला भएर प्रदर्शन गरेका छन् ।

विश्वविद्यालय प्रशासनले आक्रमणको निन्दा गर्दै दोषी पहिचान गरी कारबाही गर्न प्रहरीसमक्ष माग राखेको छ । गृहमन्त्री अमित शाहले पनि घटनाको अनुसन्धान गरी आवश्यक कदम चाल्न निर्देशन दिएका छन् ।

जनवरी १ तारिखदेखि विश्वविद्यालयमा शीतकालीन सत्र सुरु भएको थियो । त्यसपछि विद्यार्थीहरुको रजिष्ट्रेशनको काम भइरहेको थियो । रजिष्ट्रेशनको समर्थन र विरोध गर्ने विद्यार्थीहरुबीच मतभेद थियो । यही विषयलाई लिएर ५ जनवरीको दिन दिउँसो विद्यार्थीहरुबीच झडप भएको थियो । त्यसपछि साँझ नकाबधारी समूहले छात्राबासमा प्रवेश गरी आक्रमण गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment