Comments Add Comment

राजपाले राष्ट्रियसभा निर्वाचनका मतदातालाई प्रशिक्षण दिने

२१ पुस, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) ले राष्ट्रिय सभा निर्वाचनमा मत दिने आफ्ना जनप्रतिनिधी मतदाताहरुलाई प्रशिक्षण दिने भएको छ ।

राजपा अध्यक्ष मण्डलको सोमबार बसेको बैठकले निर्वाचनको अघिल्लो दिन महोत्तरीको बर्दिवासमा दुई दिने मतदाता प्रशिक्षण दिइने निर्णय गरेको छ । आगामी माघ ७ र ८ गते बर्दिवासमा राष्ट्रिय सभा निर्वाचनमा मत दिने प्रदेश २ का आफ्ना जनप्रतिनिधि मतदातालाई प्रशिक्षण दिइने बैठकपछि अध्यक्ष मण्डल संयोजक राजेन्द्र महतोले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ ।

त्यसअघि २७ गते राष्ट्रियसभाका मतदाताहरुसँग बर्दिवासमा बैठक बस्ने निर्णय गरिएको छ ।

राष्ट्रियसभाको निर्वाचन माघ ९ गते हुनेछ । प्रदेश २ मा राजपाको ६९ जना जनप्रतिनिधि छन् । प्रदेशसभामा २५ सांसद र स्थानीय तहका ४४ जना प्रमुख, उप–प्रमुख राजपाका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचन संयोजनका लागि केन्द्रीय स्तरमा संयोजन गर्ने जिम्मा संयोजक राजेन्द्र महतोलाई नै दिइएको छ । सदस्यमा अध्यक्ष मण्डलका सबै सदस्य रहने भएका छन् । प्रदेश २ मा भने संसदीय दलका नेता जितेन्द्र सोनल र राष्ट्रियसभाका दुबै उम्मेदवारलाई संयोजनको जिम्मेवारी दिइएको छ । राजपाबाट मृगेन्द्र सिंह यादव र शेखर कुमार सिंहले उम्मेदवारी दिएका छन् ।

बैठकले पुस २५ गते महाधिवेसन तयारी समितिको बैठक बस्ने र २६ गते जिल्लाहरुमा खटाइएका केन्द्रीय पर्यवेक्षकहरुको बैठक बस्ने निर्णय गरिएको छ । यो दुबै बैठक जनकपुरधाममा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment