Comments Add Comment

कोही त छ माया गर्ने ?

२२ वैशाख, पोखरा । पोखरा छोरेपाटनस्थित मानव सेवा आश्रमको आँगनमा एक महिला बच्चालाई शरीरमा तेल घस्दै थिइन् । बच्चा रुँदा फकाउँदै स्तनपान गराउँथिन् ।

यो कुनै नौलो दृश्य होइन । तर, आमा–छोराको कथा थाहा पाएपछि जोकसैको ध्यानाकार्षण हुन्छ । महिलाले आफू बलात्कृत भएपछि अविवाहित अवस्थामै यस बच्चालाई जन्म दिएकी हुन् । आश्रमले केही समयअघि गर्भवती महिलालाई सडकबाट उद्दार गरेको थियो । उनले आश्रममै बच्चा जन्माएकी हुन् ।

०००

शनिबार विहान आश्रम छिर्ने गेट छेउको छायाँमा बसेर गफिँदै थिए केही वृद्धाहरु । ‘आज त आमाको मुख हेर्ने दिन हो रे नि ! मेरो त छोरो आउँछ होला,’ एक वृद्धा भन्दै थिइन् । अर्की वृद्धाको टाउको मुडुलो थियो । छोरा आउने प्रसंगमा उनले पनि उज्यालिँदै भनिन्, ‘मेरो पनि आउला नि । आज मेरैमा बस है । घर नजाऊ ।’

वृद्धाहरुको समूहभन्दा अलि पर ठूलो स्टेज थियो । त्यहाँ एउटा संस्थाले मातातीर्थ औंशीको अवसरमा फलफूल वितरण गरिरहेको थियो । आश्रमका कर्मचारीसघाइरहेका थिए । फलफूल र बिस्कुट पाएपछि उनीहरुको अनुहारमा थोरै भएपनि खुसी देखियो ।

छेउछाउमा उनीहरुजस्तै धेरै वृद्धवृद्धा थिए । त्यही भीडबाट एक अधवैंशे पुरुष बोल्छन्, ‘ह्याँ त सब्बै बौला आइचन् । म पनि बौला भैचु ।’ टाउको कन्याउँदै उनी शौचालयतिर लागे ।

०००

सडकमा वेवारिसे अवस्थामा बाँचिरहेका सहाराविहीनहरुको सहारा बनेको छ, मानव सेवा आश्रम । आश्रमको केन्द्रिय कार्यालय हेटौंडामा छ भने पोखरामा शाखा खोलिएको छ । पोखरा तथा यस वरिपरिका सडकमा वेवारिशे नागरिकलाई उद्दार गर्न खुलेको यस संस्थामा हाल ५६ जनाले आश्रय लिएका छन् । उनीहरुमध्ये ४३ जना पुरुष, ४१ जना महिला र २ जना बालक छन् ।

आश्रमका पोखरा शाखा संयोजक होमनाथ तिमिल्सिनाकाअनुसार १ वर्षे अवधिमा पोखराको सडकबाट २ सयभन्दा बढीलाई उद्दार गरिएको छ । उनले भने, ‘त्यसमध्ये कसैलाई पुनस्र्थापना, पारिवारिक पुनर्मिलन गरायौं भने कसैको यही मृत्यु भयो ।’

उनले पोखराका मात्रै नभएर तनहुँ र स्याङजाका सडकमा भेटिएका वृद्धवृद्धालाई पनि उद्दार गरिरहेको सुनाए ।

७ रोपनी क्षेत्रफलमा फैलिएको उक्त आश्रमले प्रत्येक मंगलबार र शनिबार रात्रीकालीन सडक सेवा चलाइरहेको छ । ‘हप्ताको २ दिन हामी सडकमै गएर वेवारिशेहरुलाई उद्दार गरिरहेका छौं । सडकमा भेटिनेहरु प्राय मानसिकरुपमा समस्याग्रस्त हुन्छन्,’ उनले भने । अहिले धेरैजसो वृद्धवृद्धालाई स्थानीय तहले नै सिफारिश गरेर पनि आश्रममा पठाइरहेको तिमिल्सिनाले जानकारी दिए ।

आश्रमले पोखरापछि स्याङ्जामा ६३ रोपनी क्षेत्रफलमा अर्को शाखा विस्तार गर्ने योजना बनाएको छ । यसको मुख्य उद्देश्य भनेको पोखरा मात्रै नभई समग्र गण्डकी प्रदेशलाई नै २०७८ सम्ममा ‘सडक नागरिक’ बाट मुक्त बनाउनु हो ।

‘मुख्य समस्या भनेको सडक बालबालिका रहेछन् । उनीहरु सबैजसो दूव्र्यसनी हुन्छन् । उनीहरुलाई पनि उद्दार गर्ने सोचेका थियौं, तर गण्डकी प्रदेश सरकारले कुनै एनजीओलाई जिम्मा लगाइसकेको रहेछ,’ तिमिल्सिनाले सुनाए ।

आश्रममा भएका व्यक्तिलाई सहयोगबाटै गाँस, बास, कपास पुर्‍याइरहेको संयोजक तिमिल्सिना बताउँछन् । ‘हामी विदेशी दातृ निकायबाट सहयोग लिदिँनौं । जन्मदिन, ब्रतबन्ध, बिहे वर्षगाँठका अवसरमा दाताहरुले सहयोग गर्नुहुन्छ । त्यसैले पुगिरहेको छ,’ उनले भने । देशमा २०८२ सम्म कुनै पनि व्यक्ति सडकमा भोकै र नांगै बस्नु नपरोस् भनेर अभियान चलाइरहेको उनले जानकारी दिए ।

आश्रममा ‘अक्षर यात्रा’

नवनित साहित्य सागर र गजल सन्ध्या पोखराले प्रत्येक महिनाको तेस्रो शनिबार गर्दै आइरहेको ‘अक्षरयात्रा’ कार्यक्रम पोखरा छोरेपाटनस्थित मानव सेवामा गरिएको छ । कार्यक्रममा १ दर्जनभन्दा साहित्यकारले आआफ्ना रचना सुनाए ।

उनीहरुले कविताबाटै आमा र मातृत्वको गुणगान गाए । छोराछोरीलाई पहिले आमाले जिउज्यान लगाएर हुर्काउने तर, पछि तिनै सन्तान हुर्किएर वेवास्ता गर्ने तीतो यथार्थ उनीहरुले कवितामार्फत पोखे ।

‘सानो हुँदा कहिल्यै काख नछोड्ने तिमी

कति चाँडै ठूलो भएछौ ?

कति सजिलै आमा छोड्ने भइसकेछौ ।’

कवि टीका क्षेत्रीले ‘छोरा’ कविताबाट आमा र छोराको बिग्रँदो सम्बन्धमा प्रहार गरिन् ।

मातातिर्थ औंशीकोे दिनमात्रै देखावटी रुपमा आमाको तस्वीर सामाजिक सञ्जालमा राखेर चाडका रुपमा मनाउने चलनबारे कवि डिल्लीराम भुषालले कटाक्ष गरे । उनले कविताबाटै भने, ‘आमाहरु अचेल ट्वीट या फेसबुकका स्टाटसमा मात्रै भेटिन्छिन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment