Comments Add Comment

दूरसञ्चार कम्पनीको सेयर खरिद–बिक्री गर्न सरकारको अनुमति लिनुपर्ने

२३ पुस, काठमाडौं । अब दूरसञ्चार कम्पनीको शेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति लिनुपर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री विनियमावली, २०७६ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

यसअघि विभिन्न दूरसञ्चार सेवा प्रदायक कम्पनीको सेयर खरिदविक्री प्रक्रियामा लाभकर सम्बन्धी विवाद उब्जिएको थियो । हेल्लो नेपाल, एनसेल र तीनका व्यवसायिक साझेदारहरुबीचको सेयर खरिद बिक्रीमा उत्पन्न विवाद अझै टुंगो लाग्न सकेको छैन ।

विनियमावलीले सेयर खरिद–बिक्रीको स्वीकृतिको लागि सेवा प्रदायकको सञ्चालक समितिको सिफारिससहित प्राधिकरणमा आवेदन गर्नुपर्ने व्यवस्था गरेको छ ।

पूँजीवृद्धिको लागि थप शेयर खरिदविक्री गर्नुपर्ने भएमा त्यसका लागि साधारण सभा÷विशेष साधारण सभाबाट भएको निर्णयको प्रतिलिपि समेत संलग्न गरी निवेदन दिनुपर्ने छ ।

यस्तो निवेदन आएको मितिले सामान्यतया एक महिनाभित्र प्राधिकरणबाट शेयर खरिद–बिक्रीको लागि पूर्व स्वीकृति प्रदान गरिने विनियमावलीमा उल्लेख छ । शेयरधनीको मृत्यु भएमा वा प्रचलित कानून बमोजिम पारिवारिक अंशबण्डा भएमा निजहरुको हकदार वा इच्छाईएको व्यक्तिको नाममा नामसारी गरी सोको लगत विवरण पन्ध्र दिनभित्र प्राधिकरणलाई जानकारी दिनुपर्ने छ ।

सेयर खरिद–बिक्रीको लागि प्राधिकरणसँग स्वीकृति माग गर्दा शेयर खरिद गर्न चाहने व्यक्तिको आयस्रोत सम्बन्धी विवरण, नागरिकताको प्रमाणपत्र, स्थायी लेखा नम्वर प्रमाण पत्र, विदेशी नागरिक भए सम्बन्धित देशबाट जारी भएको राहदानी र आवश्यकता पर्ने भएमा नेपाल प्रवेशाज्ञा सम्बन्धी कागजात पेश गर्नुपर्ने छ ।

यस्तै शेयर खरिद गर्न वा विक्री गर्न चाहने कम्पनी वा संस्था वा निकाय वा कृत्रिम व्यक्तिले आ–आफ्नो दर्ता प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र, सञ्चालक र शेयरधनीको अद्यावधिक विवरण, तोकिएको ढाँचाको निवेदन, खरिद गर्ने व्यक्तिको व्यक्तिगत विवरण, प्रस्तावित शेयर खरिद विक्रीनामा, शेयर लागत मूल्य र खरिद बिक्री मूल्य खुलेको शेयर खरिद विक्रीको लागि भएको द्विपक्षीय सम्झौताको प्रतिलिपि पनि प्राधिकरणमा बुझाउनुपर्ने छ ।

प्रचलित कानुन बमोजिम कालो सूचीमा परेको, कालोसूचीबाट फुकुवा भएको कम्तीमा तीन वर्ष पूरा नभएको र शेयर खरिद विक्रीको लागि स्वीकृति माग गर्ने अनुमतिपत्र प्राप्त व्यक्तिको अघिल्लो आर्थिक वर्ष सम्मको वित्तीय विवरण लेखापरीक्षण नभएकोले सेयर बिक्री गर्न पाउने छैनन् ।

शेयर खरिद वा बिक्रीको लागि स्वीकृति माग गर्ने अनुमतिपत्र प्राप्त व्यक्तिसँग कुनै किसिमको ठेक्कापट्टामा संलग्न रहेको र अघिल्लो आर्थिक वर्षसम्मको कर चुक्ता नभएको वा स्थायी लेखा लेखा नम्बर नियमित नगरेकाको हकमा पनि सेयर बिक्री गर्न रोक लगाइएको छ ।

खरिद गर्ने शेयरको मूल्य र सम्बन्धित निकायहरुमा लाग्ने कर, दस्तुर, सेवा शुल्क प्रचलित कानून बमोजिम हुने व्यवस्था विनियमावलीले गरेको छ । शेयर खरिदकर्ताले अर्को सेवा प्रदायकमा कानून प्रतिकुल दोहोरो लगानी (क्रस होल्डिङ) नरहेको स्वघोषणा पनि गर्नु पर्नेछ ।

दूरसञ्चार ऐन, २०५३ को दफा ६२ ले दिएको अधिकार प्रयोग गरीे नेपाल दूरसञ्चार प्राधिकरणले विनियमहरु बनाएको प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment