Comments Add Comment

वर्षाले किसान खुशी, बिरामी चिन्तित

२३ पुस, महोत्तरी। पछिल्लो तीन साताभित्र दुईपटक परेको वर्षात्ले महोत्तरीमा खुशी र चिन्ता दुवै छाएको छ । गत शुक्रबार र शनिबार हल्का वर्षात् हुँदा किसान औधि खुशी भएका छन् । गत मङ्सिर महिनामा माटो गल्नेगरी जिल्लाभर पानी परेको थियो ।

वर्षाले जाडो बढाउँदा श्वासप्रश्वासका बिरामी भने थप अप्ठ्यारोमा परेका छन् । गरीब बस्तीका वृद्धवृद्धा, स–साना नानी र नवजात शिशुकी आमा वर्षापछिको जाडोले समस्यामा परेका छन् । पछिल्लो वर्षाले जिल्लाका ग्रामीण सडक हिलाम्य भएका छन् । हिँडडुलमा पनि समस्या आएको छ । बर्दिवास–जलेश्वर सडक पुनःनिर्माणको काममा ढिलाइ हुँदा पछिल्लो वर्षाले सवारी साधन चलाउन नसकिने भएको छ ।

‘बर्षाले जाडो त बढायो, तर गहुँका लागि त अमृत नै बर्सेजस्तो भयो,’ जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरका गहुँखेतीमा कहलिएका किसान सत्यनारायण यादवले भने, ‘हेर्नोस् वर्षाको पानीमा त के जादु हुन्छ कुन्नि ! दुई दिनमै गहुँ लहलहाएको छ ।’

सन्तुलित वर्षाको पानी गहुँका लागि कुलोबाट गरिएको सिँचाइभन्दा निकै पोषिलो हुने बताइएको छ । पछिल्लो वर्षाले आलु र गोलभेँडा लगायत हिँउदे तरकारीलाई फाइदा पुर्याएको छ । आँप, लिची र कटहर सहितका फलका रुखमा नयाँ पात फेर्न र फुल्न वर्षालेको पनीले सहयोग पुर्याएको छ ।

बर्दिवास नगरपालिका–९ पशुपतिनगरका फलफूल किसान सुरजसिंह कुशवाहाले भने, ‘सन्तुलित हिउँदे वर्षा भएको साल फलफूल राम्रो उत्पादन हुने गरेको छ ।’ पशुपालक किसान पनि वर्षाले चरनक्षेत्रमा घाँस राम्रो उम्रने र बढ्ने आसले उत्साहित देखिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment