Comments Add Comment

सडकमा नयाँ मान्छे आउन भने छोडेका छैनन् !

२३ पुस, पोखरा । पुसको मौसम त्यसै चिसो छ, त्यसमाथि शीत खसिरहेको छ । त्यही चिसोमा लेकसाइडको बाराहीघाटस्थित नेपाल ट्रस्टको जग्गामाथि बनाइएको पर्खालमा सुतिरहेका छन् अर्जुन (नाम परिवर्तन) । भूइँमा कार्टुन बिछ्याइएको छ । त्यहीमाथि पातलो पुरानो सिरक ओडेर उनी गुटुमुटु परेर निदाइरहेका थिए ।

गण्डकी प्रदेश सरकार सामाजिक विकासमन्त्री नरदेवी पुन, पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङसहित मानव सेवा आश्रम पोखराका कर्मचारी अर्जुन नजिक पुगे र उनलाई त्यहाँबाट न्यानो कोठामा लैजान आएको सम्झाए ।

तर उनले मानेनन् । ‘कतै जान्नँ, मलाई यही सुत्न दिनुस्,’ सुरुमा अर्जुनले जिद्दी कसे, ‘मैले मासु भात खाइसकें के ! मलाई आर्मी अंकलले दिनु भएको हो । जान्नँ म ।’

उनको उद्धारका लागि गएको टोलीले राम्ररी सम्झाइबुझाइ गरेपछि बल्ल राजी भए ।

००

रत्नचोक प्रतीक्षालयमा श्रीमानश्रीमती सुतिरहेका थिए । करिब ९ बजेतिर उद्धार टोली पुग्दा महिलाको अनुहार रगतले लत्पतिएको थियो । ह्वास्स रक्सीको दुर्गन्धसहित श्रीमान कराइरहेका थिए, ‘केटाहरुले हाम्रो पैसा खोस्न आए । नदिएपछि मेरी बुढीलाई पिटेर गए ।’ तर उद्धार टोलीले प्रत्यक्षदर्शीबाट थाहा पायो, श्रीमानले मदिराको तालमा बीच सडकमै श्रीमतीलाई कुटेका रहेछन् ।

टोलीले यो जोडीलाई पनि उद्वार गर्‍यो । घाइते महिलाको उपचारका लागि अस्पतालमा  पठायो ।

गण्डकी प्रदेश सरकार, मानव सेवा आश्रम पोखरा र पोखरा महानगरको संयुक्त पहलमा बुधबार साँझ पोखराका सडकहरुबाट यस्तै १२ जनाको उद्धार गरिएको छ । उद्धार भएकामध्ये ३ महिला २ बालबालिका र बाँकी पुरुष छन् । उद्वार गरिएकाहरुलाई मानव सेवा आश्रमको पोखरास्थित शाखामा लगिएको छ ।

सडकलाई सहयोगापेक्षी मानवमुक्त बनाउने अभियानका लागि उद्वार सुरु गरिएको मानव सेवा आश्रम पोखरा शाखा संयोजक होमनाथ तिमिल्सिनाले बताए । तिमिल्सिनाकाअनुसार उद्वार गरिएकामध्ये कतिपय दोहोरिएको समेत छन् । ‘आश्रममा माछामासु र नशा लिन बन्देज छ । उनीहरु एक पटक आश्रममा आइसकेपछि पनि नशाका लागि त्यहाँबाट भाग्ने धेरै समस्या छ,’ उनले भने ।

मानव सेवा आश्रमले गतवर्ष पनि सडकबाट ४० जनाको उद्वार गरेको थियो । गतवर्षको तुलनामा यस वर्ष केही संख्या घटेपनि समस्या समाधान नभएको तिमिल्सिनाले बताए । ‘सडकमा नयाँ मान्छे आउन भने छोडेका छैनन्,’ उनले भने ।

सडकमा भेटिएका ९० भन्दा बढीलाई पारिवारिक पुनर्मिलन गराइसकेको समेत संयोजक तिमिल्सिनाले जानकारी दिए ।

‘यहाँ आएका विदेशीलाई भने पारिवारिक मिलन गराउन समस्या परिरहेको छ’ उनले भने । उनका अनुसार मानव सेवा आश्रममा ५ जना भारतीय नागरिकमेत छन् ।

मानव आश्रम पोखराको क्षमता १५० जना हो । अहिले त्यहाँ ११७ जनाले आश्रय लिइरहेका छन् । त्यहाँ आश्रितका समय कटानका लागि तरकारी खेती गरिएको छ । ‘नजिकै तरकारी खेती सुरु गरेका छौं । उहाँहरु आफैं काम गर्नुहुन्छ,’ होमनाथ भन्छन्, ‘८० प्रतिशत तरकारी आफैं उत्पादन गरेको यहाँ प्रयोग गर्छौं ।’ आश्रममा अहिले ६ महिने शिशुदेखि सय वर्षीय महिलासमेत छन् ।

गण्डकी चाँडै सडक मानवमुक्त क्षेत्र !

गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले गण्डकी प्रदेश चाँडै सडक मानवमुक्त घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । उनले घोषणामात्रै नभएर उनीहरुको अवस्था सुधार गर्नतिर पनि गम्भीर हुनुपर्ने धारणा राखिन् ।

‘प्रदेश सरकार सडकलाई मानवमुक्त बनाउन गम्भीर भएर लागिरहेको छ । त्यसका लागि बजेटको पनि व्यवस्था गरेका छौं,’ मन्त्री मगरले भनिन्, ‘सडक मानवको पक्षमा काम गर्ने समाजसेवीको पक्ष सरकार जहिले पनि उभिन्छ ।’

पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले सडक मानवलाई आश्रय दिने सरकारको काम भएपनि निजी संस्थाहरुले सहयोग गरिहेको बताइन् । उनले पनि पोखरा महानगरलाई मानवमुक्त क्षेत्र घोषणा गर्न गृहकार्य भइरहेको सुनाइन् । उनले भनिन्, ‘केही दिन यसरी सडकमा रात बिताउन बाध्य नागरिकको उद्वारमा संलग्न होऔं । त्यसपछि प्रक्रिया पूरा गरेर फेरि सडकमा नआउने गरी महानगरलाई मानवमुक्त सडक बनाउन तयार छौं ।’

तस्वीर : युनिश गुरुङ/अनलाइनखबर

यो पनि पढ्नुहोस् :

कोही त छ माया गर्ने !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment