Comments Add Comment

सुदूरपश्चिममा बढे भारतीय पर्यटक, तर पूर्वाधारको कमी

२४ पुस, कैलाली । नेपाल भ्रमण वर्ष २०२० प्रारम्भ भएसँगै सुदूरपश्चिम प्रदेशमा आउने भारतीय पर्यटकको संख्यामा वृद्धि भएको छ । भ्रमण वर्ष सुरु भएपछिको ६ दिनमा सुदूरपश्चिमका तीनवटा नाकाबाट ५ हजार एक सय ५८ जना भारतीय पर्यटक नेपाल आएका छन् ।

प्रादेशिक ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार १ हजार १ सय ३४ वटा सवारीसाधनमा ती भारतीयहरु आएका हुन् । यो अवधिमा सबैभन्दा बढी कैलालीको त्रिनगर नाकाबाट ६ सय ९३ सवारी साधनमा २ हजार ८ सय ५१ जना आएका छन् ।

यसैगरी खक्रौला नाकाबाट १ सय ४५ सवारीमा ७ सय ६९ जना र कञ्चनपुरको गड्डाचौकी नाकाबाट २ सय ९६ सवारीमा एक हजार ५ सय ३८ जना पर्यटक भित्रिएको जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक सरोजकुमार ठकुराठीले बताए ।

‘केही दिन पहिले पहाडी क्षेत्रमा परेको हिउँ हेर्न धेरै भारतीय पर्यटक आएको तथ्यांक छ,’ उनले भने । तर, केही भारतीय पर्यटकहरू धनगढी घुमेरै फर्किसकेको ठकुराठीले जानकारी दिए ।

पर्यटकहरूको चहलपहल बढेपछि सुदुरपश्चिमका होटेल-व्यवसायीहरु पनि उत्साहित भएका छन् । पर्यटकहरूको आगमनले उत्साह बढाएको कैलाली होटेल व्यवसायी संघका अध्यक्ष कलम बमले बताए ।

उनले भने, ‘पर्यटकहरूको आगमनमा वृद्धि भएको छ । यसैगरी संख्या बढेमा सरकारको लक्ष्य पुरा हुने देखिन्छ ।’ अब सरकारले पर्यटनमैत्री नीति बनाउनु पर्ने उनको भनाइ छ ।

‘पर्यटकहरुका साथै व्यवसायीलाई पनि सहज हुने नीति सरकारले ल्याउनु पर्छ,’ उनले भने, ‘पर्यटन प्रवर्द्धनमा सरकारले नीतिगत तयारी गर्न आवश्यक छ ।’

भौतिक पूर्वाधार अभाव

भव्यरूपमा सरकारले भ्रमण वर्ष मनाइरहे पनि भौतिक पूर्वाधार निर्माणमा आवश्यक ध्यान दिन सकेको छैन । सुदूरपश्मिमा त झन् पूर्वाधारको अवस्था दयनीय नै छ ।

पूर्वाधार निर्माणमा जोड दिन नसकिएको पर्यटन बोर्डले नै स्वीकारेको छ । होटेल व्यवसायी समेत रहेकापर्यटन बोर्डका सदस्य कृष्ण महराले पूर्वाधार तयार गर्न सरकार गम्भीर नरहेको आरोप लगाए ।

पूर्वाधार नथपेमा पर्यटक नबढ्ने उल्लेख गर्दै उनले भने, ‘पर्यटकहरू आउँदैनन् । पर्यटक ल्याउन तीनै तहको सरकार पूर्वाधार निर्माणमा गम्भीर बन्न आवश्यक छ ।’

भ्रमण वर्षमा सुदूरपश्चिममा ३ लाख पर्यटक भित्र्याउने प्रदेश सरकारको योजना छ । तर, पर्यटकीय पूर्वाधार निर्माण गर्ने, सुविधाहरू थप्ने, नयाँ गन्तव्य पहिचान गरी घुमफिरको प्याकेज बनाउनेजस्ता कामहरू भने हुन सकिरहेको छैन ।

प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भ्रमण वर्षको उद्घाटनमा पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माणमा लगानी गर्न निजी क्षेत्रलाई आहृवान गरेका थिए । उनले त्यसमा प्रदेश सरकारले सहयोग गर्ने समेत अवचन दिएका थिए । पर्यटकीय क्षेत्र आसपासका बस्तीमा होमस्टे सञ्चालनमा जोड दिने प्रदेश सरकारको नीति रहेको उनले बताए ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले योजना बनाएर पर्यटकहरू बढाउने लक्ष्य रहेको जनाएको छ । पर्यटकीय क्षेत्रहरूका प्याकेज बनाएर घुमाउने प्रदेश सरकारले लक्ष्य लिएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय पर्यटन शाखाका प्रमुख भोजराज पाठले बताए ।
‘अन्यप्रदेशको तुलनामा यो प्रदेशमा पर्यटक भित्र्याउन सकिएको छैन’उनले भने, तर, विगतका वर्षहरूमाभन्दा यस वर्ष पर्यटकको संख्यामा उत्साहजनक रूपले वृद्धि भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment