Comments Add Comment

क्यान आफैंले नेपाल प्रिमियर लिग गर्ने तयारी

२१ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) गर्ने तयारी गरेको छ ।

क्यानको सोमबार बसेको बोर्ड बैठकमा प्रस्ताव २०२० को बार्षिक क्यालेन्डरमा टी–२० फ्रेन्चाइज लिग गर्ने पनि समावेश छ । प्रतियोगिता संयोजक प्रशान्त मल्लले प्रस्तुत गरेको क्यालेण्डरमा २०७७ को कात्तिक महिनामा एनपीएल गर्ने प्रस्ताव छ ।

क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेल भन्छन्, ‘फ्रेन्चाइज लिगहरु आइसकेका छन् र, हाम्रो प्राथमिकता टी–२० मा पनि होइन । तर संघले आर्थिक आर्जनको बाटो हुन्छ भने हामीले फ्रेन्चाइज लिग गर्नै हुँदैन भन्ने पनि छैन ।’

यद्यपि बार्षिक क्यालेण्डरको प्रस्तावबारे छलफल नै बाँकी रहेकाले यसै भन्न नसक्ने उनले बताए ।

अहिले काठमाडौंमा एभरेष्ट प्रिमियर लिग, पोखरामा पोखरा प्रिमियर लिग र धनगढीमा धनगढी प्रिमियर लिग गरेर तीन वटा टी–२० फ्रेन्चाइज लिग भइरहेको छ । क्रिकेट संघ निलम्बनमा रहेका बेला अन्तर्राष्ट्रिय काउन्सिल काउन्सिल (आईसीसी)ले पनि २० हजार डलर शुल्क लिएर लिग गर्न अनुमति दिएको थियो ।

अब क्रिकेट संघ आफैंले फ्रेन्चाइज लिग गर्दा अरु के हुन्छ भन्ने प्रश्न पनि उठेको छ । तर एनपीएलबारे निर्णय हुन बाँकी रहेकाले अरु फ्रेन्चाइज लिग के गर्ने भन्नेबारे यसै भन्न नसकिने क्रिकेट संघका पदाधिकारीहरु बताउँछन् ।

उसो त क्रिकेट संघ निलम्बनमा पर्नुअघि एक सिजन नेपाल प्रिमियर लिग भएको पनि थियो ।

अहिले एभरेष्ट प्रिमियर लिग गरिरहेका अमिर अख्तरले नै क्रिकेट संघसँग अनुमति लिएर २०१५ मा एनपीएल गराएका थिए । तर निजी कम्पनीलाई एनपीएल गर्न दिएपछि क्यानमा विवाद सुरु भयो र आर्थिक पारदर्शीता लगायतका मुद्दा थपिएपछि आईसीसीले क्रिकेट संघलाई निलम्बन नै गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment