Comments Add Comment

जिल्ला सभापतिहरुको साथले संस्थापन इतर समूह ‘उत्साहित’

२३ पुस, काठमाडौं । पुस ११ को निर्णय सच्याउन माग गर्दै आएको नेपाली कांग्रेसको संस्थापन इतर समूह जिल्ला सभापतिहरुको समर्थन पाएको भन्दै उत्साहित बनेको छ ।

संस्थापन इतर समूहका नेताहरुले सबै जिल्लाका सभापतिलाई परामर्श बैठक भनी बोलाउँदा ५० जिल्ला सभापति उपस्थित भएका छन् । पार्टी कार्यालय सानेपामा तीन दिन छलफलपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘११ गतेको निर्णय सच्चिनुपर्छ भन्ने हाम्रो भनाइ थियो । त्यसमा उहाँहरुले बल थपिदिनुभएको छ र, यसबाट हामी उत्साहित भएका छौं ।’

पुस ११ गते स‌ंस्थापनइतर पक्षको बहिस्कारका बाबजुद कांग्रेस केन्द्रीय समितिले महाधिवेशनको मिति घोषणा गरी कार्यतालिका सार्वजनिक गरेको थियो । त्यस्तै पार्टीको विभागको संख्या बढाएर ४७ पुर्‍याउने निर्णय गरेको थियो । बहुमतका आधारमा भएको निर्णयले १४ औं महाधिवेशनलाई धरापमा पार्ने पौडेलको दाबी छ ।

अव्यवहारिक कार्यतालिका बनेको र नियम निलम्बन गलत भएको भन्दै उनले भने, ‘७७ मंसिरसम्म अलमल्याएर राख्ने र मंसिर अन्तिम र पुसमा सबै चुनाव खाद्ने गरी कार्यतालिका बनेको छ, यसको नियतमाथि पनि हामीलाई शंका छ ।’

पत्रकार सम्मेलनमा अर्का नेता कृष्णप्रसाद सिटौलाले पनि बहुमतको निर्णय सच्याउनुको विकल्प नभएको बताए । पार्टी महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने भन्दै उनले भने, ‘यसको सुरुवात क्रियाशील सदस्यताबाट हुन्छ । तर ११ गतेको निर्णयले महाधिवेशनको निश्पक्षतामा नै गम्भीर आशंका छ ।’

सभापति शेरबहादुर देउवाले त निर्णय सच्याउन तयार छु भन्नुभएको छ नि भन्ने प्रश्नमा दुबै नेताले यसबारे सभापतिले आफूहरुसँग केही नभनेको बताए ।

नेता सिटौलाले भने, ‘प्रवक्ता वा पदाधिकारीले भनेर हुँदैन, सभापति आफैंले कुरा गर्नुपर्छ ।’

दुबै नेताले आफूहरुसँग सम्वाद गरेर ११ गतेको निर्णय उच्याउन ढिला गर्न नहुने बताएका छन् ।

जिल्ला सभापतिहरुले भने ११ गतेको बैठकअघि रोकिएको वार्ता सुचारु गर्न दुबै पक्षलाई आग्रह गरेका छन् । ‘त्यो विन्दुबाट वार्ता गरेर सहमतिमा पुग्न र पूर्ण बैठकबाट संशोधन गर्न आग्रह गरेका छौं’ काभ्रे सभापति मधु आचार्यले बताए ।
उनकाअनुसार भेलाले पार्टीको विधान र विगतको परम्पराअनुसार अगाडि बढ्न र क्रियाशील सदस्यता छानविन समिति गठन गर्न पनि नेतृत्वसँग माग गरेको छ ।

देउवासँग भोलि भेट

यसैबीच संस्थापन इतरका जिल्ला सभापतिहरुले भोलि पार्टी सभापति देउवासँग भेट गर्ने भएका छन् । विहान १० बजे भेटेर भेलाको सुझावहरु सभापतिसमक्ष राख्न लागिएको कांग्रेेस काभ्रेका सभापति आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment