Comments Add Comment

काम जीवनका लागि हो, जीवन कामका लागि होइन !

सम्पन्न हुने मात्र मानिसको चाहना होइन, सम्पन्नता संगै आत्मसम्मान चाहन्छ मानिस । आध्यात्मिक विकास विना आत्मसम्मान कसरी मिल्ला र ? आध्यात्मिकतालाई शब्दमा ब्याख्या गर्न कठिन त छँदैछ । किनकि अध्यात्म भौतिक जगतभन्दा माथिको अनुभूति हो । हामीले बाहिर देखिने, भोगिने र अर्थ लगाईने विषय नभएर भित्रबाट जान्नु र बोध गर्नु नै अध्यात्म हो । यो सृष्टिमा आँखाले देखिने र नदेखिने त्यो गहिराइको अनुभूति जसकोबिना जीवन र जगत सम्भव छैन त्यो नै अध्यात्म हो ।

आध्यात्मको ज्ञान र बोधविना पनि जीवन चल्छ । तर, आध्यात्मिकताले जीवनको मर्म र वास्तविकतालाई खुलस्त पार्न मद्दत गर्दछ । चेतना, अस्तित्व, परमात्मा आदि आदि जे नाम दिए पनि जसको कृपा बिना विज्ञान पनि सफल हुन सक्दैन त्यो नै अध्यात्म हो । सृष्टिमा विज्ञानले प्रमाणित गरेका र भौतिकताले देखिने गरी सफल पारेका विषय वस्तुलाई अदृश्यरुपमा जसले साथ दिएको छ, त्यही हो अध्यात्म । वास्तवमा भन्ने हो भने धर्म भन्दामाथिको अनुभूति धार्मिकता नै अध्यात्म हो । भौतिक जगतका सबै चिजहरुलाई साक्षी पूर्वक हेर्ने कला अध्यात्म हो ।

विज्ञानले जुन कुराहरुलाई टुक्र्याएर प्रस्तुत गर्दछ अध्यात्मले त्यसलाई जोडेर प्रस्तुत गर्दछ । जोडमा जहिले पनि शक्ति हुन्छ त्यसैले अध्यात्म एउटा शक्ति हो । मानौं विज्ञानले आँखाको बारेमा कुरागर्छ भने अध्यात्मले यसको ज्योतिको महत्वबारे प्रकाश पार्दछ । विज्ञानले बाहिरी आँखाको सल्यक्रिया गरेर देख्न सक्ने बनाउँछ अर्थात् बाहिरी अध्यारो चिर्छ भने अध्यात्मले भित्री अन्धकार चिरेर ज्ञानको ज्योति प्रदान गर्छ ।

विज्ञानले जीवनलाई आयुसँग तुलना गरेर छिटोभन्दा छिटो भोग गर्न सिकाउँछ भने अध्यात्मले जीवनको न आदि न अन्त्य अर्थात् भौतिक शरीरभन्दा माथिको आत्माको कुरा गर्छ, जुन कहिल्यै नास हुँदैन । न त यसको कुनै आयु हुन्छ । त्यसैले समष्टि अर्थात् पूर्णताको ज्ञान अध्यात्मले दिन्छ भने विज्ञानले पूर्णता प्रदान गर्न सकेको छैन । विज्ञानले डिजाइन डिजाइनका आधुनिक घडीहरु बनाएको छ, तर समयको मापन अस्तित्वले गर्दछ ।

हो, भौतिक जीवनमा विज्ञानको पनि त्यत्तिकै महत्व छ । तर, अध्यात्मविनाको विज्ञान अपूर्ण हुन्छ । विज्ञानले जीवनलाई सधैं रफ्तारमा दौडाएको छ, आविष्कारमा अगाडि बढाएको छ भने, अध्यात्मले रोक, हेर र जाऊ अर्थात् एउटा ट्राफिक बत्तीले रातो, पहेंलो र हरियो बत्तीमार्फत रोक, हेर र जाऊ अन्यथा दुर्घटनामा परिन्छ भन्ने कुराको बोध गराए जस्तै जीवनको ट्राफिकमा हेर ठीक छ भने अगाडि बढ, जानुपर्ने भए जाऊ अन्यथा जानु नपर्ने र अनावश्यक दुःखमा नफस भनेर सिकाएको हुन्छ ।

अध्यात्मले भित्रबाट बाहिरको यात्रा गराउँछ । जो भित्रैदेखि प्रसन्न, सुखी र आनन्दित छ उही व्यक्ति बाहिर सुखी हुन सक्छ । भागदौड, अनियन्त्रित र अमर्यादित मन र कल्पनालाई अनुशासित, मर्यादित र सन्तुलित बनाउन अध्यात्मको खाँचो छ ।

त्यसैले बुद्धले भन्नुभएको छ- ‘जसरी एउटा मैनबत्ती आगोबिना बल्न सक्दैन, त्यसैगरी मानिस आध्यात्मिक जीवनविना सन्तुलित र सुखी तवरले बाँच्न सक्दैन ।’

जुन दिन भित्री ज्ञान खुल्छ, भौतिकता र अध्यात्मलाई संगसगै बोध गरेर साक्षीको जीवन जिउन थाल्छ, त्यतिखेर मानिसलाई आत्मसम्मानको बोध हुन्छ र जीवन धन्य ठान्छ ।

भौतिक विकासका मापन र तिनका समाचार, विज्ञापन अनि चित्र मात्र होइन, भित्रैबाट चेतना जागरणका विषयलाई सञ्चार माध्यमले समेट्नु जरुरी देखिन्छ । किनकि मानव विकासको एउटा पाटो हो चेतना जागरण । चेतना जागरणको परिणाम नै विकास हुन सक्छ । त्यसैले औषधी उत्पादन गर्नु अगाडि नै रोग पहिचान हुनु जरुरी छ ।

झट्ट सुन्दा, हेर्दा र अनुभवका आधारमा पनि जुन राष्ट्र र समाज आर्थिकरूपमा विकसित र सभ्य छ, त्यसलाई नै विकास मानिन्छ । तर, जब भौतिक विकासको छनक पाउन थालिन्छ, मानिसको अनुहारमा खुसीयाली, आनन्द र सन्तुष्टिका रेखा हराउँदै जान्छन् । मान्छे मेसिन सरह जीवित रोबोटजस्तै चल्न थाल्छ । आफ्नो भौतिक विकासको दौडमा मात्र सीमित हुन्छ । परिवारमा आफ्नोपन हराउँदै जान्छ र वृद्धवृद्धाका लागि कोही पनि सहारा बन्न सक्ने स्थिति हुँदैन ।

विकासको दौडमा मानव चेतनाको विकास र मनोविज्ञानका केही महत्त्वपूर्ण पाटालाई नजरअन्दाज गर्नाले भौतिक विकास भए पनि आध्यात्मिक स्वभाव र प्रेम हराउँदै गएको आभास हुन्छ । राष्ट्रमा भौतिक विकास भए पनि गम्भीर प्रकृतिका सामाजिक समस्याले गर्दा आफूलाई असुरक्षित अनुभव गर्नुपर्ने स्थिति देखिन थालेको छ ।

मानिसले भौतिक सुखका साथै प्रेम, शान्ति र आत्मीयता पनि सँगै खोज्छ भन्ने मनोविज्ञान सिकाउनुपर्ने भएको छ । किनकि, जबसम्म व्यक्तिले आफूभित्रका समस्याहरूबाट मुक्ति पाउँदैन, तबसम्म आर्थिक सम्पन्नताले भित्रको समृद्धि प्राप्त गर्दैन । आर्थिक सम्पन्नता एउटा पाटो हो जीवन सुखी राख्ने भने अर्को पाटो आफ्नो संस्कृति, प्रेम, आत्मियता र भित्रको खोज हो । मानिसको सृष्टि त प्रेमको अभिव्यक्ति हो । भित्रको वैभव, ऐश्वर्य, उदारता, संवेदना, अहिंसा, मस्तमा जिउनु मानव स्वभाव हुन् । यो नै हाम्रो पुरुषार्थ र प्रकृतिको आयोजना हो हामीमाथि । यो विकसित मूलुकका मानिसहरुको पनि गुण हो । यो गुण भुल्यो भने जति नै आर्थिक सम्वृद्धि भएपनि मानिस भित्रबाट खोक्रो, खाली हुन्छ र उसले स्वयं हुनुको अर्थ नबुझी जीवनलाई व्यर्थ ठान्छ ।

आर्थिक रुपमा सम्पन्न हुन नसकेका नेपाली समाजमा आफ्ना संस्कृति, पारिवारिक संरचना, सामाजिक मान्यताले गर्दा अरु धेरै धनी छन् भनेर प्रमाणित गर्न सकिन्छ । हाम्रो मन, हाम्रो पन, खुल्ला दिल, खुलेर हाँस्न सक्नु यो कुनै विकास भौतिक विकाससँग तुलना हुँदैन ।

विकास, पत्रकारिता र आध्यात्म

मानव सभ्यताको विकास सँगसँगै मानवअधिकार र मानव विकासका विषयमा सूचना सम्प्रेषण गर्ने र विकासको मार्ग पहिल्याउने काममा संचार माध्यमको भूमिका महत्वपूर्ण रहँदै आयो । सूचना सम्प्रेषण गर्नु मात्र नभई राष्ट्रको पूर्वाधारदेखि लिएर सबै किसिमका विकास, आर्थिक उन्नति, निरपेक्ष गरीबी न्यूनीकरणलगायतका सवाललाई महत्वका साथ हेरेर सञ्चार माध्यमले सूचना सम्प्रेषण गर्न शुरु गरेपश्चात नै विकास पत्रकारिताको अवधारणा अगाडि आएको मानिन्छ ।

पत्रकार आचारसंहिताको पालना गर्दै राष्ट्रमा भएका कला संस्कृति, भाषा, पहिरन, जातजाति, धर्म, समाज, सकारात्मक परिवर्तन, नकारात्मक परिवर्तन, मौलिकता, आयातीत विकास र नक्कल पूर्ण गरिएका क्षणिक विकास लगायत सबै क्षेत्रमा भएको विकास बारेमा छर्लंग जानकारी र प्रमाणसहित जनतालाई सुसूचित गराउनु विकास पत्रकारिताको भूमिका हुनुपर्छ ।

पत्रकार समाजको ऐना हो । कुनै पक्ष र विपक्षमा नरही साक्षीपूर्ण, जे देख्यो त्यही, जे हो त्यही, राम्रा या नराम्रा विकासको हकमा दुवै पक्षलाई खुलस्त राखिदिनु विकास पत्रकारिताको धर्म हो ।

विकास भन्नासाथ आर्थिकरुपमा जोडिने र आर्थिक सूचकांकलाई प्राथमिकतामा राखिनु स्वाभाविक होला, तर मानिसका लागि विकास भएको हुँदा मानिसको जीवनशैलीमा प्रभाव पार्ने विकास र जीवनस्तरदेखि लिएर जीवनयापनका तौरतरिका अनि त्यसले व्यक्ति स्वयंमा र समाजलाई पारेको सकारात्मक एवं नकारात्मक प्रभावलाई समीक्षात्मक प्रतिवेदनका आधारमा समाजमा प्रस्तुत गरिदिनु अर्को महत्वपूर्ण दायित्व हुनुपर्छ ।

आजकलका सञ्चार माध्यममा विकासका नाममा अश्लीलता, विज्ञापनका नाममा नग्नता र आधुनिकताका नाममा अनुसरण गरिएका सामग्री मात्र प्रस्तुत गर्ने गरेको पाइन्छ । हाम्रा आफ्नै मौलिकता र संस्कारको माध्यमबाट आर्थिक विकास र जीवनस्तर उकास्ने उपाय हराएकै त छैनन् नि । आध्यात्मिक झलक दिने लेखहरु छापिँदैनन् अखबारमा । त्यही लेखलाई बंग्याएर, त्यही शीर्षकलाई मोडेर राजनीति या कुनै समसामयिक परिवेश जोडेर लेखे मात्र छापिन्छन् ।

चेतना जागरणका लेखहरुले भन्दा अतिरञ्जना फैलाउने सामग्रीले स्थान पाउँछन् । सकारात्मक भन्दा नकारात्मक समाचारले बढी महत्व पाउछन् । कतिपय अखबारका बीचमा, आपसमा प्रतिष्पर्धा छ कि एउटाले राम्रो लेख्नासाथ अर्कोले नराम्रो तरिकाले त्यसलाई पुष्टि गरेरै छाड्छ । सत्य-तथ्य होइन, प्रतिस्पर्धाको खेल चल्छ । जनताका भावना र विचार छाप्न पनि चाकडी गर्नुपर्छ । एउटा अखबारमा लेख्नेलाई अर्को अखबारलाई दुश्मन झैँ मान्छ । खोइ त हामी विकसित भएको ? हामी विकास खोज्छौं, तर मानिसभित्र सकारात्मक सोच छैन । प्रेम ,करुणा र दया छैन, सही -गलत छुट्टयाउन सक्दैन भने त्यो विकास, त्यो सम्पन्नता के को लागि ? कसको लागि ?

स्वतन्त्र पत्रकार र पत्रकारिताले पक्ष र विपक्ष गर्छ भने खोइ उसको धर्म ? एउटाले अर्काको चोरेर खुले आम पत्रकारिता गर्दछ भने खोइ उसमा अनुशासन ? खोइ पत्रकार आचारसंहिताको पालना ? आचारसंहिता पालन गर्ने पत्रकार कहिल्यै अनुशासनबाट बञ्चित हुन सक्दैन । संयम र विवेकपूर्ण तरिकाले संचार जगतमा कार्य सम्पन्न गर्ने पत्रकारले बल्ल बुझ्दछ समग्रमा विकास के हो ? विकास पत्रकारिता के हो ?

सन्तुलितरुपमा जनताका भाव -अभाव र प्रभावलाई समेटेर जनताको जीवनशैली समेटिने र सकारात्मक प्रभाव पार्ने विकास नै वास्तविक विकास हुन सक्छ ।

यदि हामीले त्यो सुशासन र शान्ति अनि मुलुकको समृद्धि वास्तवमै चाहेको हो भने यसमा फड्को मारेर द्रुत विकासको जरुरी छ व्यक्ति अनि देशमा । त्यसका लागि सही सूचना र जानकारी प्रदान गर्ने, कर्मप्रतिको लगनशीलता, इमान्दारिता र कर्तव्यपरायणता भएका पत्रकारहरुको अझै खाँचो छ ।

एकाध बाहेक पत्रकारहरुमा आत्मविश्वासको कमी छ, आचारसंहिताले तोकेको मार्गमा हिँडेका छैनन् । पत्रकारको धर्म र लक्ष्य के हो सही तरीकाले खोज भएको छैन । संचार माध्यम मार्फत धेरै सिकाउनुपर्नेछ, के हो प्रेम, शान्ति, आत्मीयता, अध्यात्म ।

अन्यथा हामीले हिमालयको कोखमा जन्म पाएको धिक्कार हुनेछ । विकासको पत्रकारिता होस् या जीवनको विकास ख्याल रहोस् कि- काम जीवनका लागि हो, जीवन कामका लागि होइन । विचार जीवनका लागि हो, जीवन विचारका लागि होइन । विकास जीवनका लागि हो, जीवन विकासका लागि होइन । धर्म जीवनका लागि हो, जीवन धर्मका लागि होइन ।

त्यसकारणले सबै विषयहरू जीवनलाई सुखी, शान्त र समृद्ध बनाउन प्रयोग हुनेखालका कामहरुमा ध्यान दिउँ, ताकि जीवनमा कर्म पनि होस् र जीवन आनन्दित र प्रेमपूर्ण पनि होस् । जीवनको गहिराइ नाप्न खोज्दा आफ्नै गहिराइ भेटियोस् । जीवनको उँचाई नाप्न खोज्दा आफ्नै सगरमाथामा पुगियोस् ।

किनकि, बाहिरी कुराहरु मात्र बटुल्न खोजे अहंकारसम्म मात्र पुगिन्छ । फेरि आफ्नो अहंकार नै चढाउन खोज्ने साहस भएमा स्वयं ॐकारसम्म पुगिन्छ । (ऊर्जा पुस्तकको सम्पादित अंश )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment