Comments Add Comment

८ सय ४१ भूकम्पपीडित लाभग्राही थपिए

२३ पुस, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ सय ४१ भूकम्पपीडितलाई लाभग्राहीका रुपमा थप गरेको छ ।

गुनासो सम्बोधनलाई तीव्रता दिने क्रममा बुधबार बसेको कार्यकारी समिति बैठकले २१ हजार ६ सय वटा गुनासो मध्येबाट ८ सय ४१ जनालाई लाभग्राहीका रुपमा छनोट गरेको हो ।

८ सय ३६ जना भने प्रवलीकरण लाभग्राहीका रुपमा सूचिकृत भएका छन् । १८ हजार २ सय जना गुनासोकर्ता भने गैरलाभग्राही कायम भएका छन् ।

प्राधिकरणका सह-प्रवक्ता मनोहर घिमिरेका अनुसार फिल्डबाट प्राप्त तथ्यांकलाई प्राधिकरणले तोकेका मापदण्डका आधारमा विश्लेषण गरी पुनर्निर्माण लाभग्राही, प्रवलीकरण लाभग्राही अथवा गैरलाभग्राही कायम गरिएको हो ।

यसअघि पनि तीनपटक सम्म प्राधिकरणले यसरी गुनासो सुनुवाईबाट लाभग्राही थपिसकेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समिति बैठकले १ लाख १३ हजार गुनासो सम्बोधन गरी नजिता निकालेको थियो । त्यसमा ११ हजार ५ सय ९९ गुनासोकर्ता पुनर्निर्माण लाभग्राही र ५ हजार ६ सय ८५ गुनासोकर्ता प्रवलीकरण लाभग्राही कायम भएका थिए ।

दोस्रो चरणको छुट तथा पुनःजाँच सर्भेक्षणअन्तर्गत १ लाख ८९ हजार गुनासो संकलन गरिएको थियो । त्यसमध्ये बाँकी ५४ हजार गुनासोको इन्जिनियरहरुले विश्लेषण गर्ने कार्य जारी रहेको प्राधिकरणले उल्लेख गरेको छ ।

विश्लेषण सकिएपछि ती गुनासा पनि प्राधिकरणले सम्बोधन गर्ने उनले उल्लेख गरेका छन् । गुनासो विश्लेषणका लागि ५० जना इन्जिनियर परिचालन गरिएको छ ।

दोस्रो चरणको छुट तथा पुनःजाँच अघि ३ लाख ६ हजार ८ सय ५८ गुनासो दर्ता भएका थिए । ती सबैको पुनरावलोकन भइसकेको छ । सह-प्रवक्ता घिमिरेका अनुसार प्राधिकरणले गरेको यो निर्णय उपर चित्त नबुझे गुनासोकर्ता सामु अझै विकल्प भने बाँकी रहन्छ ।

उनका अनुसार प्राधिकरणको निर्णय उपर चित्त नबुझ्ने लाभग्राहीले पुनरावेदन समितिमा निवेदन दिन पाउने नीतिगत व्यवस्था छ । यसरी प्राधिकरणको कार्यकारी समितिले गरेका निर्णय उपर चित्त नबुझेर पुनरावेदन समितिमा निवेदन दिएका १५ सय २० उजुरीको पुनरावेदन समितिले फैसला गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment